Shittalpati
स्ववियु निर्वाचनका लागि पाल्पाका ४ क्याम्पसमा संघ/संगठन  दर्ता

पाल्पा,आगामी चैत्र ५ गतेका लागि तोकिएको स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)को निर्वाचनका लागि  पाल्पाका ४ क्याम्पसमा संघ/संगठन दर्ता भएका छन् ।  विश्वविद्यालयको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले तय गरेको कार्यतालिका अनुसार  नै पाल्पाका क्याम्पसहरुमा संघ/संगठनहरू दर्ता भएका हुन् । 

 त्रिभुवन बहुमुखी क्याम्पस तानसेन पाल्पामा ५ वटा संघ संगठन र एउटा समुहले दर्ता गरेका छन् । यहाँ नेपाल विद्यार्थी संघ, अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन, अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन, (क्रान्तीकारी) अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (समाजवादी), अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन, (छैठौ) र विएसी स्वतन्त्र विद्यार्थी समुहले दर्ता गरेको क्याम्पस प्रमुख टंक प्रसाद पन्थले बताए । यहाँ २ हजारको संख्यामा मतदाता रहेका छन् ।  यसअघिको स्ववियु निर्वाचनमा सबै संघ संगठनको सयुक्त प्यान निर्वाचित भएको थियो । यसैगरी सहिद बहुमुखी क्याम्पस रामपुरमा ३ वटा संघ/संगठनले दर्ता गरेका छन् । नेपाल विद्यार्थी संघ, अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन, अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन, (क्रान्तीकारी)ले स्ववियु निर्वाचनको लागि दर्ता गरेको क्याम्पस प्रमुख मुरारीराज काफ्लेले बताए । यस अघिको स्ववियुको प्रत्यक्ष निर्वाचनमा सहिद बहुमुखी क्याम्पस रापुरमा नेविसघं र अखिल क्रान्तीकारी गठबन्धन विजयी भएको थियो । क्याम्पसमा करीव ७ सय मतदाता रहेका छन् ।

यसैगरी माण्डव्य बहुमुखी क्याम्पस दकमडामा २ वटा विद्यार्थी संघ/संगठनले निर्वाचनको लागि दर्ता गरेका छन् । यहाँ अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन र नेपाल विद्यार्थी संघले स्ववियु निर्वाचनको लागि दर्ता गरेको क्याम्पस प्रमुख रुद्र बस्यालले बताए । यस अघि प्रत्यक्ष निर्वाचनमा अनेरास्ववियुको प्यानल निर्वाचित भएको थियो । माण्डव्यमा २ सय मतदाता रहेका छन् । यसैगरी उद्वुद्ध कलेज पूर्वखोला पाल्पामा २ वटा संघ संगठनले स्ववियु निर्वाचनको लागि दर्ता गरेका छन् । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन र नेपाल विद्यार्थी संघले स्ववियु निर्वाचनको लागि दर्ता गरेको क्याम्पस प्रमुख हरि प्रसाद न्यौपानेले बताए । यस अघिको निर्वाचनमा अनेरास्ववियुको प्यानल नै निर्वाचित भएको थियो । क्याम्पसमा १ सय ५० जना मतदाता रहेका छन् । सोमबार विहान ११ बजे देखी दिउँसो ३ बजे सम्म स्ववियु निर्वाचनका लागि संघ संगठन र समुह दर्ता गर्ने समय निर्धारण गरिएको थियो । 

निर्वाचनको लागि त्रिभुवन विश्वविद्यालयले यही फागुन १९ गते संघ/संगठन , समुह दर्ता, २१ गते मतदाता सूची प्रकाशित गर्ने, २५ गते मतदाता सूची उपर दाबी विरोध गर्ने, २७ गते प्रत्यक्ष र समानुपातिक दुबै तर्फको नामावली प्रकाशित गर्ने, २९ गते दुबै तर्फको उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने र चैत्र ५ गते मतदान मिति तोकेको त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका स्ववियु निर्वाचन समितिका संयोजक जीवन थापाले बताए ।  निर्वाचन समितिले निर्वाचनका लागि फागुन २९ गते अपरान्ह २ बजेदेखि चैत्र २ गतेसम्म प्रचार–प्रसारका लागि समय तोकेको छ । त्यसपछि मौन अवधि शुरु हुने पनि समितिले जनाएको छ ।  चैत ५ गते बिहान ८ बजेदेखि ४ बजेसम्म मतदानका लागि समय तोकिएको छ ।

प्रकाशित मिति: सोमबार, फागुन १९, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update