Shittalpati
जनप्रिय माविले मनायो ६५ औं वार्षिक उत्सव

पाल्पा, तानसेनको बर्तुङ्गस्थित जनप्रिय माध्ममिक विद्यालय बर्तुङ्गले ६५ औं वार्षिक उत्सव एवं अभिभावक दिवस मनाएको छ । विद्यालयले सप्ताहव्यापी कार्यक्रमको आयोजना गरि वार्षिक उत्सव एवं अभिभावक दिवस मनाएको हो ।

कार्यक्रमको तानसेन नगरपालिका प्रमुख सन्तोषलाल श्रेष्ठले उद्घाटन गरेको हो । उत्सवको उद्घाटन गर्दै मेयर श्रेष्ठले तानसेन नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयको भौतिक सुधार र गुणात्मक शिक्षाका लागि नगर पालिकाले सहयोग गर्दै आएको बताए । उनले कुनै बेला शिक्षा स्वास्थ्य र पर्यटनको क्षेत्रमा तानसेन अन्य सहरको तुलनामा अग्रस्थानमा रहेको उल्लेख गर्दै अहिले पछि पर्दै गएकोप्रति चिन्ता व्यक्त गरे । नगर प्रमुख श्रेष्ठले सबै मिलेर तानसेनको विकासमा सहयोग गर्न आवश्यक रहेको बताए ।कार्यक्रममा विद्यालयका प्रधानाध्यापक हिरा आचार्यले स्थानीय अभिभावक, शिक्षा प्रेमी बुद्धिजिवी, व्यवस्थापन समिति, शिक्षक र विद्यार्थीको प्रयास बाट विद्यालयले भौतिक सुविधा सहित गुणात्मक शिक्षा दिन सफल हुदै आएको बताए । साथै प्रधानाध्यापक आचार्यले विद्यालयमा हाल २१५ जना बालबालिका अध्ययनरत रहेको र आ.व. २०७९/०८० मा १ करोड १९ लाख ७९ हजार २५७ बराबरको आय व्यय रिपोर्ट प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दया राम पाण्डेले विद्यालयलाई ९६ हजार सहयोग गरेको त्यस बखत जानकारी गराइएको थियो ।

यसैगरि विद्यालयलाई स्तरोन्नति गरि +२ सञ्चालन गर्ने, प्राविधिक विषय अध्यापन गराउने, विद्यार्थी संख्या बढाउने, पुस्तकालय र विज्ञान प्रयोगशाला व्यवस्थित बनाउने र स्कुल बसको व्यवस्था गर्ने योजना रहेको प्रधानाध्यापकले जानकारी गराएका थिए  कार्यक्रममा तानसेन नगरपालिका–६ का वडा अध्यक्ष सागरमान महर्जनले विद्यालयको भौतिक अवस्था सुधार गरि सुविधा सपन्न बनाउनका लागि वडा कार्यालयबाट नियमित सहयोग हुदैँ आएको बताए । सोही अवसरमा विद्यालयले शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीलाई सम्मान तथा ५० भन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति समेत प्रदान गरेको छ । वार्षिक उत्सवकै अवसरमा शिक्षकहरु नैना कुमारी ज्ञवाली, शंकर भट्टराई र दिपक पौडेललाई दिर्घ सेवाबाट सम्मान पनि गरिएको थियो । कार्यक्रममा शिक्षा प्रेमी, बुद्धिजिवी अभिभावक लगायतले शुभकामना व्यक्त गर्दै विद्यालयको चौतर्फी विकासका लागि स्थानीय, अभिभावक, व्यवस्थापन समिति, शिक्षक र विद्यार्थीको संयुक्त प्रयास रहनु पर्ने कुरामा जोड दिएका थिए । २०१६ सालमा बर्तुङ्गको लाँकुरी भन्ने स्थानमा स्व. यादव कुमारी खनालको आर्थिक तथा स्थानीय शिक्षा प्रेमी र बुद्धिजिवीको पहलमा विद्यालय स्थापना भएको इतिहास रहेको छ । सुरुको अवस्थामा रुखमुनी हुदै दलान, पिंढी, पाटी, छाप्रो, टहरा हुदै अहिले यस विद्यालयले ५ वटा भवन बाट शिक्षा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति: मंगलबार, फागुन ६, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update