
बुटवल, रुपन्देहीमा कार र मोटरसाईकल ठोक्किदा एक विद्यार्थीको मृत्यु भएको छ । तिलोत्तमा –१ नयाँमिल चोकमा कार र मोटरसाईकल एक आपसमा ठोक्किदा गुल्मीको रुरु गाउँपालिका–३ घर भई हाल बुटवल बस्दै आएका १९ वर्षका रोशन परियारको मृत्यु भएको हो ।
बिहीबार बिहान मणिग्रामस्थित शान्ति नमुना माध्यमिक विद्यालयमा पढ्न जाँदै गर्दा उनी सवार लु५६प १९६१ नम्बरको मोटरसाइकल मुख्य हाइवेको पश्चिम लेनबाट पूर्वतर्फ बाटो काट्दै गरेको बा२०च १७५४ नम्बरको कारसँग ठक्कर खाएको थियो ।
घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । मृतक परियार मणिग्रामस्थित शान्ति नमूना माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिए । उनको निधन भएपछि विद्यालयले बिहीबार एक दिनका लागि शोकबिदा दिएको छ । कार तथा कार चालकलाई नियन्त्रणमा लिएर छानविन अगाडि बढाइएको प्रहरीले जनाएको छ ।