Shittalpati
बाबुरामको सम्बोधन र दलितका सवाल

विजय विश्वकर्मा
पूर्व प्रधानमन्त्री एवं जनयुद्वका एक नेतृत्वकर्ता बाबुराम भट्टराईले प्रतिनिधिसभामा सम्बोधन गरेपछि एक किसिमको तरङ्ग आएको छ । उनको सम्बोधन लगत्तै केही लेख्ने विचार गरेको थिए तर उनको सम्बोधन पश्चात आउने प्रतिक्र्रिया हेरेपछि मात्र यो लेख लेख्दै छु । बाबुराम भट्टराईले दलितका सवालमा उठाएका कुरा र आम नागरिका प्रक्रियाहरुका विषयमा यहाँ चर्चा परिचर्चा गर्ने प्रयास गरिएको छ ।

जाजरकोटका युवाहरु रुकुममा हत्या, बेपत्ता र घाइते हुनुको मुख्य कारण जातिय विभेद र असमानता नै हो । यहि सामूहिक नरसंहार र बर्वरतापूर्ण घटनाको विरोध गर्दै बाबुरामले संसदमा सम्बोधन गर्ने क्रममा समाजमा समानता कायम गर्ने, सम्पूर्ण जातजातिको सम्मान, श्रमको सम्मानमा जोड दिएका थिए । कोही कसैलाई जातकै आधारमा, थरकै आधारमा विभेद भइरहने, गरिरहने शृङ्खलाको अन्त्य हुनुपर्ने भन्दै बरु म आफै बाबुराम कामी लेख्न तयार छु भनेका थिए । उनले यति के भनेका थिए उनको सम्पूर्ण भनाईको सारलाई पुरै बेवास्ता गरी बाबुराम भट्टराईलाई कामी शब्दमै आलोचना केन्द्रित गरियो । जेठ १९/२० गते सामाजिक सञ्जालभरी बाबुरामले ढोलकी दमाहा बजाएको, झुत्रे झाम्रे कपडा लगाएको, घनले फलाम पिट्दै गरेका फोटोशपबाट सम्पादित तस्वीरहरू भाईरल गराइए । यी प्रतिक्रियाबाट हामी के बुझ्न सक्छौ भने हाम्रो चेतनाको स्तर अगाडि हैन पछाडी फर्किएको छ । हामीहरुले समाजलाई, सामाजिक विभेदलाई बुझ्न सकेका छैनौ ।

अहिले आएर दलितका सवालहरु दलित शब्दमा, थरमा, आरक्षणमै रहे छन् भन्ने किसिमको प्रचार गरिएको छ । यो तरिका गलत छ । म तम्घास बासी, तम्घासको पनि रेसुङ्गाको फेदितिर बस्ने गर्छु । म ६/७ वर्षको छँदा के लाग्थ्यो भने पारी अर्जुनडाँडा पछाडी भिर भएकाले उता मान्छे बस्दैनन् होला जस्तो लाग्थ्यो । तर मेरो बुझाई गलत थियो । अर्जुनको पारिपारी धेरै ठूला–ठूला बस्ती रहेछन् । यस्तै झै भन्ने गरिएका दलितका समस्याहरुको बुझाईमा नै हाम्रो समस्या छ । जब बुझाइमै समस्या भएपछि समाधान त हुने कुरै भएन । हामी अल्पज्ञानी भएकोले नै समस्या झन झन जटिल हुँदै आएकोले विद्रोह क्रान्तिको आधारभूमी भनिने ठाउँमै समेत जातिय कारण सामूहिक नरसंहार भएको छ । हामी मध्ये कतिलाई बाहुन क्षेत्री कै चुलोचौकोमा पसे मुक्ती हुन्छ विभेद हट्छ भन्ने भ्रम छ । कतिलाई बाहुन क्षेत्री मगरका छोरीचेलीलाई बिहे गरेर विभेद हट्छ भन्ने भ्रम छ । हाम्रा छोराछोरी अमेरिका, अष्ट्रेलिया पुगे यिनीहरुले कोटाबाट जागिर खाएर आए अड्डा अदालतमा यस्तालाई नमस्कार गर्नुपर्ने, यस्ताको सही भएको कागज मान्नपर्ने यहाँ भन्दा यिनिहरुलाई के चाहियो के दिने हो यिनीहरुलाई सबै पुगिसकेको छ समस्या समाधान भैसकेको छ भन्ने भ्रम कथित उपल्ला जाती भनिनेलाई छ । भन्ने गरिएका दलित भित्रै पनि परियारलाई विश्वकर्माकै भित्र पस्न पाए, चुलोचौको छुन पाए, छोरीचेली बिहे गर्न पाए विभेद हट्छ भन्ने भ्रम छ । कतिपय साथीहरुलाई म सांसद भए म मन्त्री भए म जागिरे भए दुईचार पैसा कमाए मेरो मुक्ती भइहाल्यो भन्ने भ्रम छ । साच्ची भन्ने हो भने हामी भ्रमैभ्रममा छौ । यी सबै कुराहरु तपसिलका हुन् । मुख्य सवालहरु आर्थिक, राजनीतिक, सामाजिक र साँस्कृतिक हुन् । यी समस्याहरुको एकमुष्ठ समाधान खोज्नुपर्छ । संविधान, कानुनका दफाबाट दलित शब्द हटाउँदैमा, थर परिवर्तन गर्दैमा समस्याहरु हट्न सक्दैनन् ।

