पाल्पा, पाल्पामा विभिन्न कार्यक्रम गरी ७५ औं प्रजातन्त्र दिवस मनाइएको छ । जिल्ला मूल समारोह समितिको आयोजनामा पाल्पा दरवार संग्रहालय परिसरमा सहिदहरुको तस्विरमा फूलमाला तथा टिका अविरले माल्यार्पण गरी सहिदको योगदान बारे चर्चा गर्दै दिवस मनाइएको हो ।
कार्यक्रममा राजनीतिक दल, पत्रकार, नागरिक समाज, कर्मचारी तथा सर्वसाधारणको सहभागिता रहेको थियो । कार्यक्रममा पूर्व सांसद यादव बहादुर रायमाझी, संविधानसभा सदस्य नारायणी शर्मा, लिला सोमैले सहिदहरुका कारण व्यवस्था परिवर्तन भए पनि जनताको अवस्था अझै पनि परिवर्तन हुन नसकेकोमा चिन्ता व्यक्त गरे । कार्यक्रममा नेपाली काँग्रेस महासमिति सदस्य राजेन्द्रगोपाल सिंह, नेकपा एमालेका अध्यक्ष ओम बहादुर घर्तिमगर, नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज नेत्र प्रसाद पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधी दिलिप घिमिरे, राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष डुलबहादुर कुवँर, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष विशाल दर्लामी लगायतले निर्वाचनमा बाहेक अन्य समयमा सबै राजनीतिक दलहरु एक भएर जनताको अवस्था परिवर्तनमा लाग्नु पर्नेमा जोड दिए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदी, नेपाल रेडक्रस पाल्पाका सभापति बाबुराम कार्कीले सबैपक्षले सहिदको भावना अनुसार काम गर्नुपर्नेमा जोड दिए । जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनालको अध्यक्षता, तानसेन नगरपालिकाका वरिष्ठ कार्यक्रम अधिकृत भरत आचार्यको सञ्चालनमा कार्यक्रम भएको थियो । प्रज्रातन्त्र दिवसको अवसरमा दरवार परिसरमै जिल्ला स्वास्थ्य कार्याल पाल्पाले सरकारले सञ्चालन गरेको नसर्ने रोग अभियान अन्तर्गत सुगर, ब्लड प्रेसर, मृगौला परीक्षण तथा उचाई र तौल नाप जाँच गर्ने व्यवस्था समेत मिलाएको थियो ।