
पाल्पा, नेपालमा दिनहुँ जसो दुखद् घटना हुने गरिहेका छन् । सवारी साधन दुर्घटना होस् वा प्राकृतिक प्रकोप, बेवारिसे अवस्थामै किन नहोस् हरेक दिन दुखद् घटनाहरु घटिरहेका हुन्छन् । प्रहरी प्रधान कार्यालयबाट सार्वजनिक गरिने बुलेटीनमा दिनहुँ दुखद् घटनाबाट मानिसले अकालमै ज्यान गुमाएको पाइन्छ ।
नागरिकले सवारी दुर्घटनाबाट बढी ज्यान गुमाउने गरेका छन् । दुर्घटना अचानक हुने घटना हो जसले गर्दा कसैले रोक्न सक्दैन तर सावधानीले कमी गराउन भने सकिन्छ । सचेतताका कारण लापरबाहीबाट हुने दुर्घटना हुँदैनन् वा कम हुन्छन् । मानिसको जीवनसँगको सवाल भएकाले यातायातका क्षेत्रमा उच्च सतर्कताको आवश्यकता छ तर हाम्रोमा भने लापरवाही हुने गरेको छ । जसले गर्दा दुर्घटना पटक–पटक दोहोरिने गरेका छन् । यातायात क्षेत्रमा कडाइ नगरिनाले पनि यस्तो हुने गरेको हो । आइतबार केन्द्रीय प्रहरी समाचार कक्षले सार्वजनिक गरेको बुलेटीनका अनुसार एकै दिन ५ जनाले सवारी दुर्घटना र डुवेर ज्यान गुमाएका छन् । देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनाबाट ३ जना र डुुवेर २ जनाको ज्यान गएको हो । रूपन्देहीको मायादेवी गाउँपालिका–७ बनगाईस्थित सडकमा मोटरसाइकललाई पिकअपले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । लु.३२ प ८७३१ नम्बरको मोटरसाइकललाई लु.१ ज ४४६२ नम्बरको पिकअपले ठक्कर दिँदा मोटरसाइकल चालक कोटहीमाई गाउँपालिका–७ परसहवा बस्ने ३० वर्षीय दिलिप कुमार नाउको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भीम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ । पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै कपिलवस्तुको विजयनगर गाउँपालिका–१ नेउलागंजस्थित सडकमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । नेउलागंजबाट गुगौलीतर्फ जाँदै गरेको लु.९ प ३७७० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक सोही गाउँपालिका–१ गोबराह बस्ने ४० वर्षीय जनम बहादुर चौधरीको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको आधारभुत स्वास्थ्य अस्पताल चन्द्रौटामा उपचारको क्रममा मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । यस्तै भक्तपुरको सुर्यविनायक नगरपालिका–८ जगाती पुल नजिकै सडकमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । जगातीबाट साँगातर्फ जाँदै गरेको बा.४१ प ३३४ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री भक्तपुर नगरपालिका–७ गोलमढी बस्ने ७० वर्षीया तुलसीमाया तुसीबाखको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएकी उनको सूर्यविनायक नगर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ । साथै मोटरसाइकलको ठक्करबाट घाइते भएका अन्य ३ जनाको मध्यपुर अस्पताल थिमीमा उपचार भइरहेको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै डुवेर दुई जनाको मृत्यु भएको छ । कपिलवस्तुको कृष्णनगर नगरपालिका–१ शिवानगरस्थित सार्वजनिक माछा पोखरीमा डुबेर २२ वर्षीय पुरूषको मृत्यु भएको छ । मृतक हाल नाम, थर खुल्न नसकेको जनाइएको छ । यस्तै धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वरस्थित घुरन पोखरीमा डुबेर सर्लाही ब्रहम्पुरी गाउँपालिका–२ घर भएका १७ वर्षीय शुभम कुमार साहको मृत्यु भएको छ ।