Shittalpati
मुलुकमा आशाको सञ्चार भएको देउवाको दाबी

भैरहवा, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा आशाको सञ्चार भएको दावी गरेका छन् । पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा सोमबारदेखि भैरहवामा सुरु भएको प्रतिनिधिसभा क्षेत्रीय सभापति तथा क्षेत्रीय प्रशिक्षण शाखा प्रमुखहरुको प्रशिक्षण तथा अभिमुखीकरणलाई सम्बोधन गर्दै उनले दुई ठूला पार्टी मिलेर सरकार गठन भइसकेपछि मुलुकमा आशा सञ्चार भएको दावी गरेका हुन् । 

वर्तमान सरकार जनतामा आशा र भरोसा जगाउने काममा केन्द्रित भएको  सभापति देउवाको भनाई छ । वर्तमान गठबन्धन बनेपछि जनतामा आशाको सञ्चार गराएको निष्कर्ष निकाल्दै जनसरोकारको विषयमा अझ बढी केन्द्रित भएर अघि बढ्न उनले सरकारलाई सुझाव समेत दिए । गठबन्धनको वर्तमान सरकार एकताबद्ध भई अगाडि बढिरहेको पनि सभापति देउवाले बताए । प्रधानमन्त्री केपी शर्मा ओली र आफूबीच सरकार सञ्चालन विषयमा सम्झौता भए पनि दुई तिहाइको सरकार बने पनि पूर्णरुपमा बहुमत नपुगेको उनको भनाइ थियो । उनले गठबन्धनको सरकारलाई सबैले एकताबद्ध रुपमा सहयोग गर्नुपर्ने आवश्यकता औँलयाए । देउवाले सरकारमा अन्य पार्टीहरु पनि समावेश रहेको उल्लेख गर्दै प्रजातन्त्रमा प्रतिस्पर्धी पार्टी पनि आवश्यक रहेको बताए । कार्यक्रममा देशैभरिका प्रतिनिधिसभाअन्तर्गतका एक सय ३० जना सहभागी छन् । साथै सोही संख्यामा क्षेत्रीय सभापति, क्षेत्रीय प्रशिक्षण शाखा प्रमुखहरु तथा एउटा मात्र निर्वाचन क्षेत्र रहेका ३५ जिल्लाबाट प्रदेशसभाअन्तर्गतका क्षेत्रीय सभापति ७० जना गरी जम्मा तीन सय ३० जनाको सहभागिता रहेको छ ।

प्रकाशित मिति: मंगलबार, फागुन २०, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update