
दाङ, प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार लुम्बिनी प्रदेशसभामा सम्बोधन गरेका छन् । प्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेश सम्वृद्ध प्रदेश भएको देख्न चाहेको बताए । प्रधानमन्त्री ओलीले, देश विकासका लागि सबैतहका सरकारहरुले जनताको साथ दिएर अगाडि बढ्नुपर्ने बताउँदै, विकास निर्माणका काम हामी नेपाली आफैले नगरेसम्म अरुको भरमा देश विकास सम्भव नहुने धारणा राख्दै नेपालको विकाशकालागि नेपाली आफै अग्रसर हुँनुपर्ने बताए ।
लुम्बिनी प्रदेश सभाको बैठकमा विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कुनै पनि देश अर्काले आएर नबनाइ दिने हुनाले हामी आफैले बनाउनुपर्ने बताए । ‘चालीस वर्ष अगाडि छिमेकी चीन गरिब मुलुक थियो, अहिले आफ्नै मेहनतले सम्पन्न भइसकेको छ । हामीले पनि प्रविधि प्रयोगको ल्याकत बढाएर आफैँले देशको विकास गर्नुपर्छ,’ उनले भने, ‘कुन ठाउँमा के उत्पादन हुन्छ भन्ने पहिचान गरेर ठूलो परिमाणमा खेती र उत्पादन गर्न सकेमा बजार पाइन्छ । त्यसकारण हामीले त्यस्ता उत्पादनमा लाग्नुपर्छ । उद्योगहरु स्थापनाका लागि लगानी विस्तार गर्नुपर्छ । त्यसका लागि सरकारको तर्फबाट सहजिकरण गर्नुपर्छ । तीन वटै तहका सरकार सहकार्यका साथ अगाडि बढ्नुपर्छ । केन्द्र सरकारले लगानी विस्तार र सूचना प्रविधि क्षेत्रको विकासका लागि विभिन्न अध्यादेश ल्याएको छ । कोही कसैले अरु कारणले विरोध गर्नु बेग्लै कुरा हो । आमरुपमा अध्यादेश प्रति उद्योगी, व्यवसायी र सूचना प्रविधि क्षेत्रमा नयाँ उत्साह ल्याएको छ । यसले स्वागत पाएको छ, भन्दै प्रधानमन्त्री ओलीले अव देश निर्माणका विषय वाहेक अरु फजुल विषयमा गफ गरेर समय काट्न नहुने धारणा व्यक्त गरे । प्रधानमन्त्री ओलीले प्रदेश सभालाई सम्वोधन गरेकोमा प्रदेशसभाले धन्यवाद पारित गरेको छ ।