Shittalpati
तानसेनमा ‘शिव झण्डारोहण एवं स्नेह मिलन’ कार्यक्रम हुँदै

पाल्पा, महाशिवरात्रीको अवसरमा तानसेनस्थित बह्माकुमारी ईश्वरीय विश्व विद्यालय क्षेत्रिय कार्यालय पाल्पामा शिव झण्डारोहण एवं स्नेह मिलन कार्यक्रम हुने भएको छ । विद्यालयले यही फागुन १४ गते ८९ औं महाशिवरात्रीका दिन शिव झण्डारोहण एवं स्नेह मिलन कार्यक्रम गर्ने भएको हो ।

विद्यालयले आइतबार पत्रकार सम्मेलन गरी कार्यक्रमका बारेमा जानकारी गराएको छ । कार्यक्रममा विद्यालयका पाल्पा तथा गुल्मी क्षेत्रका सचिव तथा केन्द्रिय सदस्य, राजयोगी ब्रह्माकुमार भानुप्रकाश पौडेलले महाशिवरात्रीका दिन भव्य रुपमा कार्यक्रम गर्न लागिएको बताए । उनले मानव आत्मभित्र व्याप्त विकास र अज्ञान अन्धकार समाप्त गरी समस्त मानव आत्माहरुको कल्याणका लागि सत्ययुगी सृष्टिको पुनःस्थापनार्थ परमधामबाट धर्तीमा अवतरित भएको स्मृतिमा शिव झण्डारोहण एंव स्नेह मिलन कार्यक्रम गरिएको पौडेलले जानकारी गराए । उनले भने ‘वास्तवमै शिवको बारेमा धेरैलाई थाहा भए पनि उनको महत्व र ज्ञानको बारेमा कमैलाई थाहा छ, त्यही भएर शिवको महिमा र ज्ञानका बारेमा सबैलाई जानकारी गराउन र एक आपसमा सद्भाव र आत्मियता बढाउन शिवरात्रीमा कार्यक्रम गर्न लागेका हौं ।’ कार्यलय प्रमुख ब्रहमाकुमारी प्रेमा शाह (दिदी)ले कार्यक्रमलाई भव्य र सभ्य बनाउन प्रचार प्रसारलाई व्यापक बनाइदिन जिल्लाका पत्रकारहरुलाई आग्रह गरिन् । विद्यालयकी तारा दिदीले शिवरात्री पर्व निराकार शिव परमात्माको अवतरणको यादगार रहेको बताइन् । उनले  पछिल्लो समय समाजमा विकृति विसंगीहरु बढ्दै  गएकाले त्यसको नियन्त्रणका लागि शिवको महिमा र ज्ञानका बारेमा आम मानिससम्म पुगोस् भन्ने उद्देश्यले शिवरात्रीको पावन अवसरमा साताव्यापी कार्यक्रम गर्दै आएको जानकारी गराईन् । कार्यक्रममा पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेनाले अहिलेको अवस्थामा युवाहरु कुलतमा पस्दै गएको अवस्थामा विद्यालयले ज्ञानवद्र्धक कार्यक्रम गरेकोमा खुसी व्यक्त गर्दै कार्यक्रम सफलताको शुभकामना व्यक्त गरे । विद्यालयले विगतदेखि जै शान्ति, योगा, ध्यान जस्ता विषयमा ज्ञान प्रदान गर्दै आएको छ । विद्यालयले गुल्मी र पाल्पामा रहेका आफ्ना शाखाहरुमार्फत ठाउँ–ठाउँमा सकारात्मक सोच तथा शिक्षा प्रदान गर्दै आएको पाइन्छ ।

प्रकाशित मिति: सोमबार, फागुन १२, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update