
पदमराज न्यौपाने
गत हप्ता तानसेन नगरपालिकामा तानसेन बजारको स्वरुप, प्रकृति र माग अनुरुप सुहाउँदो कार्यक्रम सम्पन्न भयो । प्रारम्भमा तानसेन बजारको अत्यन्त महत्वपूर्ण टोलको रुपमा रहेको टक्सार टोलमा विद्यमान् ऐतिहासिक र सांस्कृतिक महत्वका सम्पदा एवं अधिकांश टोलवासीसँग रहेका अत्यन्त पुराना धातुका वस्तु तथा उनीहरुले मनाउने संस्कार, परम्परा लगायतको नियमित प्रदर्शनका लागि टक्सार महोत्सवको आयोजना गर्ने अवधारणाबाट प्रारम्भ भएको बजारका केही टोलहरुको सम्पदाका आँखाबाट हेर्न वास्तुकला अध्ययन गराइएको थियो । यस अध्ययनले भिमसेनटोल, नारायणटोल, मखनटोल, सिलखानटोल, भगवतीटोल, टक्सारटोल र बसन्तपुरटोल एवं दरवार परिसरलाई लक्षित गरिएको थियो । यो समय र अध्येताहरुको सख्याको सिमितताले सम्पूर्ण नपाका वडा वा अन्य विशेष क्षेत्रहरु समेट्न सकिएको थिएन । बाँकी रहेका क्षेत्र समेटेर नपाले अध्ययन गराउने अपेक्षा गरिएको छ ।
तानसेन नगरपालिकाको संस्थागत तथा नगरप्रमुखको व्यक्तिगत एवं तानसेन गुठी काठमाडौंको आर्थिक सहयोगमा यो अध्ययन सम्पन्न गरी अन्तिम प्रतिवेदन हस्तान्तरण भएको छ । यस कार्यमा काठमाडौं इञ्जिनियरिङ कलेज काठमाडौंका स्नातक तह अन्तिम सेमेष्टरका छ्यालिस जना विद्यार्थीको सहभागिता थियो भने अवधारणा निर्माण एवं उल्लेखित तीनै पक्षहरुको संयोजन गर्ने कार्य पाल्पा सरोकार केन्द्रद्धारा भएको थियो । प्रतिवेदन हस्तान्तरणका अवसरमा सम्वद्ध वडा १–६ का वडाअध्यक्षहरु, ती वडाका टोल विकास संस्थाका प्रतिनिधिहरु, पर्यटन सम्वद्ध संस्था तथा व्यक्तित्वहरु, संस्कृति सम्वद्ध संस्थाका प्रतिनिधिहरु, कलेज र क्लवका मुख्य व्यक्तिहरु, विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधिहरु, सञ्चार क्षेत्र सम्वद्ध संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, नागरिक समाज, नगरपालिकाका सल्लाहकार, तानसेन नगर प्रज्ञा प्रतिष्ठानका प्रतिनिधिहरु, सम्पद्धा संरक्षणमा चासो राख्ने युवाहरु, संघीय सांसद, प्रदेश सभा सदस्य, निजी क्षेत्र सम्वद्ध संघ संस्थाहरु, नपाका सम्वद्ध क्षेत्रका कर्मचारी तथा नगर प्रमुख र उपप्रमुख, तानसेन गुठी काठमाडौं र पाल्पा एवं पाल्पा सरोकार समाजका सदस्यहरु, केइसी कलेजका प्रतिनिधि लगायत झण्डै एक सय जनाको उपस्थिति रहेको थियो ।
