
पाल्पा, सशक्तिकरण विकास नेपाल तानसेन पाल्पाले युवाहरुलाई लक्षित गरेर तीन दिने उद्घोषण तथा डिजिटल मार्केटिङ तालिम सञ्चालन गरेको छ । तालिममा युवाहरुमा आत्मविश्वास बढाउन, नेतृत्वको विकास गर्न, आफ्ना कुराहरु निर्धक्क भएर अर्काे पक्षलाई सुनाउन व्यबहारिक अभ्यासदेखी सैद्धान्तिक ज्ञान प्रदान गरिएको आयोजक पक्षले जनाएको छ ।
उद्घोषण तालिममा तानसेन नगरपालिकाका १४ वटै वडाबाट दुई/दुई जना युवाहरुको सहभागिता रहेको थियो । नगरका १४ वटै वडामा युवा अभियान बढाउन, युवालाई हरेक गतिविधीमा सक्रिय बनाउन, युवामा बोल्ने बानीको विकास गर्न, उद्घोषण तालिम केन्द्रित रहेको संस्थाकी अध्यक्ष एञ्जिना खनालले बताईन । तीन दिने तालिममा प्रशिक्षक कला दाहाल, शंकर भण्डारी र सुरेश परियारले सहजीकरण गरेका थिए ।
यसैगरी संस्थाले युवाहरुलाई आइटी क्षेत्रमा दक्ष र क्षमतावान बनाउन तीन दिने डिजिटल मार्केटिङ्ख तालिम सञ्चालन गरेको छ । त्रिभुवन बहुमुखी क्याम्पसमा एमविएस अध्ययनरत विद्यार्थी र पाल्पा क्याम्पस ( जेभिटी) मा विविएसमा अध्ययनरत विद्यार्थीहरुले तालिम लिएका छन् । तालिम निकै प्रभावकारी भएको सहभागी विद्यार्थीहरुले बताएका छन् । व्यक्तिगत जीवन तथा रोजगारीको लागि पनि तालिम प्रभावकारी रहेको विधद्यार्थीहरुले बताए । तालिमको टुना टेक्नोलोजीका प्रमुख राजीव गौतम र म्यानेजर सरोज पन्थीले सहजीकरण गरेका थिए । तालिममा सामाजिक विकास डिभिजन कार्यालय पाल्पाले आर्थिक सहयोग गरेको थियो ।
तालिमको समापन कार्यक्रममा तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठ, सामाजिक विकास डिभिजन कार्यालय पाल्पाका प्रमुख मित्र प्रसाद गौतम र पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराई लगायतले अहिले जसले आफ्ना कुराहरु स्पष्ट राख्छ त्यसको भविष्य राम्रो हुने बताए । कार्यक्रममा अतिथीहरुले डिजिटल ज्ञान भएकाले नै राम्रोसंग जीवन विताउन सक्ने भएकाले दुबै उद्देश्य निकै प्रभावकारी भएको र तालिममा सिकेका कुराहरुलाई व्यवहारमा लागु गरेमा जीवन परिवर्तन गर्न सकिनेमा जोड दिए । शसक्तिकरण विकास नेपाल तानसेनकी अध्यक्ष एन्जिना खनालको अध्यक्षता, प्रशिक्षक कला दाहालको सञ्चालनमा समापन कार्यक्रम भएको थियो ।