-1741324233.jpg)
पाल्पा, जिल्लाको रिब्दीकोट गाउँपालिका– १ र २ को सिमानामा पर्ने संसारकोट डाँडामा फैलिएको डढेलोले चार सामुदायिक वनमा क्षति पुर्याएको छ । मंगलबार दिउँसोदेखि लागेको डढेलोले देउरालीको लेक सामुदायिक वन, भारेखोला सामुदायिक वन, मधुवन सामुदायिक वन र वृन्दावन सामुदायिक वनमा क्षति पुर्याएको हो ।
जहाँ विहीबारसम्म एक सय ७५ हेक्टर क्षेत्रफल सखाप भएको डिभिजन वन कार्यालयका सूचना अधिकारी तथा वरिष्ठ वन अधिकृत खिलबहादुर तामाङले एनजेडीलाई जानकारी दिए । डढेलोले ख्याहाको गैरीगाउ र देउरालीको डम्वक, लघुवा गाउँ जोखिममा रहेका थिए । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय, जनप्रतिनिधि र वन कार्यालयका कर्मचारीहरुको निरन्तर प्रयासपछि उक्त गाउँ नजिकैको डढेलो निभाउन सफल भए । वन अधिकृत तामाङका अनुसार वस्ती नजिकैको डढेलो निभाएर बस्ती जोखिममुक्त रहेको छ । भौगोलिक हिसावले अत्यन्त कठिन, भिरालो, वनमा पातपति·र धेरै भएको र हावा हुरी चलेकाले जंगलमा लागेको डढेलो निभाउन समय लागेको उनले बताए । उक्त क्षेत्रमा डढेलो निभाउन दमकल, ट्याङकर समेत पुर्याइएको छ ।
जंगलमा लागेको डढेलो निभाउन मंगलबारदेखि निरन्तर प्रयास गरे पनि भौगोलिक कठिनाइका कारण पूर्णरुपमा निभाउन नसकिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए । त्यहाँ अहिले सम्म कुनै पनि मानविय क्षति भने नभएको उनले बताए । विहीबार साँझासम्म पनि डढेलो पूर्णरुपमा निभाउन नसकिएको वन कार्यालयले जनाएको छ । डढेलो बिजुली ट्रान्सफर्मर सट भएर लागेको थियो ।
डढेलोले यस क्षेत्रका जंगलमा रहेका वयस्क र पुराना रुखहरु मारेको छ । जसले वन क्षेत्र उजाड बनेको छ । अहिले रुख बिरुवाले पालुवा फेर्न र झारेका पुराना पात सुकेकाले पनि वनमा लाग्ने डढेलोले आगो चाँडै फैलने गर्छ । यसपालि हिउँदे वर्षा नभएको हुँदा डढेलो झन् फैलिएको स्थानीय बताउँछन् । हिउँदे वर्षाले रुख, बिरुवाले झारेका पातपति·र भिजाउँदा आगो ढिलो फैलने विगत अनुभव सम्झँदै वन क्षेत्र नजिकका बासिन्दा यसपालि हिउँदे वर्षा नहुँदा फागुन महिनामै डढेलोले विकराल रूप लिएको बताउँछन् । रिब्दीकोटका जंगलमा विगतका वर्षाहरुमा पनि डढेलोले सताउने गर्दथ्यो । यस वर्ष पनि यहाँ सुरुमै डढेलो लागेको हो ।