
पाल्पा, जिल्लाको तानसेन नगरपालिका–७ प्रभासमा महाशिवरात्रिको अवसरमा कृषि मेला तथा सांस्कृतिक कार्यक्रम भएको छ । प्रभास क्षेत्र धर्म संस्कृति तथा मेला पर्व ब्यवस्थापन समितिको आयोजनामा बुधबार कार्यक्रम भएको हो ।
संस्कृतिको संरक्षण र स्थानीय कृषि उत्पादनको बजारिकरण गर्ने उद्देश्यले शिवरात्रिको अवसरमा कार्यक्रम गरिएको आयोजकले जनाएको छ । कार्यक्रमको तानसेन नगरपालिका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले उद्घाटन गरेका हुन् । कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख श्रेष्ठले प्रभास क्षेत्र आफैमा ऐतिहासिक क्षेत्र भएकाले यसको संरक्षण र प्रचार –प्रसारमा कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा उपप्रमुख प्रतिक्षा सिंजालीले प्रभास क्षेत्रलाई पर्यटकीय र धार्मिक क्षेत्रको रुपमा विकास गर्न जरुरी रहेको र त्यसका लागि स्थानीय सरकार लागि परेको बताईन् । कार्यक्रममा प्रभास क्षेत्र साँघुरिदै गएकोमा चिन्ता व्यक्त गरिएको छ । मेलामा स्थानीय कृषकहरुले उत्पादन गरेका कृषिजन्यवस्तुुहरु प्रदर्शनमा राखिएको थियो । कार्यक्रमको उद्घाटन वडा अध्यक्ष प्रदीप खनालको अध्यक्षता, तानसेन –१० का वडा अध्यक्ष हिमलाल पंगेनीको स्वागत, माधव खनालको सञ्चालनमा कार्यक्रम भएको थियो ।