पाल्पा, पाल्पा जेसिजले तानसेनस्थित म्याहालधारामा रहेको पाल्पा सिविआरका बालबालिकाहरुलाई खाद्यान्न सहयोग गरेको छ । उसले प्रजातन्त्र दिवसको अवसरमा यहाँका बालबालिकाहरुलाई खाद्यान्नको रुपमा दाल, चामल, आलु तरकारी नुन तेल मसला तथा विभिन्न किसिमका ड्राई खाजाहरु प्रदान गरेको हो ।
बुधबार जेसिजका पदाधिकारीहरु सिविआरमै पुगेर खाद्यान्न सहयोग गरेका हुन् । खाद्यान्न सहयोग गर्दै जेसिज पाल्पाका संस्थापक अध्यक्ष जेसी छत्रराज शाक्यले मानवताको सेवा जीवनको सर्वोत्तम कार्य हो भन्ने भावनाका साथ जेसिजले काम गर्दै आएको बताए । उनले नेतृत्व र व्यक्तित्वसँगै जेसिजले सामाजिक कार्यलाई समेत सशक्त रुपमा अगाडि बढाएको उल्लेख गरे । आगामी दिनहरुमा समेत विपन्न, अशक्त बालबालिकाहरुका लागि जेसिजले सहयोग गर्दै जाने पाल्पा जेसिसका अध्यक्ष जेसी विवेक काजी शाक्यले बताए । उनले भने ‘ हामीले युुवाहरुको नेतृत्व र व्यक्तित्व विकाससँगै मानवीय सेवामा समेत समर्पित भएर काम गर्दै जाने छौं ।’ कार्यक्रममा सिविआर पाल्पाका प्रबन्धक कृष्ण गहतराजले संस्थाले लामो समयदेखी अपाङ्ख बालबालिकाको लागि डे केयर सञ्चालन गर्दै आएको बताए । डे केयरमा बालबालिकाको लागि फिजियो थेरापी, उनीहरुलाई पढ्दै खेल्दै सिक्दै कार्यक्रम सञ्चालन हुँदै आएको छ । विद्यालयको रुपमा सञ्चालित डे केयरको सरकारी क्षेत्रबाट कुनै किसिमको सहयोग नहुँदा विभिन्न संघ संस्था व्यक्तिहरुको सहयोगमा सञ्चालन हुँदै आएको छ ।
डे केयर सेन्टरमा नियमित रुपमा पन्ध्रदेखी विस जना बालबालिका रहने गरेको गहतराजले जानकारी दिए । कार्यक्रममा पाल्पा जेसिजका संस्थापक महासचिव जेसी बुद्धि प्रसाद शर्मा, पूूर्व अध्यक्ष मधु दयाल सैंजु, पाल्पा जेसिजका सदस्य लगायतका व्यक्तिहरु खाद्यान्न लिएर त्यहाँ पुुगेका थिए । एक औपचारिक कार्यक्रमका बिच भएको खाद्यन्न वितरण जेसिजका जिल्ला अध्यक्ष जेसी विवेककाजी शाक्यको अध्यक्षता, कार्यक्रम संयोजक जेसी महेश खनालको स्वागत, महासचिव जेसी गणेश पन्थीको सञ्चालनमा भएको थियो ।