Shittalpati
शिवरात्रिलाई विकृतिरहित मनाऔं

महाशिवरात्री हिन्दुको एक विशेष पर्व हो । हिन्दु क्यालेन्डर अनुसार फागुन कृष्ण चतुर्दशीको दिन शिवरात्री मनाइन्छ । शिवरात्रीमा श्रद्धालुहरु रातभर जागा रहेर भगवान शिवको आराधना गर्छन्, भजन गाउँछन् । कतिपय रातभर उपवास गर्छन् । शिवलिंगलाई पानी र बेलपत्र चढाएपछि मात्र आफ्नो उपवास चढाइन्छ । महिलाका लागि शिवरात्रीको विशेष महत्व छ । अविवाहित युवती शिवको प्रर्थाना गर्छन् र असल पतिको कामना गर्छन् । विवाहित महिला आफ्ना पति र परिवारको मंगल कामना गर्छन् । शिवजी उत्पत्ति भएका रातका नामबाट नामकरण भएको यो पर्व कालरात्री मोहरात्री सुखरात्री र शिवरात्री नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णित छ ।

पौराणिक र धार्मिक मान्यताहरुका अनुसार विभिन्न कारणहरुले महाशिवरात्री पर्व मनाइन्छ । जसमा शिव–पार्वतीको विवाह सबैभन्दा धेरै प्रचलित रहेको छ । माता पार्वती र भगवान शिवको विवाह फागुन मास कृष्ण पक्षको चतुर्दशी तिथिमा भएको थियो । यो तिथिमा भगवान शिव र माता पार्वतीको महामिलनको रुपमा पनि मनाइन्छ । महाशिवरात्रीको दिन शिव–पार्वतीको विवाह हुनाले यसको महत्व धेरै रहेको छ । भनिन्छ, यो दिन भगवान शिवको पूजा आरधना गर्नाले भगवान शिव छिट्टै प्रसन्न हुन्छन् । पौराणिक मान्यता अनुसार महाशिवरात्रीको दिन नै भगवान शिवले आफ्नो शिव लिङ्ग सवरुपमा प्रकट भएका थिए । त्यो समयमा सबैभन्दा पहिले उनको यो स्वरुपको विधिपूर्वक पूजा–अर्चना गर्ने बम्हा र विष्णु थिए । यही कारणले महाशिवरात्रीको दिन विशेष प्रकारले शिव लिङ्गको पूजा आरधना गर्ने विधान रहेको हो । तर पछिल्लो समय धर्म, संस्कृति–संस्कारको नाममा वा वाहानामा चाडपर्वहरुलाई विकृत बनाउने काम भएको छ । शिवरात्री पनि त्यसबाट अछुतो हुन सकेको छैन । शिवरात्री मनाउने नाममा गाँजा, भाङ्धतुरो खाने, नाङै हिड्ने, खरानी घसेर छाडा बन्ने पनि गरिँदै आएको पाइन्छ, त्यसलाई संस्कार र संस्कृतिसँग जोड्ने काम भएको छ । यो गलत हो । सामाजिक मान्यता र विकास विपरीत हुने क्रियाकलाप धर्म, संस्कार–संस्कृति हुन सक्दैनन् ।  भगवानको प्रसाद सेवनको नाममा नशालु पदार्थ सेवन गर्नु राम्रो होइन । होहल्ला झैझगडा नगरी धार्मिक आध्यात्मिक सांस्कृतिक अनेक महत्व रहेको शिवरात्रिलाई विकृतिरहित रुपमा मनाउनु आजको आवश्यकता हो । हाम्रो कला संस्कृति रीतिरिवाज चाडपर्व पहिरन खानपान सबै विकृतिरहित हुनुपर्छ । तसर्थ महाशिवरात्रि पनि हाम्रो नेपाली संस्कृति हो जसलाई हामीले विकृतिको पुञ्ज बनाउनुहुँदैन र बन्न दिनुहुँदैन ।

प्रकाशित मिति: बुधबार, फागुन १४, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update