
प्रजातन्त्र स्थापनाको ७५ बर्ष पार गर्दै गर्दा लोकतन्त्रको सिडीलाई मजबूत बनाउँने कसरतमा कस्सिएर लागि परेका छौ हामी । हाम्रो लोकतन्त्रका पुर्खा प्रजातन्त्र रहेछन् । प्रजातन्त्र हुँदै लोकतन्त्रमा आई पुग्दा पनि प्रजातन्त्रका कथाहरुका असल पात्र बन्ने क्रम जारी रहेको भान हुँदैछ नेपाली समाजका लागि । जहानीया राणा शासनको अन्त्य गर्ने काममा हामी सफल भएको दिवसका रुपमा मनाउँदै आएको आज ७५ बर्ष पुग्दा पनि हाम्रो प्रजातान्त्रिक चरित्रलाई हामी आफैले राम्रोसँग परिभाषित गर्न सकिरहेका छैनौ । यो आफैमा विडम्वना हो । लोकतन्त्रमा परिस्कृत भएको प्रजातन्त्रले आफुलाई ७५ बर्षको परिपक्वताको स्थान पहिचानमा पनि समस्यादेखि रहेको भान हुन थालेको छ अहिले । प्रजातन्त्र प्राप्ती पछिका पञ्चायती व्यवस्थालाई परिवर्तन गर्ने क्रममा पनि हामीले नेपालमा प्रजातन्त्र प्राप्तिको उत्सवका रुपमा मान्यौं, तर पञ्चायत फालेपछि प्राप्त प्रजातन्त्रबाट पनि सन्तुष्टी नपाएपछि हामी परिस्कृत प्रजातन्त्र, लोकतन्त्रको छत्रछाँयालाई आफु अनुकुलको व्याख्या गर्दै आएको पनि दुई दशक विति सक्यो, तर वृद्ध प्रजातन्त्र र वयस्क लोकतन्त्रलाई फ्युजनका रुपमा अगाडि बढाउन सकेका छैंनौ ।
प्रजातन्त्र दिवसमा केवल दीप प्रज्वलन गर्ने अनि भाषण र शुभकामना आदान प्रदानले मात्रै पुग्दैन । नयाँ जोस जागर सहितका प्रजाका लागि आधुनिक सोंच र समन्वयको वातावरणलाई परिपक्वतामा ढालेर मात्र, प्रजाका लागि लागु हुने तन्त्र नै सच्चा प्रजातन्त्र हुने भएकाले यस विषयमा हामी सबै सचेत र संयमित भएर अगाडि बढ्नुपर्छ । देशमा विकास र निकासको प्रजातन्त्र चाहिएको छ । देशले सवल अर्थतन्त्रमा रमाई रहेको प्रजातन्त्र खोजी रहेछ भन्ने कुराको पुष्टि हुने गरी गरिने क्रियाकलापमा आधारित प्रजातन्त्र आएको अनुभूति हुने खालको वातावरणका लागि सबै एक भएर लाग्नुको विकल्प छैन । हामीले प्राप्त प्रजातन्त्रलाई लोकतान्त्रिक पद्धतिको बाटोमा हिड्न सक्ने वनाउनका लागि हाम्रो संकल्प र भावी योजनाहरु पनि प्रजातान्त्रिक शैलीबाट ओत प्रोत हुनु आजको आवश्यकता हो ।