Shittalpati
काँग्रेस एमालेको सरकार ०८४ सम्मै जान्छ : एमाले  नेता पोखरेल 

पाल्पा, नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले  अहिले केही पक्षले यो सरकार आज भोलि नै ढल्छ भनेर गलत प्रचार गरे पनि पुरा अवधिसम्म चल्ने घोषणा गरेका छन् । नेकपा एमाले पाल्पाले आयोजना गरेको वडा केन्द्रित पार्टी निर्माण अभियानको अभिमुखीकरण कार्यक्रममा एमाले कार्यकर्ताहरुलाई प्रशिक्षण दिदै वरिष्ठ उपाध्यक्ष पोखरेलले यो समीकरण ढल्ने कुनै कारण देखिदैन । दुई दलबिच सहमती, सहकार्य र एकताबाटै सरकार सञ्चालन भएको उनले बताए ।  ‘एमाले र काँग्रेसले  एक आपसमा धोका दिए मात्र सरकार ढल्छ तर दुबै पक्षबाट धोकाको राजनीति हुने अवस्था छैन । त्यसैले यो सरकार २०८४ सम्म ढुक्कले टिक्छ ।’
    हरेक निर्वाचनमा मुख्य प्रतिष्प्रर्धी दल नेपाली काँग्रेस भए पनि ऐतिहासिक परिवर्तन जोगाउन र मुलुकलाई संकटबाट बचाउन एमाले र काँग्रेसबिच सत्ता सहकार्य भएको नेता पोखरेलले  बताए । उनले काँग्रेस र कम्युनिष्टको सहकार्य आजमात्र नभई २००७ सालदेखी शुरु भएको उल्लेख गरे  । २००७ सालमा प्रजातन्त्र ल्याउन, २०३६ सालको जनमत संग्रह, २०४६ सालको बहुदल ल्याउन, २०६२/०६३ को जनआन्दोलन र २०७२ सालमा नयाँ संविधान घोषणा जस्ता  राजनीतिक उपलब्धीहरु ल्याउन एमालेले काँग्रेससँग सहकार्य गरेर ऐतिहासिक उपलब्धिहरु हासिल गरेको वरिष्ठ उपाध्यक्ष पोखरेलले जिकिर गरे  । २०८४ को तीनवटै आमनिर्वाचनमा एमालेको प्रतिष्पर्धा काँग्रेससँगै हुने भए पनि विगतका उपलब्धी जोगाउँदै मुलुकलाई अस्थिरताबाट बचाउन दुई दलबिच सत्ता सहकार्य भएको पूर्व उपप्रधानमन्त्री समेत रहेका एमाले नेता पोखरेलले कार्यकर्तालाई बताए  । 

काँग्रेस एमालेको सहकार्यबाट जनताले अपेक्षा गरे जति सुधार नभए पनि अघिल्लो सरकारले भन्दा शुसासन कायम गरेको, सेवा प्रवाह चुस्त दुस्त बनाएको, मुलकलाई दुर्घटना हुनबाट बचाएको एमाले नेता पोखरेलले दावी गरे  । उनले एमाले पार्टीमा अहिले कपाल फूलेको संख्या बढ्दै गएकाले पाका पुस्ता र तन्नेरी पुस्तालाई नेतृत्वमा ल्याउनु पर्ने बताए । एमाले कार्यकर्ताहरुलाई प्रशिक्षण दिदै  नेता पोखरेलले  भने ‘अब कपाल फुलेका व्यक्तिहरुबाट मात्र पार्टी चल्दैन पार्टी बलियो हुँदैन, त्यसैले पुरानो पुस्ता, विषय विज्ञ पाका पुस्ता र तन्नेरी पुस्ता बराबर हुने गरी एमाले पार्टी नेतृत्व विकासमा जुटेको छ ।’ 
    

एमाले पार्टीमा सक्रियता, पहलकदमी, जनसेवा र प्रतिष्पर्धा भएको कार्यकता हुनुपर्नेमा नेता पोखरेलले जोड दिए । ‘अहिले पार्टीमा केही विकृति पनि देखिएको छ ।  एमालेको आवरणमा भ्रष्टचार गर्ने, नैतिक पतहिन काम गर्ने व्यक्तिहरुलाई एमाले पार्टीमा नराख्ने र तत्काल कारवाही गर्छ’ नेता पोखरेलले भने । अहिले नेपालमा तत्काल बामपन्थी एकता सम्भव नभएको र काम अनुसारको एकता बामपन्थी एकता गरेर मुलुकको हितमा राजनीतिक दलहरु लाग्नु पर्नेमा नेता पोखरेलले जोड दिए पाटी प्रशिक्षण कार्यक्रममा एमाले पोलिटिव्युरो सदस्य ठाकुर प्रसाद गैरेले वडास्तरीय कार्यक्रमले पार्टीलाई चुस्तदुस्त, फुर्तिलो, जनतामैत्री, विकासमैत्री, समावेशीमैत्री  एमाले पाटी बनाउने बताए ।  २०८१ चैत्र मसान्तभित्र साविकका गाविसहरुका सबै वडाहरुमा एमालेको अभियान पुग्ने र जनताको  घर–घरमा एमाले पुग्ने अभियान शुरु भएको नेता गैरेले बताए ।  

वडा–वडामा एमालेको नीति सिद्धान्त विचार पुर्‍याउने, जनसंगठनलाई टोल–टोलमा पुर्‍याउने   पार्टी सदस्यता नविकरणलाई तिव्रता दिने चैत्र महिना भित्र पाल्पाका ८१ वटै वडाका  टोल–टोलबाट गाउँपालिका प्रदेश संघमा पेश गर्ने योजना संकलन गर्ने र भदौमा हुने विधान महाधिवेशनमा गाउँस्तरबाट उठेका कुराहरुलाई नितिमा समावेश गरिने पोलिटिव्युरो सदस्य गैरेले जोड दिए । संयुक्त सरकार बनेपछी पाल्पामा थप ६० करोड रुपैयाँ बजेट ल्याउन सफल भएको पाल्पा क्षेत्र नं. २ का सांसद समेत रहेका गैरेले बताए । नेकपा एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कडेलले पाटीएमा पद अनुसारको जिम्मेवारी पुरा नगर्ने पदाधिकारीहरुको आगामी दिनमा मुल्याङ्कन गरी जिम्मेवारी नदिने बताए ।  पाल्पा क्षेत्र नंं १ का संघीय सांसद नारायण प्रसाद आचार्यले वडा केन्द्रित, जरा केन्द्रित पार्टी अभियानबाट मिसन ८४ को आधार निर्माण हुने बताए । कार्यक्रममा पाल्पाका १० पालिका, ८१ वटै वडा, जिल्ला कमिटी, क्षेत्रीय कमिटीका पार्टी सदस्यहरु, एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।  कार्यक्रम जिल्ला अध्यक्ष ओमबहादुर घर्तिमगरको अध्यक्षता, उपाध्यक्ष विमल काफ्लेको स्वागत, सचिव रामजी पोखरेलको सञ्चालनमा भएको थियो । 


 

प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update