Shittalpati
पाल्पाका शिव मन्दिरमा बिहानैदेखि श्रद्धालुको भीड

तानसेन (पाल्पा), महाशिवरात्रिको अवसरमा पाल्पाका प्रसिद्ध धाम तथा शिवका मन्दिरमा बुुधबार बिहानैदेखि श्रद्धालु भक्तजनको भीड लागेको छ । तानसेनको नारायणस्थान, तिनाउको दोभान सिद्धबाबा मन्दिर, बगनासकालीको बराङ्दीस्थित महामृत्युञ्जय शिवासन, सिद्धबाबा धाम तानसेनको ठुटेपीपल बद्रेश्वर शिवालय, बतासेडाँडा, प्रभास, नारायणस्थान, दमकडा, रामपुर लगायतका शिवालय मन्दिरहरूमा भगवान शिवको पूजाआजा तथा भजन कीर्तन गर्ने भक्तजनको भीड लागेको हो ।   

तानसेनको ठुटेपीपलस्थित बद्रेश्वर शिवालयमा विहान ३ बजेदेखि नै भक्तजनहरुको घुइँचो लागेको छ । त्यहाँ तानसेन र आसपासबाट भक्तजनहरु त्यहाँ पुगेका छन् । यस्तै तिनाउ गाउँपालिका–३, दोभानस्थित सिद्धबाबा मन्दिरमा  पनि बिहानैदेखि भक्तजनको घुँइचो लागेको छ । सिद्धपुरुष भर्तृहरिको तपोभूमि तथा आदिमानव रामपिथेकसको विचरणस्थलका रुपमा परिचित सिद्धबाबा पुरातात्विक, धार्मिक एवं पर्यटकीय दृष्टिलेसमेत महत्वपूर्ण भएकाले यहाँ श्रद्धालुहरुको घुँइचो लागेको हो । भक्तजनले सहज रूपमा सिद्धबाबा मन्दिरमा पूजा तथा दर्शन गर्नसक्ने व्यवस्था मिलाइएको छ ।  यहाँ बिहानदेखि नै मूल मन्दिर खुला गरिएको  मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सन्तोष शेरचनले जानकारी दिए । यहाँ पाल्पाबाहेक रुपन्देही, नवलपरासी, कपिलवस्तुका साथै छिमेकी मुलुक भारतबाटसमेत श्रद्धालु आएका छन् । मन्दिरमा दर्शन गर्न आउने भक्तजनहरुको सहजताका लागि टोकन र निःशुल्क बसको व्यवस्थासमेत गरिएको छ ।

यस्तै महाशिवरात्री पर्वका अवसरमा बगनासकालीको बराङ्दीस्थित महामृत्युञ्जय शिवासनमा पनि पूजाआजा र दर्शन गर्नेहरुको घुँइचो लागेको छ । यता प्रभासमा पनि विहानैदेखि भक्तजनहरु लाइनमा बसेर पुजा गरिरहेका छन् । यहाँ रातभर भजनकिर्तन र धुनी जगाउनुका साथै बिहानैदेखि पुजाआजा गर्नेको भीड लागेको पाइन्छ । शिवरात्रिको दिनमा भगवान शिवको पूजाआजा भजनकीर्तन गर्ने, उपवास बसेमा मनको कामना पूरा हुने जनविश्वास रहँदै आएको छ ।  भगवान शिवलाई बेलपत्र, भाङ धतुरो चढाउने परम्परा छ । हिन्दु धर्ममा  देवका  पनि महादेवका  रुपमा भगवान शिवलाई पूजाआजा भजन कीर्तन गर्ने परम्परा रहेको छ । भगवान शिवको उत्पत्ति भएको दिनका रूपमा हिन्दूहरूले शिवरात्रि पर्व मान्दै आएको पौराणिक कथन रहेको पाइन्छ ।  

प्रकाशित मिति: बुधबार, फागुन १४, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update