Shittalpati
वन्यजन्तु दिवसको सार्थकता

मार्च–३ अर्थात् आज विश्व वन्यजन्तु दिवस । वन्यजन्तु सरंक्षण सम्बन्धी विभिन्न कार्यक्रम गरी नेपालसहित विश्वभर यो दिवस मनाउन लागिएको छ । संयुक्त राष्ट्रसंघको ६८ औँ महासभाले विश्वमा वन्यजन्तु संरक्षण र यसको महत्व दर्शाउने उद्देश्यले हरेक वर्षको मार्च ३ लाई विश्व वन्यजन्तु संरक्षण दिवसका रुपमा मनाउने निर्णय गरेको हो । सन् २०१३ देखि यो दिवस मनाउन थालिएको पाइन्छ । संसारैभर जनावर, प्राकृतिक सम्पदा र मान्छेको सभ्यताको परनिर्भरता झल्काउन यो दिवस मनाउने गरिएको हो । यो संसार सबै प्राणीको एक साझा घर हो भन्ने चेतना यो दिवसले फैलाउने गर्दछ । तर हरेक वर्ष वन्यजन्तुको चोरी सिकारी र तस्करी बढ्दो छ । वन्यजन्तु मारिने क्रम जारी छ । नेपाल पनि यस्तो अवस्थाबाट मुक्त छैन । पर्यावरण चक्रमा संसारका सबै प्राणीको आफ्नै विशिष्टतम महत्व छ । र, तिनको सुरक्षा गर्नु आजको आवश्यकता हो ।

जैविक विविधताकै आधारमा पृथ्वी र यहाँका हरेक प्राणी र वनस्पतिको अस्तित्व रहने हुँदा त्यसको संरक्षण गर्नु मानवको दायित्व हो । मानव जाति प्राणीमध्येको सर्वोच्च हुनुको अर्थले पनि अन्य प्राणीको संरक्षण गर्ने दायित्व मानव कै हो । मानव सामाजिक र बौद्धिक प्राणी पनि हो, त्यसैले विश्वमा रहेका सम्पूर्ण जंगली जनावर र रुखबिरुवाहरुको बारेमा सचेतना जागृत गराउँदै तिनको संरक्षण र सम्वद्र्धन गर्ने पहलकदमी गर्न हाम्रो भूमिका हुनु पर्दछ । प्रकृतिको अनुपम वरदान नै हुन् वन्यजन्तु । पारस्थितकीय सन्तुलन कायम राख्न यिनीहरुको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ । तर यतिबेला मानव र वन्यजन्तुकाबीच द्वन्द्व चलिरहेको छ । यो अत्यन्त दुखको कुरा हो । उनीहरुको वासस्थल प्रत्येक दिन अतिक्रमणको चपेटामा पर्दैछ । जति–जति वनजंगल अतिक्रमणमा पर्छ त्यति–त्यति वन्यजन्तुको अस्तित्व संकटमा पर्दै जान्छ । नङ र मासु सरहको वन र वन्यजन्तुको सम्बन्ध र यी दुबैसँग मानव जातिको अस्तित्व जोडिएकाले त्यसको संरक्षणमा जनतादेखि राज्यसम्म लाग्न आवश्यक छ । यसो गर्न सकियो भने मात्र हरेक वर्ष मनाइने विश्व वन्यजन्तु दिवसको सार्थकता रहन्छ ।

प्रकाशित मिति: सोमबार, फागुन १९, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update