
गुल्मी, (श्रृंगा) जिल्लाको छत्रकोट गाउँपालिका– ४ मा रहेको श्रृंगा माविमा धेरै बर्ष देखिको परीक्षा केन्द्रलाई यो बर्षदेखि हटाउँने निर्णय भएपछि स्थानीय अभिभावकहरु आक्रोशित भएका छन् । गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेयले आफ्नो अनुकुलताको व्यवस्थापन समिति नबने पछि त्यसको प्रतिशोध साँधेर उनकै निर्देशनमा बर्षोदेखि चली आएको एसईईको परीक्षा केन्द्र यो बर्षदेखि सो स्कुलमा स्थगन गरेको सूचना पछि स्थानीय अभिभावक आन्दोलित भएका हुन ।
विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा अध्यक्ष अनुकुलको नतिजा नआएको झोकमा परीक्षा केन्द्र नै कटौती गर्ने काम गलत भएको स्थानीय वासिन्दा योगराज कंडेलले आरोप लगाए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र कंडेलले पनि पटक–पटक अनुरोध गर्दा पनि राजनैतिक प्रतिशोधका आधारमा केन्द्र नै कटौति गर्ने निर्णय आफुहरुका लागि स्वीकार्य नभएको बताएका छन् । यो निर्णय तत्काल सच्चिएन भने यहाँका अभिभावक तथा शिक्षा प्रेमीहरु जस्तो सुकै आन्दोलन पनि गर्न तयार रहेको उनको भनाई छ ।
केन्द्र कटौति गरेको विरोध र केन्द्र यथावत कायम गर्ने मागसहित स्थानीय वासिन्दाहरुले सघंर्ष समिति बनाएर आन्दोलन गर्ने भएका छन् । स्थानीय अभिभावक भेषराज कंडेलको संयोजकत्वमा १ सय १ जनाको संघर्ष समिति बनाइएको छ । गाउँपालिकाका अध्यक्ष राम प्रसाद पाण्डेले भने विद्यार्थी सख्यामा कमी आएका कारण केन्द्र सार्नु परेको बताए । उनले भने ‘केन्द्र सार्ने विषय स्वयं सोही विद्यालयका प्रधानाध्यापक र यस क्षेत्रका सबै विद्यालयहरुको सहमतिका आधारमा गरिएको हो ।’
यस विद्यालयमा २०४५ सालदेखि एसईईको केन्द्र रहँदै आएको थियो । तर गत माघ १८ गते बसेको गाउँ शिक्षा समितिको बैठकले अब केन्द्र नरहने निर्णय गरेको हो । पालिकाको निर्णयअनुसार अब वडा नम्बर ३ हर्दिनेटामा मैनडाँडा मावि र सरस्वती मावि गरी दुईवटा केन्द्र रहने छन् ।