हाम्रो समाजमा रहेको जातिय विभेद र छुवाछुतको मूलजरो हिन्दु धर्म नै हो । हिन्दुधर्मकै गलत व्याख्या गरेर नै जातिप्रथा र विभेद कायम राखिएको छ । हिन्दुधर्मको कृति मनुस्मृतिले नै मानवलाई ब्रहमण, क्षेत्री, बैश्य, शुद्रमा विभाजन गरेको छ । करिब ६ सय वर्ष अगाडि जयस्थिती मल्लले कामको आधारमा जात विभाजन गर्ने कानुन बनाए । कालान्तरमा जात व्यवस्था जन्मको आधारमा कायम भयो र भैरहेकै छ । पढ्ने लेख्ने कामलाई सम्मानित काम मानियो तर शारीरिक बल प्रयोग हुने जटिल कामलाई अलि हेलाहोचो गरियो र यस्तो काम गर्नेहरु विभेदमा परे पारियो । यहि हिन्दु धर्मले नै पानी चल्ने र नचल्ने जात छुट्यायो । यसरी आउँदै गर्दा जात ब्यवस्था हिन्दु धर्मको संस्कृति भएको छ । कुनै दलित भनिनेलाई रहर थियो त आजिवन अछुत भएर बस्न ? रहर थियो होला त नपढी बस्न ? रहर थियो होला त आजिवन थिचोमिचो र हेला होचो सहन ? यी रहर कदापी थिएनन यी बाध्यता थिए । राज्यसत्ता र उसका आउरेबाउरेको मिलेमतोमा जबर्जस्ती थिचोमिचो गरेर राखिएको हो, दबाइएको हो, दलिएको हो । जातिजाती बिचमा आपसी फाटो पार्ने, एक आपसमा मिल्न नदिने काम तत्कालीन राज्यसत्ताले गरेको हो । समाजमा भनिने उच्च जात र भनिने निम्न जात बिच मात्र विभेद छैन । उच्च जात भनिने बिच पनि उपाध्याय र जैशी बिच खाडल छ । अझ भन्ने गरिएका दलित दलित बिच विभेद र छुवाछुत छ । यो सबै राज्य प्रणालीकै दोष हो । आपसमै सानो ठूलो बनाइदिएपछि त एकता हुँदैन र आफ्नो शासन कायम रहिरहने भो । यो फुटाउने र शासन गर्ने तरिका नै हो ।

मेरा केही अनुभव र उदाहरण उल्लेख गर्न चाहन्छु ।

१. म जन्मे हुर्केको ठाउँमा क्षेत्री, मगर र भन्ने गरिएका दलितको बस्ती छ । आजभोलि डेरीबाट दूध किन्ने चलन आयो पहिले–पहिले घरबाटनै किन्ने गर्दथे । तम्घास बजारमा बस्ने कर्मचारी र शिक्षकहरुलाई दूध पु¥याउन मेरा क्षेत्री मगर साथीहरू जान्थे । अरुबेला सँगै हिड्ने १०/१२ वर्षे उमेरका साथीहरु हातमा दूधको भाँडो समातेका बखत तर्किएर हिड्थे । किनभने उनीहरुलाई जन्मिएर अलिअली बुझ्ने हुनासाथ नै सानो ठूलो जात भनेर सिकाईएको थियो । हामी अहिले चेतनशिल रु भएका छौ कम्तिमा यो संस्कार सिकाउनु हुँदैन ।