प्रतिवेदनको अन्तिमरुप केइसी कलेजका विद्यार्थीहरुबाट भएको थियो भने त्यस प्रतिवेदनको प्राविधिक पक्षमा तानसेन गुठीका आ.राहुल बज्राचार्य, आ.सरिता मास्के र आ.देवेन्द्रनाथ गोंगलद्धारा आ–आफ्ना धारणा राखेका थिए । समारोहमा प्रतिवेदनलाई अब नगरपालिकाद्धारा सवै वडा समावेश गरी सम्पदा संरक्षण गुरुयोजना बनाउन, आवश्यक संरक्षण र व्यवस्थापनका लागि विभिन्न कार्यविधि निर्माण गर्न र सो सम्पन्न भए पश्चात लगानीका लागि सम्भाव्य क्षेत्रमा समन्वय गर्ने बारे चर्चा गरिएको थियो । प्रतिवेदनको सार छ, ‘तानसेन मध्यकालिन शहर संरचनामा बनेको र यहाँका ती संरचनाहरु तानसेन नगरको सम्पदा वा सम्पति भएकाले संरक्षण गर्दै व्यवस्थित उपयोग नीति बनाउन सके तानसेनको आर्थिक सामाजिक रुपान्तरण हुने छ । यहाँका पुराना घर संरचना र अन्य मूर्त अमूर्त सम्पदाका आफ्नै मौलिक विशेषता रहेको र यही विशेषताले तानसेनलाई समृद्ध एवं सवलताको आधार बनाएको छ ।’ हुन त प्रतिवेदनले सुझाएका पक्षहरु पूर्ण होइनन् तर कुन सम्पदालाई कसरी संरक्षण र सम्वद्र्धन गर्दा बहुउपयोगी बन्न सक्छन् र तानसेनको आकर्षण र आयलाई समेत मद्धत गर्न सक्छन् भन्ने पक्षबाट हेर्न सकिने बताएको छ । संरक्षणका लागि आवश्यक व्यवस्था र कदम अनि सम्पदाको स्वरुप र प्रकृतिको जीवन्तता एवं महत्वका पक्षबाट हेर्ने प्रयत्न प्रतिवेदनले गरेको देखिन्छ । तानसेनको वास्तुकलाका हिसावले अध्ययन गर्न गरिएको अनुरोधमा देखापरेको स्वस्फूर्त चासो र सहभागिताले एउटा सन्देश दिएको छ । त्यो हो तानसेनको रुप परिवर्तन गर्न र वास्तविक तानसेन पहिचानगरी कदम चाल्ने हरेक पहलमा संस्था मात्र होइन व्यक्तिहरु पनि सक्रिय सहभागिता जनाउने रहेछन् भन्ने उदारण स्थापित हुन सक्दो रहेछ । यो अध्ययनका लागि वित्तिय श्रोत व्यवस्थापनका लागि तानसेन गुठी समक्ष प्रस्ताव राख्दा संस्था भन्दा पहिले त्यस संस्थामा रहेका केही व्यक्तिहरु आफ्नो तर्फबाट नगद सहयोग गर्ने प्रस्ताव राखेको पक्ष अत्यन्त महत्वपूर्ण हो । यो प्रस्तावले तानसेन गुठीलाई आर्थिक भार कम पर्न गयो । यसैगरी तानसेन नगरपालिकाको समेत साझेदारीको अपेक्षामा नगर प्रमुखले आफू व्यक्तिगत सहयोग गर्न तयार भएको बाट नगरपालिकालाई पनि पर्ने आर्थिक भार कम पर्न गयो । सायद यो अभ्यास सार्वजनिक निजि साझेदारीको अभ्यासको परिभाषामा पर्न जान्छ । यसबाट प्रस्ट हुन्छ राम्रो कामको लागि गरिने प्रस्ताव स्विकार हुन्छ र त्यस्ता पहलमा साझेदारीको सम्भावना रहन्छ । चार लाखको हाराहारीमा खर्च गरिएर गरिएको यो प्राविधिक अध्ययन नगर प्रमुखको मूल्याकंनमा ५० लाख भन्दा बढीको भार बोकेको छ । यसैगरी बर्षौदेखि तानसेनको सम्पदा पहिचानमा तानसेन गुठीले हाल सम्म गरेको लगानी भन्दा यो सहभागिताले कैयौं गुणा प्रभावकारिता देखाएको गुठी सम्वद्धहरुको अभिव्यक्तिबाट बुझ्न सकिन्थ्यो । यो पनि सबैका लागि एउटा नविन उत्प्रेरक र रचनात्मक सन्देश दिने सकारात्मक उदाहरण हुन सक्छ ।
