
मानिसले जन्म लिएपछि सबैभन्दा पहिले बोलिने र सिक्ने भाषालाई उसको मातृभाषा भनिन्छ । मातृभाषा कुनै पनि व्यक्तिको सामाजिक एवं भाषा सम्बन्धी र रीतिरिवाजको पहिचान पनि हो । तर पछिल्लो समय मातृभाष संकटको अवस्थामा पुगेको छ । यो अत्यन्तै दुखको कुरा हो । सरकारी नीतिका कारण मातृभाषाहरु लोपोन्मुख अवस्थामा पुगेका छन् । मातृभाषाको संरक्षण गर्ने उद्देश्यले हरेक वर्ष २१ फेब्रअरीमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउने गरिन्छ । यस वर्षको दिवस पनि शुक्रबार मनाइएको छ । दिवस मनाइए पनि त्यो औपचारिकतामै सिमित बन्न पुगेको छ । मुलुकको भाषा, साहित्य, इतिहास, कला, संस्कृति संरक्षण, संवद्र्धन गर्ने निकायहरू मौनप्राय छन् । जसका कारण मातृभाष हराउँदै जान थालेको महशुस गरिएको छ ।
युनेस्कोको मोडलअनुसार नेपालमा बोलिने ७१ वटा भाषा संकटापन्न अवस्थामा छन् । २०४७ सालको संविधानले नेपाली भाषालाई राष्ट्रभाषा र राष्ट्रिय भाषा भनेर वर्गीय चिनारी दिएको थियो । संविधानले यी दुवै वर्गका भाषामा पत्रपत्रिका प्रकाशन गर्नसक्ने छुट दिएपछि मुलुकका धेरैजसो मातृभाषी जागरण आयो । मातृभाषाका पत्रपत्रिकाहरू प्रकाशनको बाढी आयो । मातृभाषा अभियान सुरु भयो । तर सरकारले समन्यायिक सिद्धान्तका आधारमा सहयोग नगर्दा अल्पसंख्यकले बोल्ने भाषाहरू लोप हुँदै गइरहेका छन् । यो विडम्वनाको कुरा हो । हिजोको राज्यको नीति र त्यसले निर्माण गरेको मनोविज्ञानले नेपाली बाहेक अरु भाषाहरु लोपोन्मुख भाषा भए । त्यसरी नै आजको पुस्तालाई अंग्रेजी नजाने जागिर पाइदैन, ठूलो मान्छे होइदैन भन्ने मानसिकताको मनोविज्ञान विकास गरिदैछ । यो दृष्टिकोणले भाषिक हैकमवादी नीतिको पृष्ठपोषण गर्दछ । अझैसम्म नेपालमा सयौं भाषाहरु व्यवहारमा बोलचालमा प्रयोग भइरहेका छन् । भाषाको प्राण भनेको उसको प्रयोगमा छ । व्यवहारमा यो देश बहुभाषिक भएको हुनाले शिक्षण र सरकारी कामकाजमा बहुभाषिक नीति अवलम्बन गर्नुपर्दछ । जबसम्म बहुभाषिक नीति अबलम्वन गरिदैन तबसम्म नेपालमा बोलिने कुनै पनि मातृभाषाहरु बाच्ने स्थिति छैन । मातृभाषाको संरक्षण र संवद्र्धन गर्नको लागि शिक्षणको आधारभूत तहदेखि नै त्रिभाषिक नीति अवलम्बन गर्नु पर्दछ । आज सयौंको संख्यामा यूरोपियन, अमेरिकनहरु नेपालको भाषा खोज्दै, सिक्दै उच्च शिक्षा हाँसिल गरेर विश्वका सर्वश्रेष्ठ विश्वविद्यालयका प्राध्यापक, अन्वेशषक, अनुसन्धानदाता बनेका छन् भने हामी किन त्यस्तो नहुने भन्ने कुरालाई राज्यले सोच्ने हो भने हाम्रो सबै भाषाहरु बाच्नेछन् र भाषिक समस्यालाई समय मै निराकारण गर्न सकिन्छ । भाषा मरिसकेपछि कुनै अर्थ हुँदैन । नेपालमा बोलिने मातृभाषाहरू सबै नेपाली भाषा हुन् । नेपालको अमूर्त सांस्कृतिक सम्पदा हुन् । तसर्थ यसलाई बचाउने दिशामा सम्बन्धित समुदाय र सरकारका हरेक निकायहरु लाग्न जरुरी छ ।