२. अक्सर दलित समुदायको पाखोबारी उब्जाउ नहुने स्थानमा हुन्छ । तर अन्य समुदायको सम्म खाल परेको खेतीयोग्य जग्गा हुन्छ । रहरले दलित समुदाय भिरपखेराको छेउमा गएर बसेको हो रु कदापी हैन मैले हाम्रै उदाहरण दिन्छु । हाम्री आबैले भने अनुसार बाजेका पालामा हाम्रो बारी छेलोखेलो त्यो पनि उब्जाउ हुने महत्वपूर्ण स्थान थियो । तर २०२२/२४ तिर तम्घास आएको नापी टोलीलाई तम्घासकै शोषक वर्गले स्वार्थमा पारी बाजेलाई धम्काएर नै ती उब्जाउ हुने बारीको हकबाट बञ्चित गराइयो । यस्तो अवस्था देश भरिकै हो । राज्यका शासक र उसका मतियारले हजारौ हजार बिघा सार्वजनिक भूमी आफू अनुकुल बाडेर राखे । यसलाई यसरी बुझ्नुपर्छ कि उत्पादनको प्रमुख साधन भूमिबाट बञ्चित गराएर आर्थिक रुपमा परनिर्भर गराइयो । यो काममा राज्य संयन्त्रकै दुरुपयोग गरियो ।

३. गुल्मी जिल्लामा दलित मत उल्लेख्य रूपमा छ । गुल्मीका मुख्य दुई दल काँग्रेस र नेकपामा भन्ने गरिएका दलितका नेताहरु पनि छन् । मरिमेटेर खटेका छन्, लागेका छन् । तर गुल्मीबाट अझै ३५/४० वर्ष कुनै दलित नेता सांसदमा प्रत्यक्ष निर्वाचित हुने संभावना छैन किनकी उनीहरुले उम्मेदवारको टिकट नै पाउदैनन् । राजनीतिक सत्ताका सिटहरु केही व्यक्ति र समुदायको मौजासरी भएका छन् । गुल्मीमा दलितका त के कुरा जनजाती पनि प्रतिनिधिसभामा जान १५/२० वर्ष कुर्नुपर्छ । देशभरिका धेरै स्थानको अवस्था यही हो । अरुको लागि काध थाप्ने भरिया बन्ने । अब यो प्रक्रियालाई भङ्ग गर्नुपर्छ ।

४. मैले ४/५ कक्षा पढ्दासम्म स्थानीय विश्वकर्मा, नेपाली, परियार साथी धेरै थियौ । कक्षा बढ्दै १० मा पुग्दा त म एक्लो विश्वकर्मा थिए । उतिबेला सरोकार राखिएन अहिले सोच्छु यो हुनुमा गरिबी कारण थियो । १३/१४ वर्षे उमेरमै साथीहरूले स्कूल छोडेर लाहुर जानु, मजदुर हुनु रहर थिएन बाध्यता थियो । सबैतिरका साथीहरूलाई बुझ्दा अधिकांश स्थानमा परिमार्जित रूपमा हालत यहि हो ।

५. २०६९ मा मैले नायब सुब्बाको खुला समावेशी दुबैमा नाम निकाले । काठमाडौंको अन्तरवार्तामा परिचय पश्चात पहिलो प्रश्न कामी र सार्कीमा को ठूलो भन्ने थियो । अलिअली समाज, इतिहास, राजनीति पढेको मैले दिएको उत्तर थियोे यस्तो थियो ‘भन्न त कामीले म ठूलो सार्कीले म ठूलो कहाँ भन्छ किनकि यी दुबैलाई मै ठूलो हु भन्ने भ्रम तत्कालीन शासकले पारिदिएका छन् । यहाँ जातिजातिलाई एक आपसमा भिडाएर आफ्नो स्वार्थपूर्ती गर्न जात विभाजन गरिएको हो । यो विभाजन कामी सार्कीमा मात्र हैन बाहुन भित्र पनि उपाध्याय र जैशिबिच चर्को रूपमा छ । यथार्थमा सबै समान हो कोही तलमाथि छैनौ ।’

