
तानसेनले कर्मचारीतन्त्र र प्रशासनिक आँखाले भन्दा विकासका नविनतम अभ्यास र सिर्जनशिल अवधारणा देख्ने तथा कल्पना गर्न सक्ने तेश्रो आँखा खोजेको छ । अब हुँदै जाला गरांै लानी भन्ने आलसी मानसिकता होइन, यहाँ पुर्याउनुछ र म पुर्याउछु भन्ने दृष्टिकोणसहितको आत्मविश्वास र दृढइच्छाशक्ति भएको जाँगर खोजेको छ । वास्तवमा भन्ने हो भने तानसेनले आफ्नो सम्भावना बुझेर सोही अनुरुपको नीति निर्माण गरी भएका सम्पति वा सम्पदाहरुको जगेर्ना गर्दै नयाँ थप नविन एवं सिर्जनात्मक क्रियाकलापहरुको सञ्चालनबाट मुलुकमा उदारणीय क्षेत्रको रुपमा परिचयमा आउने लालसा राखेको पनि निकै लामो अवधि भयो । तर आफ्नो पहिचान नभएकोमा तानसेन मरिच सरह खुम्चिएर बसेको पनि धेरै भइसकेको छ ।
तानसेन नगरपालिकाको दीगो प्रभाव सहितको पर्यटन नीति खोजेको छ । तानसेन नगरपालिकालाई उत्कृष्ट पर्यटन गन्तव्यको रुपमा पहिचान गराउने सोच खोजेको छ । तानसेनलाई मध्ययुगिन सहरको रुपमा संरक्षित अवस्थामा राख्ने र यहाँका ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक सम्पदाहरुको संरक्षण सम्वद्र्धन प्रवद्र्धन र विकास गरी संस्कृति प्रकृति र सम्पदायुक्त सांस्कृतिक नगरको रुपमा ब्राण्डिगं गर्ने कार्यक्रम खोजेको छ । विभिन्न विधागत पर्यटन विकासका लागि आधारहरु तयार पारी आवश्यक क्रियाकलाप सञ्चालन गर्ने संयन्त्रको खोजी गरिरहेछ ।
तानसेनको खस्कदो र मुर्जाएको अर्थतन्त्र वा आर्थिक गतिविधिका कारणले सबैलाई निराश बनाएको छ । कतिपयले तानसेनबाट स्थानान्तरण गर्ने सोच वनाएको मात्र होइन जायजेथा विक्रि गरी अन्य स्थानमा हिडिसकेका पनि छन् । यसर्थ हरेक टोल र गल्लीहरुमा मानिसहरुको भिडभाड बढाउन जरुरी छ । यसका लागि तानसेनमा केही न केही गतिविधि हुन जरुरी छ ।
भाइव्रेन्ट तानसेनको नारासहित निजि क्षेत्रको समन्वयमा आर्थिक गतिविधिलाई मद्धत गर्ने कार्यक्रम सञ्चालन खोजेको छ । हरेक दिन सिद्धार्थ राजमार्ग हुँदै पोखरा जाने भारतीय गाडीहरु बजार प्रवेश गरी एक दुईदिन तानसेनका विभिन्न क्षेत्रमा रोकिने पूर्वाधार खोजेको छ । पोखरा हुँदै मुक्तिनाथ जाने पर्यटकलाई तानसेन रानीमहल हँुदै जाने रणनीतिक प्रचार खोजेको छ । यसका लागि प्रभासको लामडाँडामा आकर्षक र व्यवस्थित पर्यटक सूचना केन्द्रसहितको सार्वजनिक शौचालय एवं खाजाघरहरु सञ्चालनको रणनीतिक योजना तानसेनले खोजेको छ । रानीघाट दरबार क्षेत्रलाई जलाशयसहितको कार्ययोजना र दरबारमा राणाहरुको विशेषगरी दरवारले खड्ग सम्शेरको प्रेमिल जीवन झल्काउने गरी व्यवस्थापनमा चासो खोजेको छ । बजारका पुराना घरहरुमा आनन्दले बास बसाउन पाउने होमस्टेको व्यवस्था गरी सेवासहितको आथिथ्यता प्रदान गर्न यहाँका वासिन्दा र तानसेनका पुराना घरहरुले उत्प्रेरणजन्य सहयोग खोजेका छन् । हरेक वर्ष संघीय सरकार र प्रदेश सरकारले नीति तथा कार्यक्रममा उल्लेख गरी भाषण गर्ने गरिएको पृष्ठभूमिमा सोको लागि लागि पर्ने र सोही अनुरुपका कार्यक्रम, कार्ययोजना सहितको प्रस्ताव तयार गर्ने जागर एवं पर्यटन विकासका लागि र प्रवद्र्धनका लागि संघीय एवं प्रदेश सरकारका साथै निजी, सामुदायिक तथा आन्तरिक तथा बाह्य निकाय, अंगलाई साझेदार बनाई परिचालन गर्ने र विभिन्न पर्यटन प्रवद्र्धनका क्रियाकलापमा लगानी आकर्षित गर्ने परियोजना खोजेको छ ।
