Shittalpati
आगलागी प्रकोपको पीर

माघ महिनादेखि नै आगालागीका समाचारहरु आइरहेका छन् । जलवायु परिवर्तनका कारण अहिले नै ठूलठूला आगलागीका घटना भएका छन्, अझ हुरीबतास चल्ने याम शुरू हुन लागेकाले त्यति बेलाको अवस्था कस्तो होला अहिले नै  कल्पना गर्न सकिदैन । सुक्खा र खडेरीको याममा चरम बन्ने आगलागी र डढेलोको प्रकोप नेपालमा वर्षायाम सुरु नहुन्जेलसम्म चलिरहन्छ । अबका केही समय आगलागी अझ बढेर जाने अनुमान लगाउन सकिन्छ । किनकि सुख्खा मौसमसँगै हावाहुरीको सिजन बिस्तारै सुरू भएको छ । सुख्खा वातावरण र हावाहुरीको मौसम हुँदा आगलागी फैलन सहयोग पुग्छ । तसर्थ फागुन–चैत विशेषतः आगलागीको डर हुने महिना हो । वर्षा र मौसमको आधारमा आगलागीको जोखिम लम्बिने या छोटिने हुन्छ । गत वर्ष तुलनात्मक रुपले सुख्खा मौसमको अवधि धेरै चल्यो भने आगलागीबाट क्षति पनि धेरै भयो । विकसित प्रविधि र विकास निर्माणका कारणले आगलागीको जोखिम घटाउनुपर्ने हो । तर राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आगलागीबाट भइरहेको क्षति घट्न सकेको छैन । प्रतिकूल मौसम जस्ता प्राकृतिक कारण हुने आगलागीबाट कैयौंको ज्यान गएको छ, कति घाइते भएर जीवनभर दुःख पाएका छन् । सानो असावधानीले करोडौंको धनमाल नष्ट हुने गरेको छ । आगलागी प्रकोपबाट हुने यस्ता दुखद् घटनाले सधै आम नागरिकलाई पिरोल्ने गरेको छ । 

चेतना अभावका कारण आगोले वर्षेनी सयौं मानिसको ज्यान लिइरहेको छ । त्यति मात्र होइन, सार्वजनिक तथा नीजि भवन, लत्ताकपडा, बहुमूल्य धातुदेखि मानव निर्मित संरचनाहरुमा क्षति पुग्ने गरेको छ । क्षति पुगेका परिवारलाई सरकारले सामान्य राहत उपलब्ध गराउँदै आएको छ । तर राहत रकमले क्षतिपूर्ति हुन सक्दैन । त्यसैले आगलागी नियन्त्रणबारे पूर्वतयारीबारे उत्तम विकल्प हो । आगलागीको जोखिम कम गर्न सरकारी, निजी क्षेत्र तथा समुदायले अनवरत प्रयत्न गर्नु आवश्यक छ । राज्यले कानूनमा भएका व्यवस्थाको उचित कार्यान्वयन, अग्नि नियन्त्रण प्रविधिको उपलब्धता र जोखिमको हिस्सेदारी गर्न बिमा जस्ता उपाय अपनाउनुपर्छ । आम सर्वसाधरणले पनि आगालागी हुन नदिन बेलैमा ध्यान दिनुपर्छ । यसो भयो भने आगलागीका घटनाबाट जोगिन सकिन्छ । 

प्रकाशित मिति: मंगलबार, फागुन २०, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update