अध्ययनको अर्को सकारात्मक पक्ष के थियो भने यसले सहभागिहरुलाई तानसेनको भिजुअलाइज गराएको अनुभव गर्न सकिन्छ । किनकी सहभागीहरुद्धारा व्यक्त अभिव्यक्तिहरु थिए यो कार्यान्वयन गरियो भने तानसेनको रुप रंग नै फेरिनेछ । सायद यसै पक्षले निर्देश गरेका कारण हुन सक्छ यसलाई कार्यान्वयन पक्षमा यथाशक्य चाडौ लैजाऔं भन्ने चाहाना व्यक्त गर्न मनद्धारा निर्देश भएको थियो बुझ्न सकिन्छ । देखिने सम्पदा मात्र महत्वका हुँदैनन्, नदेखिने (अमूर्त वा अभौतिक) सम्पदाहरु झनै महत्वपूर्ण हुन्छन् । यस्ता सम्पदाको नाश हुने सम्भावना बढी हुनाले त्यस्ता सम्पदाको अभिलेखीकरण र प्रवद्र्धनको आवश्यकता झनै जरुरी देखिन्छन् भन्ने सन्देश समेत यस अध्ययनबाट प्राप्त भएको छ । यसर्थ सम्पदाको संरक्षण बारे छलफल गर्दा नागरिक समाजको संलग्नता जरुरी रहन्छ । समाज यसप्रति सचेत र संवेदनशिल भएन भने अभौतिक सम्पदाहरुको नास हुने क्रमले तिव्रता पाउने देखिन्छ । यसका लागि नागरिक समाजबाट स्वस्फूर्त संरक्षण अभियान चलाइनुपर्दछ भन्ने चर्चासमेत भयो । यस्तो चर्चालाई अर्को महत्वपूर्ण पक्षका रुपमा लिइएको छ ।
उल्लेखित सकारात्मक पक्षहरुले आफ्नो स्थान विशेषको विकासका लागि सर्वपक्षिय सहभागिता र सक्रियताको आवश्यकता रहन्छ । यस कार्यमा स्थानीय तह, नीजि क्षेत्र र नागरिक समाजद्धारा गहिरो मनन्सँगै निरन्तर सम्वाद अन्तक्र्रिया र कार्यक्रम एवं कार्यान्वयनका लागि कार्ययोजनाहरुको समिक्षा गर्न जरुरी देखिन्छ । तानसेन इतिहास, संस्कृति , सम्पदा र प्रकृतिको उत्कृष्ट सम्मिलन सहितको बरदान हो । यसको उचित र प्रभावकारी व्यवस्थापन र परिचालन या उपयोगले नै तानसेन मात्र होइन पाल्पाकै समृद्धिको ढोका खोल्नेछ । फराकिलो चिन्तन, दृढ इच्छाशक्ति र समन्वयात्मक सहभागितामूलक साझेदारीताको माध्यमबाट यो हासिल हुन सक्छ । यसका लागि तानसेन बनाउँछु वा बनाउछौं वा हामीलाई परिवर्तन चाहिएको छ र त्यो परिवर्तन हामी गर्न सक्छौं भन्ने संकल्प सहितको क्रियाशिलता जरुरी छ । अध्ययनबाट प्राप्त यो सन्देशलाई मनन गरीं अगाडि बढौं । तानसेनको भविष्य हाम्रै सोच र सक्रियतामा निर्भर छ । (लेखक पाल्पा सरोकार समाजका अध्यक्ष समेत हुन् ।)