२०६९ मा मात्र यस्तो भयो कि खुला र समावेशीको परीक्षा १ हप्ताको अन्तरालमा अलगअलग समयमा भो र अन्तरवार्ता पनि अलगअलग भो । २०७० पछि यो अवस्था रहेन । काठमाडौ समावेशी पोखरा खुल्लाको अन्तरवार्ता दिएर सकियो । अनुपस्थित परीक्षार्थी कोही छैन तर खुल्लाको अन्तरवार्ता पूर्णरुपमा सकिएको १२ दिनसम्म नतिजा प्रकाशन गरेन । नतिजा प्रकाशन नगर्नु मुख्य कारण अपाङ्ग साथी र म थियौ । हामी दुबैले काठमाडौं समावेशी र पोखरा खुल्लामा निकालेका थियौ । लोकसेवाको कार्यालयले एउटै जवाफ दिन्थ्यो तपाईहरु दुई जनाको कारण नतिजा रोकिएको छ । पहिला उता कुर्नुस अनि बल्ल यता । काठमाडांैको नतिजा आएको १० मिनेट पछि पोखराले आउट गर्‍यो । हामी दुबैजना काठमाडौंबाट सिफारिस भैसकेका थियौ । हामी उताबाट सिफारिस हुँदा पोखराको खुल्लामा दुई जनालाई फाईदा पुग्यो । २०६९ सम्म लोकसेवाको अघोषित नीति समावेशी समूहका व्यक्तिलाई सकेसम्न खुल्लामा आउन नदिने थियो ।

६. जनयुद्वका पहिलो शहिद दलित, कालिकोटमा प्रहरीकै बन्दुक खोसेर माओवादीलाई दिने दलित महिला, रगत बगाउने शहिद हुने उल्लेख्य दलित छन् । दुई चार महिने मन्त्रीका कुरा नगरौ । पूरा ५ वर्ष टिक्ने सरकारमा पूर्ब माओवादीले १ जना दलित पनि पठाएन । बिना मगर र रामेश्वर राय बाहेक अरु मन्त्री यसभन्दा अघि कम्तीमा ३ पटक भएका छन् । युद्वमा त्याग बलिदान चाहियो फल खानेबेलामा जातिपाती र नाता हेरियो ।

मैले प्रस्तुत गरेका केही उदाहरण र बाबुरामको सम्बोधनले हामी माझ रहेको घाउ र सोंचलाई केहि रुपमा प्रकट गरेको छ । यी घाउलाई हामीले समयमै उपचार गर्नुपर्छ । दलित शब्द राख्नु, नराख्नु, थर फेर्नु नफेर्नु, आरक्षण राख्नु हटाउनु भन्दापनि मुख्य रुपमा आर्थिक, राजनीतिक, सांस्कृतिक र सामाजिक रुपान्तरणका मुद्दामा बहस केन्द्रित गर्नुपर्छ । आर्थिक रुपान्तरणका लागि उत्पादनको साधन भूमिमा पहुँच स्थापित गर्नुपर्छ । रोजगारको व्यवस्था गर्नुपर्छ । आर्थिक रुपान्तरणले गुणस्तरीय शिक्षा प्राप्तिमा टेवा दिन्छ । जब सबैले समान र गुणस्तरीय शिक्षा प्राप्त गरिसकेपछि सबैले बराबर प्रतिस्पर्धा गर्न सक्छन् । सबैले बराबर प्रतिस्पर्धा गरेपछि यो आरक्षण राखिरहन जरुरी छैन । राजनीतिक प्रशासनिक रुपान्तरणका लागि हाम्रा नीति निर्माता भनिनेहरु व्यहारबाटै उदार हुनुपर्छ । सामाजिक र साँस्कृतिक रुपान्तरणका लागि हाम्रा धर्मभिरुहरु, पण्डितहरु खुला हृदयले अगाडि आउनुपर्छ । उनीहरुले अब पनि उदारता नदेखाउने हो भने नेपालमा इसाइकरण अझ तिब्रगतिमा बढ्ने छ । यी सबै कार्य गरी समुन्नत र आपसी भाईचारायुक्त समाज निर्माणका लागि हामी सबैले खुला छलफल गर्नुपर्छ । आफ्ना सोंच र व्यवहारमा सकारात्मकता ल्याउनुपर्छ । राज्य सम्रक्षित विभेद भएकाले राज्यसत्ताको भूमिका महत्वपूर्ण हुन्छ । समस्या समाधानका लागि राज्यसत्ता, भन्ने गरिएका उच्च जाती, भन्ने गरिएका दलित, धार्मिक र सामाजिक नेतृत्वबिच सहकार्य हुनुपर्छ । यो विभेदको घाउलाई यथासक्य छिटो समाधानामा गम्भीर रुपले पहल गरिएन भने पीडकले भन्ने आतंकवाद र पीडितले भन्ने विद्रोह जन्मन ढिलो गर्दैन ।

प्रकाशित मिति: शनिबार, जेठ २४, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update