
भैरहवा, भारतको कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा शंकास्पद रुपमा मृत्यु भएकी नेपाली विद्यार्थी प्रकृति लम्सालको अन्तिम दाहसंस्कार गरिएको छ । प्रकृतिको शव उनको निवास सिद्धार्थनगर– ८ मा ल्याई त्यहाँ अन्तिम श्रद्धान्जली पछि स्वर्गद्वारी घाटमा पुर्याएर अन्त्येष्टि गरिएको हो ।
शवयात्रामा आफन्तसँग उनलाई अन्तिम श्रद्धान्जली दिन केआईआईटीमा अध्ययनरत् उनका सहपाठीहरुको पनि उपस्थिति रहेको थियो । प्रकृतिलाई उनको हजुरबुवा देवनाथ लम्सालले मुखाग्नी दिएका थिए । उनको पार्थिक शरीर बुधबार उडिसाबाट ल्याइएको हो । शवलाई राति नै भैरहवा परिक्रमा गराई स्वर्गद्वारी घाटमा पुर्याएर उनको अन्तिम संस्कार गरिएको पारिवारिक स्रोतले जनाएको छ । विसं २०६१ असार ४ गते भैरहवामा जन्मिएकी लम्सालको गत आइतबार निधन भएको थियो । उनको शरीर केआइआइटी छात्रावासमा झुण्डिएको अवस्थामा भेटिएको थियो । शवपरीक्षणपछि लम्सालको पार्थिव शरीर हवाई मार्ग हुँदै भारतको गोरखपुर र त्यहाँदेखि सडकमार्गबाट बेलहिया नाका हुँदै भैरहवा ल्याइएको हो । घटनाको विषयमा भारतीय प्रहरीले एक जनालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ । लम्सालको मृत्युपछि सिर्जित परिस्थितिबारे छानबिन गर्न ओडिसा सरकारले उच्चस्तरीय छानबिन समिति समेत गठन गरेको छ । ओडिसा प्रदेश सरकारको सूचना तथा जनसम्पर्क विभागले प्रेस विज्ञप्ति जारी गर्दै छानबिन समिति गठन गरिएको उल्लेख गरेको छ । समितिमा गृह विभागबाट अतिरिक्त मुख्य सचिव, महिला तथा बालविकास विभागबाट प्रमुख सचिव र उच्च शिक्षा विभागबाट आयुक्त सहसचिव सदस्य रहने भनिएको छ । ‘कलेजमा प्रदर्शन गरिएका विद्यार्थीमाथि बल प्रयोग र दुव्र्यवहारका घटनाहरु बाहिर आएका छन्, त्यसमाथि अनुसन्धान भइरहेको छ र कानुन अनुसार कारबाही पनि हुनेछ’ विभागका निर्देशकले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यसबारे कलेजलाई पनि जानकारी गराइएको छ र उच्च स्तरीय समितिको निष्कर्षका आधारमा कलेजमाथि उपयुक्त कानूनी र प्रशासनिक कारबाही गरिनेछ ।’ विज्ञप्तिमा प्रदेश सरकार विद्यार्थीहरूको सुरक्षा, सम्मान र कल्याणका लागि सुनिश्चित गर्नका लागि प्रतिबद्ध छ । ‘ओडिसा सरकारले सबैलाई न्यायका लागि आवश्यक कदमहरु चाल्नेछ’, विज्ञप्तिमा भनिएको छ ।