समय–समयमा स्वदेश तथा विदेशमा हुने मेला महोत्सवमा पाल्पाको बजार प्रवद्र्धनका लागि आकर्षक र प्रभावकारी आधारहरु खोजी रहेछ । पर्यटन प्रवद्र्धन र विकासका लागि सार्वजनिक निजि साझेदारीलाई प्रवद्र्धन गर्ने प्रकृतिको रुपमा तानसेन पर्यटन परिषद् वा तानसेन पर्यटन स्थापना गरी तानसेनलाई सांस्कृतिक नगरीको रुपमा ब्राण्डिगं गर्ने कदम खोजी रहेको छ ।
तानसेन उपत्यका र जनकपुर हाराहारीको मध्ययुुगिन सहरको विशेषता बोकेको हुनाले त्यस्ता भौतिक अभौतिक सम्पदाहरुलाई संरक्षित अवस्थामा राख्ने र यहाँका ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक सम्पदाहरुको संरक्षण सम्वद्र्धन प्रवद्र्धन र विकास गरी संस्कृति प्रकृति र सम्पदायुक्त सांस्कृतिक नगरको रुपमा परिचयमा ल्याउने पहलको खोजी गरिरहेको छ । तानसेनका होटलहरुको गुणस्तरियता र सत्कारमा परिवर्तन ल्याउँदै तारे होटल स्थापनाका लागि वातावरण बनाउने र लगानी आमन्त्रण गर्ने साथै आतिथ्यताका लागि सक्षम जनशक्ति व्यवस्थापनका लागि अध्ययन तथा तालिम लिन पाउने संस्थाहरु स्थापनासँगै प्लेसमेन्ट व्यवस्था मिलाउन आवश्यकता छ भन्ने माग सम्वोधन गर्ने वातावरण मिलाउने मात्र होइन पाल्पा आएका पर्यटकले तानसेनमा विताउने दिन लम्व्याउने रणनीति अनुरुप कार्य गर्ने पहल खोजेको छ । तानसेन बजारमा पर्यटन प्रवद्र्धनका लागि बजारमा मात्र क्रियाकलाप सञ्चालन गरेर पुग्दैन । ग्रामीण वडाहरुमा रहेका सम्पदा एवं प्राकृतिक सम्भावनाहरुको पहिचान गरी स्थापनाविशेष पूर्वाधारहरुको विकास र प्रवद्र्धन जरुरी छ । कतिपय वडाहरुमा पर्यटनका विविध विधाहरुको समूचित व्यवस्थापन गर्ने र ग्रामीण पर्यटनलाई बढावा दिन आवश्यक छ । स्थानीय उत्पादन र उत्पादनमा विविधिकरण गरी विशेष क्षेत्रका रुपमा परिचयमा ल्याउन सक्ने प्रशस्त सम्भावनाहरु बोकेका क्षेत्रहरु बजार बाहिरका वडाहरुमा प्रशस्त छन् । यस्ता सम्भावनाहरुको विशेष परिचालनका लागि लगानी व्यवस्थाका लागि कार्यक्रम खोजी रहेका छन् ।
यसर्थ, तानसेनले जे खोजेको छ त्यो हामी दिन सकेका छैनौ । संक्षेपमा तानसेन चिन्ने, जान्ने र सबैले मान्ने नीति खोजी रहेको छ । यही नीतिले नै तानसेनलाई न्याय दिन सक्छ । यसका लागि नीर्माण गरिने नीतिले नै तानसेनले पोलिसी डिपार्चर गर्ने छ । सम्वद्ध निकाय, निजी क्षेत्र र यहाँका वासीन्दाहरुको गहिरो र प्रभावकारी चासो आवश्यक देखिन्छ ।
(लेखक पाल्पा सरोकार समाजका अध्यक्ष समेत हुन् ।)