
समाजका सबै वर्ग, क्षेत्र र समुदायका मानिसले राज्यमा उपलब्ध स्रोत साधन, अधिकार, अवसर र लाभको बाँडफाँट तथा सोको उपभोगमा न्याय अनुभूति गरेको अवस्था नै सामाजिक न्याय हो । यस अवधारणाले समाजका हरेक क्षेत्रमा न्यायपूर्ण अवस्था सिर्जना गर्ने कुरामा जोड दिन्छ । समानबिच समान व्यवहार र असमानबिच असमान व्यवहार गरी समाजका सबै वर्ग, क्षेत्र र समुदायको समविकास र समउत्थानमा जोड दिन्छ । समाजका प्रत्येक सदस्यबिच समान व्यवहार, सद्भाव, सम्मान र मर्यादा कायम गरी न्यायपूर्ण समाजको निर्माण गर्न सामाजिक न्यायको महत्वपूर्ण भूमिका रहेको हुन्छ । यही भूमिकालाई आत्मसाथ गर्दै हरेक वर्ष फेब्रुअरी २० तारिखका दिन अन्तर्राष्ट्रिय सामाजिक न्याय दिवस मनाउने गरिन्छ ।
विहीबार यस वर्षको दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । सन् २००७ को २६ नोभेम्बरमा बसेको राष्ट्रसंघको महासभाले सामाजिक न्यायको दिवस मनाउने घोषणा गरेको थियो । सोहीअनुसार सदस्य राष्ट्रले बर्सेनि यो दिवस मनाउँदै आएका छन् । यो मानवजातिसँग अभिन्न रूपमा गासिएको दिवस हो । सामाजिक न्यायको सम्बन्ध व्यक्तिको समुदायप्रतिको त्यो नैतिक जिम्मेवारी हो । जसको सहयोगबिना सही व्यवहार गर्नु, सही कुरा र कामको रक्षा गर्नु, निष्पक्ष ढंगले काम गर्नु, समान दण्ड र पुरस्कारको व्यवस्था गर्नुसँग रहेको हुन्छ । समाजमा धन, पढाइ, सोचाइ, शक्ति, साधन, गुण, कर्म, प्रकृति आदिका कारणले समानता र असमानता पाइन्छ । ती असमानताका बीचमा समानता खोजेर मानवीय मूल्यको जगेर्न गर्नु नै सामाजिक न्यायको मूल उद्देश्य हो । तर पछिल्लो समय सामाजिक न्याय कमजोर बन्दै गएको छ । यो अत्यन्त दुखको कुरा हो । वर्तमान अवस्थामा सामन्य नागरिकको जीवन कष्टकर बनेको छ । कतिपय भोक भोकै मृत्युवरण गर्न पुगेका छन् भने कतिपय कुपोषणको सिकार भएका छन् । मुलुकमा दैनिक जसो दर्दनात्मक हत्या, हिंसा, बलत्कारजस्ता घटना घटिरहेका छन् ।
कृषकले आफ्नो उत्पादनको उचित मूल्य नपाएर आन्दोलित भइरहेका छन् । घुसखोरी अनियमितताजस्ता कुराले जनता आक्रान्त छन् । वैदेशिक रोजगारी गुमेर स्वदेश फर्कनहरुले पीडा,उत्पीडन सहन नसकेर कयौं आत्महत्या गरेको उदाहरण टड्कारो छ । यस्तो अवस्थाले समाजमा सामाजिक न्याय हराउँदै गएको संकेत गरेको छ । सरकार जनताको अभिभावक भएकाले आफ्ना नागरिकप्रति सम्मान र बराबरीको व्यवहार गरी अभिभावकत्व प्रदान गर्न आवश्यक छ । यसो गर्न सके मात्र हरेक वर्ष मनाइने सामाजिक न्याय दिवसले सार्थकता प्राप्त गर्न सक्छ । अन्यथा दिवस औपचारिकतामै सिमित बन्ने छ ।