Shittalpati
गैरसरकारी संस्था नागरिकप्रति जवाफदेही बन

विश्वको तथ्यांकलाई हेर्ने हो भने कुनै पनि देशमा जब राज्य कमजोर हुन्छ, गैरसरकारी संस्थाको (गैसस) प्रभाव बढेको देखिन्छ । लामो समयसम्म द्वन्द्वमा रहेका देशहरु द्वन्द्व समाधानपछि र प्राकृतिक विपत्पछि यस्ता संस्थाहरुको संख्या उल्लेख्य मात्रामा बढेको पाइन्छ । गैससको पहुँच र प्रभाव नेपालको राजनीतिमा मात्र होइन, अन्तर्राष्ट्रिय क्षेत्रमा पनि छ । गैससवादीहरूले नेपालमा सरकार हल्लाइदिन्छन्, विकासकार्यलाई ठप्प पार्न सक्छन्, गरेका पनि छन् । तर गैससको परिवर्तित भूमिकाबारे बहस र छलफल गर्ने विषयमा भने यी झण्डै ‘धम्कीको शैली’ मा प्रस्तुत हुने गर्छन् र विचारविमर्श रोक्छन् ।

नेपालमा १० वर्षे द्वन्द्व अन्त्यपछि र २०७२ सालको भूकम्पपछि गैससको संख्या उल्लेख्य बढेको पाइन्छ । पचास प्रतिशत भन्दा बढी गैससहरु समुदाय तथा ग्रामीण विकाससँग सम्बन्धित छन् । त्यो बाहेक शिक्षा, स्वास्थ्य, कृषि, वातावरण, महिला बालबालिका, युवा, फरक क्षमता भएका, एड्स लगायतका क्षेत्रसँग सम्बन्धित छन् । अपवाद बाहेक केही गैरसरकारी संस्थाहरुमा विकृति पनि देखिएको छ । गैरसकारी संस्थाको नाममा ठूलो रकम आउने गरेको छ । तर त्यो रकमको कुुनै पनि हिसाबकिताब छैन । आवश्यक ठाउँमा खर्च नहुँदा त्यसले परिणाम दिनेभन्दा पनि प्रक्रिया पूरा गर्ने र प्रशासनिक खर्चमै धेरै ओइरो लगाउनुले पनि यस्ता रकमबाट ठोस उन्नति नहुनु हो । उन्नति चाहिँ मुठ्ठीभर व्यक्तिले गरेका छन् ।

गैरसरकारी संस्थामा आउने रकममा राज्यको चासो, नियमन र अनुगमन मात्रै होइन हस्तक्षेपकै पनि जरुरी छ । गैरसरकारी संस्थाहरुलाई प्रभावकारी बनाउन हरेक वर्ष विश्व गैरसरकारी संस्था दिवस मनाउने गरिन्छ । बिहीबार पनि नेपालसहित विश्भर सो मनाइएको छ । गैरसरकारी संघसंस्थालाई समाज विकासमा थप हौसला दिन संयुक्त राष्ट्रसंघ (यूएनओ)ले हरेक वर्षको २७ फेब्रुअरीमा यो दिवस मनाउने गरेको हो । विशेषतः दिवसले स्थानीय, क्षेत्रीय र अन्तर्राष्ट्रिय तहमा गैर–सरकारी संस्थाले समाजमा पु¥याएको योगदान र अन्य गतिविधिहरूको महत्वलाई विश्वसामु प्रस्ट पार्ने प्रयास गर्दछ । तर पछिल्लो समय गैरसरकारी संस्थाहरु  नागरिकप्रति जवाफदेही भएको  देखिदैन । यसर्थ  देशको विकास र जनताप्रति गैरसरकारी संस्थाहरु जवाफदेही बन्न जरुरी छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update