Shittalpati
माझी समुदायले आज लदी पर्व मनाउँदै

पाल्पा, माझी समुदायले आज आफ्नो मुख्य पर्व लदी (कोसी पूजा) मनाउँदै छन् । खोलालाई भगवानको रुपमा सामूहिक पूजा गर्दै माझी समुदायले यो पर्व मनाउन  लागेका हुन् ।

माझी समुदायले प्रत्येक वर्ष फागुन महिनाको तेस्रो मंगलबार विशेष पर्वको रुपमा लिएर लदी पर्व मनाउने गरेका छन् । यस वर्षको लदी पर्व फागुनको तेस्रो साता मंगलबार आज परेको हो । माझी समुदायको मुख्य पेशा नदीमा डुङ्गा तार्ने, माछा मार्ने रहदैँ आएको छ । नदीमा माछा मार्दा र डुङ्गा तार्दा नबगाओस् भन्ने हेतुले वर्षेनी उनीहरुले लदी पर्वको दिन विशेष पूजाआजा गर्दै आएका छन् । माझी समुदायले आजको दिन खोलाको संगममा खोलालाई बोका, कुखुरा र परेवाको बली समेत दिने गरेका छन् । माझी समुदायको मुख्य पेसा माछा मार्ने, डुंगा (नाउ) मा मानिसलाई नदी तार्नु हो । सडक निर्माणसँगै नदीहरूमा पुल निर्माण भएपछि ती काम बन्द भएपछि  धेरै ठाउँमा लदी पूजा पनि बन्द भएको छ । देशमा सबैभन्दा बढी माझी समुदायको बसोबास रामेछापमा रहेको छ । रामेछाप पछि मकवानपुर र सिन्धुलीमा माझी समुदायको बाक्लो बसोबास रहेको छ । पाल्पामा तानसेनको छेर्लुङ्ग, बगनासकालीको दर्पुकमा पनि माझी समुदायको बसोवास रहेको छ । त्यहाँ पनि  यो पर्व मनाउने गरिन्छ । नदीमा माछा मार्दा र डुंगा तार्दा मानवीय क्षति नहोस् भन्ने कामनासहित बर्सेनी लदी पर्वको दिन विशेष पूजाआजा गर्ने चलन रहेको  छेर्लु·का मोमबहादुर माझीले बताए । वर्षातको समयमा नदीले बर्सेनी विभिन्न ठाउँमा मानवीय, भौतिक र आर्थिक क्षति पुर्‍याइरहेको छ । त्यस्ता किसिमका कुनै पनि मानवीय, भौतिक र आर्थिक क्षति नहोस् भनेर नदीको पूजा गरिन्छ ।  नदीको किनारमा ढुंगाको देवता, सिमली र बाँसको थान बनाएर नाउ, माछा मार्ने जाल, माछा हाल्ने फुरुंगोलाई पूजा गर्ने चलन छ । माझी समुदायले मुख्य पर्वका रूपमा मनाउने यस पूजाको संरक्षण आवश्यक भएको माझी समुदायका अगुवाहरु बताउँछन् । उनीहरुले लदी पर्वलाई राष्ट्रिय पर्वका रूपमा मनाएर सरकारी तवरबाट संरक्षणको पहल हुनुपर्नेमा जोड दिने गरेका छन् ।  

प्रकाशित मिति: मंगलबार, फागुन २०, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update