
पाल्पा, लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले देशमा केही पनि भएन भन्नु गलत भएको बताएका छन् । शुक्रबार लुम्बिनी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले सञ्चालन गरेको ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियानलाई पाल्पाको तानसेनमा सम्बोधन गर्दै मन्त्री सारुले मुलुकमा धेरै परिवर्तन भएकाले केही भएन भन्नु गलत भएको बताएका हुन् ।
उनले भने ‘१ सय ४ वर्षीय राणशासनको अन्त्य गर्दै जनताका छोराछोरीहरुले पनि पढ्न पाउनुपर्ने र जनताकै छोराछोरीले मुुलुुकको नेतृत्व गर्न पाउनुपर्छ भनेर प्रजातन्त्र, गणतन्त्र हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्था गरियो, के यो परिवर्तन हैन ?, आज हाम्रा हात हातमा मोवाइल फोन, इन्टरनेट, कम्युटर जस्ता आधुनिक प्रविधिहरु आए के तिनीहरु विकास हैनन् ? गाउँ–गाउँमा विद्यालय, सडक, खानेपानी, विजुली जस्ता विकासका पूर्वाधारहरु पुगेका छन् ,तर हामी अझै देशमा केही भएन भन्न छाडेका छैनौं, यो गलत हो ।’ मन्त्री सारुले विद्यार्थीहरुप्रति लक्षित गर्दै भने ‘सकारात्मक सोंच राखेर अगाडि बढौं,देशमा धेरै कुराहरु सुधार भएका छन् ।’ नकारात्मक भाष्य चिर्ने र जनताको पक्षमा अझ राम्रा कामहरु गरेर जनतामा आशा र भरोसा जगाउनेतिर केन्द्रित हुनुपर्ने बेला आएको उनको भनाइ छ । मन्त्री सारुले उपलब्धिहरु संस्थागत गर्दै अहिले तीनै तहका सरकार सुशासन, सामाजिक न्याय र समृद्धिलाई प्राथमिकतामा राखेर अघि बढिरहेको जिकिर गरे । उनले भने, ‘देशमा केही पनि भएको छैन, भन्ने भाषा गलत हो । धेरै भएको छ । तर जनताको आशा र अपेक्षाअनुसार अझै भएको छैन, त्यो पनि सत्य हो । तर यहाँ एउटा प्रवृत्ति अलि बढी नै नकारात्मक मात्रै कुरा गर्न रमाउने प्रवृत्ति कहीँ न कतै यसलाई अघि बढाउन खोजिएको छ । विद्यार्थी, शिक्षक, राजनीतिक दल, पत्रकार सबै मिलेर त्यो भाष्य चिर्नतिर लाग्न जरुरी छ ।’ जनतालाई आशा र भरोसा जगाउने गरी सीमा र कमजोरीको पनि समीक्षा गर्नुपर्ने मन्त्री सारुले उल्लेख गरे ।
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न पूर्वविद्यार्थी, जनप्रतिनिधिदेखि अभिभावकसम्मलाई आफ्नो दायित्व अनुभूति गराउन ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान सञ्चालन गरिएको उनले बताए । ‘सामुदायिक विद्यालयप्रति चासो र आफ्नो दायित्वबोध गराउने अभियानको मुख्य उद्देश्य हो,’ उनले भने, ‘पूर्वविद्यार्थीले चाहेको अवस्थामा विद्यालयमा धेरै सुविधा र सुधारका काम हुन सक्छन् भन्ने विश्वास छ ।’
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदी, तानसेन नगरपालिका–३ का वडा अध्यक्ष बाबुरत्न शाक्य, विद्यालयका पूर्व प्रअहरु बुद्धिप्रसाद शर्मा, मेघराज पौड्याल, विद्यालयका पूर्व विद्यार्थी समाजका सचिव सन्तोषल खनाल लगायतले अभियानको सफलताको शुभकामना व्यक्त गरे । लुम्बिनी प्रदेश सरकारले प्रदेशभित्रका सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान शुक्रबारदेखि १२ वटै जिल्लाका १५ वटा विद्यालयमा एकै साथ सुरु गरेको छ । मुख्यमन्त्री, मन्त्री, दुई पूर्वमुख्यमन्त्री, प्रदेश प्रमुख सचिव र प्रदेशसभाका जनप्रतिनिधि आफूले अध्ययन थालेको विद्यालयमा शुक्रबार पुुगेका थिए । मुख्यमन्त्रीसहित सबै मन्त्री र पूर्वविशिष्टलाई पूर्वविद्यार्थीको हैसियतमा अभियानमा जोडेर सामुदायिक विद्यालयको गुणस्तर सुधारको प्रयास सुरु गरिएको सामाजिक विकास मन्त्रालयका प्रतिनिधि सुरेन्द्र पौड्यालले बताए । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारले ग्रामीण क्षेत्रको बसाइँसराइ रोक्ने, चर्को शुल्कमा निजीमा पढाउने प्रतिस्पर्धा न्यूनीकरण गर्ने भएकाले पूर्वविद्यार्थी, जनप्रतिनिधिदेखि अभिभावकसम्मलाई आफ्नो दायित्व अनुभूति गराउन अभियान ल्याइएको उनको भनाई छ ।
लुम्बिनी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको सामाजिक विकास डिभिजन कार्यालय पाल्पाको आयोजना र जनता नमुुना विद्यालयको सह– आयोजनामा भएको कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामजी पोखरेलको अध्यक्षता, विद्यालयका प्रअ हरीप्रसाद घिमिरेको स्वागत, शिक्षक रामप्रसाद ढकालको सञ्चालनमा भएको थियो ।