
पाल्पा, पाल्पा लगायत देशभरका मगर समुदायले बिहीबार हर्साेल्लासका साथ ४३ औं राष्ट्रिय मगर एकता दिवस मनाएका छन् । उनीहरूले विभिन्न मगरको भेषभूषा, संस्कृतिलाई पहिचानको रूपमा झल्काउँदै दिवस उल्लासमय रुपमा मनाएका हुन् । उनीहरुले विभिन्न परिकारका खाना खाने, नाचगान गर्ने, रमाउने गरेर मगर एकता दिवस मनाए । मगरी परिकार बटुक, चुकाउने, अचार, सेलरोटी, नाम्या, बंगुर, कुखुराका परिकार खाएर रमाइलो गरेका थिए ।
पाल्पाका १० वटै स्थानीय तहका मगर समुदायले आ–आफ्नो किसिमले कार्यक्रमहरुको आयोजना गरी दिवस मनाएका हुन् । बिहीबार यहाँका हरेक सडकमा निस्किदा सबै मगर पहिरनमा सजिएका व्यक्तिहरु मात्र भेटिन्थे । सबैजना मौलिक पहिरनमा चिटिक्क देखिन्थे । पहिरनमा तानसेनस्थित कैलाशनगरमा भेटिएकी खगिश्वर मगरले आफ्नो जातिय पहिरनमा सजिन पाउँदा खुसी लागेको बताइन् । ‘यो हामी मगर जातिलाई चिनाउने आफ्नो पोशाक र चिनारी हो, बिर्सनु त भएन नि । अनि पो संस्कृति बाँचिरहन्छ’ उनले भनिन् । मगरले अरू बेला साधारण पोशाक लगाए पनि आफुले चाडपर्व, मेला महोत्सव, शुभकार्य या जमघटका बेला मगर पहिरन नै लगाउने गरेका सुनाइन् ।
यस्तै, माथागढीकी अनिशा आले पनि सराईमा भएको सांस्कृतिक महोत्सवमा चिटिक्क मगरी परिहनमा देखिइन् । उनले आफ्नो संस्कृतिलाई बचाई राख्न उत्सवको अवसरमा पोशाक लगाएको बताइन् । यहाँ दिनभर मगरहरुको उत्सव नै चल्यो । कार्यक्रममा उपस्थित मध्ये धेरै आफ्नै पोशाक, चालचलन र शैलीमा देखिन्थे । कोही फोटो खिच्नमा त कोही नाचगान हेर्नमै मस्त थिए । आपसमा रमाइरहेका थिए । कार्यक्रममा मगर समुदायको भेषभूषा तथा झाँकी गीत र नृत्यले दिवसलाई रौनकता थपे । एक अर्कामा शुभकामना सांटेर मगरहरुले एकता दिवस मनाए । ‘मगर एकता दिवस मगर बाहुल सबैका घर, गाउँटोलसम्म खुसीका साथ मनाएका छन्,’ बगनासकाली गाउँपालिका यम्घाका विष्णु गाहाले भने , ‘मगर एकता दिवसमा मगर समुदायका लागि महत्वपूर्ण दिन हो । रमाउने, खुसीयाली साटासाट गर्ने दिनका रूपमा मनाउने गरिएको छ । यहाँ बगनासकालीको चिलाङ्दीमा विविध सांस्कृतिक कार्यक्रम भएका छन् ।
यस्तै रामपुरमा एकीकृत मगर उत्थान समाजले १७ औँ वार्षिक उत्सवसँगै विशेष कार्यक्रम गरेको छ । उता रम्भा गाउँपालिकाको नाँचनडाँडामा विविध सांस्कृतिक कार्यक्रम मगर समुदायका युवा युवतीहरु रमाएका थिए । पाल्पाका सबै स्थानीयतहदेखि वडा–वडा टोल टोलमा मगर एकता दिवस भव्यताका साथ मनाइएको नेपाल मगर संघ पाल्पाकी अध्यक्ष शान्ति झेडी थापाले जानकारी दिइन् । पाल्पामा मगरिकला, संस्कृतिहरू निकै लोकप्रिय रहेका छन् । यहाँको मगरी कलासंस्कृति झार्मे, सालेजो, कौडा, मारुनी, ठूलो नाच, झ्याउरे संस्कृतिमा मगरसहित सबै समुदायहरू रमाउने गरेका छन् । मगर समुदायमा प्रचलित झ्याउरे, सालैजो, कृष्ण चरित्र ठूलो नाच, ठाडो भाका, यानीमाया लगायतका विभिन्न झाँकीको प्रर्दशन गरियो थियो । यहाँका तानसेन, रामपुर, माथागढी, तिनाउ, रिब्दीकोट, रैनादेवी हछरा, बगनासकाली, रम्भा, निस्दी, पूर्वखोला लगायतका पालिकाहरुमा भव्य कार्यक्रमहरु भए । दिवस मनाउन पाल्पाका १० वटै स्थानीय तहले बिदा समेत दिएका थिए । सार्वजनिक बिदाका कारण पालिका कार्यालय, सबै वडा कार्यालय, स्वास्थ्य संस्था, सम्पूर्ण शैक्षिक संस्था बन्द रहे ।
मगर जातिको अधिकार र अस्तित्वको रक्षाको लागि एकजुट भएर लागेको सम्झन अर्थात् नेपाल मगर संघको स्थापनाको अवसरमा प्रत्येक वर्ष फागुन १५ गते यो दिवस मनाइने गरिन्छ । मगरहरुको सांगठनिक पर्वका रुपमा यो दिवसलाई लिने गरिन्छ । पाल्पामा ५४ प्रतिशत भन्दा धेरै मगरहरुको बसोबास रहेको छ । २०३९ साल फागनु १५ गते नेपाल लाङ्घली परिवार संघको प्रथम अधिवेशन सम्पन्न भएको सम्झनामा मगर समुदायले मगर दिवसको रुपमा मनाउन शुरु गरेका हुन् ।