Shittalpati
अबको तीन वर्ष गुणस्तरीय शिक्षा, स्वास्थ्य र रोजगार  हाम्रो मिसन हो : महामन्त्री थापा

पाल्पा, सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री गगन थापाले अबको तीन वर्ष नेपाली काँग्रेसका लागि गुणस्तरीय शिक्षा, स्वास्थ्य र रोजगार भएको बताएका छन् । बुधबार पाल्पाको पूर्वखोलामा आयोजना गरिएको प्रथम लोकतान्त्रिक महोत्सवलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

महामन्त्री थापाले भने ‘म काँग्रेसको जिम्मेवार महामन्त्रीका हैसियतले एत्तिमात्र भन्छु की एमालेले के गर्छ मलाई थाहा छैन, तर तीन वर्षको समय गुणस्तरीय शिक्षा, गुणस्तरीय स्वास्थ्य र रोजगार हाम्रो मिसन हो ।’ काँग्रेसका लागि तीन वर्ष पर्याप्त समय भएकाले अब काँग्रेस सक्रिय भएर लाग्ने महामन्त्री थापाले प्रतिवद्धता व्यक्त गरे । उनले अबको केही समयमा आफ्नै पार्टीको प्रधानमन्त्री बन्ने र काँग्रेसले सरकार चलाउने समेत बताए ।  महामन्त्री थापाले अब निशुल्क स्वास्थ्य, शिक्षा र पर्याप्त रोजगारको वातावरण सिर्जना गर्ने गरी काँग्रेसले काम गर्ने उल्लेख गरे । वर्तमान सत्ता गठबन्धन तीन वर्षसम्म नै चल्ने उनको दावी छ । काँग्रेस र एमाले मिलेर बनेको वर्तमान सत्ता गठबन्धन आगामी आम निर्वाचनसम्म जाने थापाले दाबी गरे । संसद्का दुई ठूला दल मिलेर सरकार गठन गर्दा मुलुकमा विकास हुने र नागरिकले राज्यबाट फाइदा पाउने महामन्त्री थापाको भनाइ थियो । ‘कांग्रेस र एमालेले विगतमा नौ महिना, एक वर्ष, तीन वर्ष सरकार चलाउँदै गर्दा इतिहासमा गर्व गर्न सक्ने अवस्था बन्दो रहेछ। त्यो विगतमा नेपाली कांग्रेसका गिरिजाप्रसाद कोइराला र एमालेका मनमोहन अधिकारी नेतृत्वको सरकारबाट पुष्टि हुन्छ,’ थापाले भने, ’यो पटक कांग्रेस र एमाले मिलेर बनाएको सरकार तीन वर्षसम्म चल्छ, तीन वर्ष भनेको सानो समय होइन । तीन वर्ष ठूला पार्टी मिलेर बनेको सरकारले चल्दै गर्दा नेपाली नागरिकले फाइदा पाउनुपर्छ ।’ उनले काँग्रेस ०८४ सम्म राम्रो काम गरेर जनतामाझ जान सक्नुपर्ने बताए । नेता थापाले ०८४ को चुनावमा कांग्रेसको देशभरको निर्वाचन क्षेत्रमा कसैले पनि अर्को पार्टीको चुनाव चिन्हमा मत हालौँ भन्ने कुराको आँट गर्न नसक्ने समेत बताए । त्यसो गरेको खण्डमा काँग्रेस नरहने उनको चेतावनी छ । महामन्त्री थापाले भने, ‘०८४ को चुनावमा जाने बेलासम्म राम्रो काम गरौँ । त्यो कामको श्रेय पाउने गरिकन जाने हो । ०८४ को चुनाव यति त लेखेर राख्नुहोला । कुनै बेला म एक्लै थिएँ । ०८४ को चुनावमा अगाडि आएर अब नेपाली कांग्रेसको देशभरको निर्वाचन क्षेत्रमा कुनै पनि माइकलालले आएर अर्को पार्टीको चुनाव चिन्हमा मत हालौँ भन्ने कुराको आँट अब कसैले गर्न सक्दैन । जसले गर्छ त्यो कांग्रेस रहँदैन ।

हिजो यसको लागि लडेका थियौँ, सकेनौँ । नसकेको हो मैले । अब सिङ्गो पार्टी आयो । चुनाव अगाडि गठबन्धन गर्नु हुँदैन भन्नेमा त पार्टी आयो आयो । त्यसमाथि पनि अहिले त निर्वाचन आयोगले एउटा प्रस्तावमा छलफल गरिरहेको छ । १६५ निर्वाचन क्षेत्रमा पार्टीको उम्मेदवारले पाएको मतलाई नै समानुपातिक मत मान्ने । त्यसो भएपछि कसैले निर्वाचन अगाडि गठबन्धन गर्ने आँट नै गर्दैन ।’ कार्यक्रममा  नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सय दिने अभियानका पाल्पा प्रतिनिधि भरत शाह, नेपाली काँग्रेस  लुम्बिनी प्रदेशका सभापति अमरसिं पुन, काँग्रेस जिल्ला सभापति हिमालदत्त श्रेष्ठ, जिल्लाका निवर्तमान सभापति  एवं  लुम्बिनी प्रदेश सांसद वीरबहादुर राना, प्रदेश सहमहामन्त्री निमा गिरी, काँग्रेस प्रदेश सदस्य सन्दिप राना, नेपाल महिला संघकी केन्द्रीय सदस्य पवित्रा पौड्याल ढकाल, काँग्रेस जिल्ला उपसभापति ज्ञानबहादुर गाहा,  काँग्रेस क्षेत्र नं. १ का क्षेत्रिय सभापति झमनबहादुर राज मगर, महासमिति सदस्य एवं रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापा लगायतले आ–आफ्ना धारणा राखेका थिए । काँग्रेस पूर्वखोला गाउँपालिका कार्यसमितिका सभापति विष्णु कुमारी  आचार्यको अध्यक्षता,उपसभापति मेघराज न्यौपानेको स्वागत, सचिव गोपाल रानाको सञ्चालनमा कार्यक्रम भएको थियो । कार्यक्रममा विभिन्न फलामजन्य वस्तु, कृषि सामग्री, काष्ठकलाबाट बनाइएको घरायसी सामग्रीहरुको प्रदर्शनीसँगै निःशुल्क स्वास्थ्य परीक्षण समेत गरिएको थियो । 

प्रकाशित मिति: बुधबार, फागुन ७, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update