Shittalpati
स्ववियु निर्वाचन निर्धारित मितिमै होस्

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन आगामी चैत ५ गते गर्ने गरी प्रक्रिया अगाडि बढाएको छ । यसअघि त्रिविको शैक्षिक क्यालेन्डरमा स्ववियु निर्वाचन फागुन १५ गते गर्ने तोकिएको थियो । तर त्रिविले केही कानुनी जटिलताका कारण अघिल्लो कार्यकालमा भएको समयमा नै स्ववियु निर्वाचन गर्ने गरी मिति निर्धारण गरेको हो । मिति निर्धारण भए पनि केही विद्यार्थी संगठनहरुले भाँचो हाल्न थालेका छन् । उमेर हदको कारण यो वर्ष उम्मेदवार बन्न नपाएका र निर्वाचन भाँडेर स्ववियुमा लामो समयसम्म राज गर्न चाहेका केही सभापतिले निर्वाचन भाँड्न खोजेको पाइन्छ । यसले फेरी कतै स्ववियु निर्वाचिन तोकिएकै मितिमा नहुने हो कि भन्ने आशंका पनि विद्यार्थीहरुमा उत्पन्न गराएको छ । कार्यविधिमा उल्लेख भएको विषयलाई बखेडा झिकेर आफ्नै निर्वाचन भाँड्न खोज्नु गलत हो । चैत ४ गतेपछि कार्यकाल सकिने गरी निर्देशिका आएको छ । त्यसको विरोधमा तालाबन्दी गरेका सभापतिहरुले चैत ५ गते निर्वाचन हुन नसकेमा अर्को चुनाव नभएसम्मको लागि ६–६ महिनाको दरले कार्यकाल थपिनुपर्ने जिकिर गरेका छन् । तर यसले स्ववियु गरिमा माथि नै आँच आउने देखिन्छ ।

विद्यार्थीको शैक्षिक हक, अधिकार र अवसरका लागि संस्थागत रूपमा बोल्ने निकाय भनेको स्ववियु हो । विश्वविद्यालयले यसको आवश्यकतालाई आत्मसात गर्दै नियमसंगत रूपमा मान्यता प्रदान गरी एक विश्वासिलो सहयोगीका रूपमा अँगालेको छ । तर, पछिल्लो समय स्ववियु नै दलको राजनीति गर्ने थलो बन्दा यसको नकारात्मक असर उच्च शिक्षा दिने क्याम्पस र शिक्षा लिने विद्यार्थीमा परेको प्रत्यक्ष देखिन्छ । राणा शासन, पञ्चायती व्यवस्था, संवैधानिक राजतन्त्र हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा नेपालको विद्यार्थी आन्दोलनले महत्वपूर्ण भूमिका खेलेकोमा कसैको दुईमत छैन । तर तत्कालिन अवस्थामा स्ववियुको भूमिकाको जुन औचित्य थियो, अहिलेको अवस्थामा त्यो छैन । स्ववियुको विगतको गरिमालाई कायम राख्ने हो भने निर्धारित मितिमै निर्वाचन गराउनुपर्छ । यसलाई सबै विद्यार्थी संगठनले बुझ्न आवश्यक छ । यो विद्यार्थी संगठनको दायित्व पनि हो । निर्वाचन सार्ने विषय औचित्यहीन हुन्छ । तसर्थ त्रिविले निर्धारण गरेको मितिमै चुनाव गराउनु अहिलेको आवश्यकता हो ।

प्रकाशित मिति: आइतबार, फागुन १८, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update