
पाल्पा, युकेमा जन्म भई नेपालको पाल्पालाई कर्मथलो बनाउँदै आएकी युनाइटेड मिसन अस्पतालकी निर्देशक डा.रचेल कारख औषधि व्यवसायी संगम सम्मान तथा पुरस्कारबाट सम्मानसहित पुरस्कृत भएकी छन् । नेपाल औषधि व्यवसायी संघ पाल्पाले आठौं साधारण सभा तथा सातौं जिल्ला अधिवेशनको अवसरमा ‘औषधि व्यवसायी संगम सम्मान तथा पुरस्कार’ बाट डा. कारखलाई पुरस्कृत गरेको हो ।
स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै संघले डा. कारखलाई पुरस्कृत गरिएको जनाएको छ । उनलाई नगद १० हजारसहित सम्मानपत्रबाट लुुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारु, पुरस्कारदाता संघका पूर्व अध्यक्ष रुक्मागत शर्मा, संघका अध्यक्ष विष्णु केसी लगायतले संयुक्तरुपमा सम्मान गरेका हुन् । सम्मानित डा. कारख युकेमा जन्मिएर विगत ३१ वर्षदेखि निरन्तर मिसन अस्पतालमा कार्यरत छिन् । १९९४ मा नेपाल आएकी कारख मिसन अस्पतालबाट आफ्नो सेवा प्रारम्भ गरेकी थिइन् । २००२ देखि २००४ सम्म मेडिकल सुपरडेन्डेनको रुपमा काम गरेकी उनी २००४ देखि हालसम्म भने अस्पतालको निर्देशकको रुपमा जिम्मेवारी सम्हाल्दै आएकी छन् । डा. कारण जिल्लाका विभिन्न सामाजिक संघ सस्थाहरुमा समेत सक्रिय भएर काम गर्दै आएकी छन् । सम्मान ग्रहण गर्दै डा. कारखले अध्ययन गर्दा नै नेपालमा गएर सेवा गर्ने मनैदेखि इच्छा भएकाले आफु पाल्पा आएर सेवा गर्ने अवसर पाएको बताईन् । उनले आफ्नो योगदानका कदर गरी पुरस्कृत गरेकोमा औषधि व्यवसायी संघलाई हार्दिक आभार व्यक्त गर्दै धन्यवाद दिइन् ।
संघले हरेक वर्ष स्वास्थ्य क्षेत्रमा योगदान पुर्याएका एक जनालाई उक्त पुरस्कार दिर्दै आएको छ । स्वास्थ्यकर्मी तथा संघका पूर्व अध्यक्ष शर्माले १ लाख ५० हजार रुपैयाँको अक्षयकोष स्थापना गरी उक्त पुरस्कार स्थापना गरिदिएका थिए । उनले हरेक वर्ष एक जनालाई सो पुरस्कार प्रदान गर्ने गरी अक्षकोष स्थापना गरिदिएका हुन् । यस वर्ष उक्त अक्षयकोषको व्याजबाट डा. कारखलाई सम्मान गरिएको हो । पाल्पामा जन्मिएर स्वास्थ्य क्षेत्रमा कम्तिमा २० वर्ष सेवा गरेका स्वास्थ्यकर्मी तथा औषधि व्यवसायीलाई हरेक वर्ष सो पुरस्कार प्रदान गरिने अक्षकोषदाता शर्माले बताए । उनका अनुसार अक्षयकोषको व्याजबाट आउने दश हजारको पुरस्कार दिइदै आइएको छ ।