Shittalpati
पाल्पामा डढेलो सचेतनाका लागि रेडियो संवाद

पाल्पा, पछिल्ला केही दिन यता जिल्लाका विभिन्न ठाउँहरुमा डढेलोका घटनाहरु बढ्दै गएका छन् । बढ्दो घटनाहरुलाई रोक्न जिल्ला प्रशासन कार्यालय र डिभिजन वन कार्यालयले सक्रियता देखाएका छन् । उनीहरुले समुदायस्तरमा डढेलो लाग्न नदिने, लागेमा अपनाउनुपर्ने उपाय लगायतका विषयमा पत्रकार महासङ्घ पाल्पाको सहजीकरणमा रेडियो संवाद कार्यक्रममार्फत सचेतनामूलक जानकारी गराएका छन् ।

जिल्लामा सञ्चालित रेडियोहरुमा संवाद कार्यक्रममार्फत प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले लामो समयदेखि पानी नपरेर सुक्खा मौसम बढेसँगै हावाहुरी चल्न सुरु भएकाले डढेलोका घटनाहरु बढ्दै गएको भन्दै त्यसतर्फ सतर्क रहन जिल्लावासीहरुलाई आग्रह गरेका छन् । उनले भने ‘मानिस आफै सचेत भए डढेलोका घटनाहरु कम गर्न सकिन्छ, त्यसैले जथाभावी आगो बाल्ने नगरौं, सलाई लाइटर जस्ता प्रज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौं ।’ डढेलो लाग्न नदिऊ र लागि हाले क्षति हुनबाट जोगिन आमनागरिकलाई प्रमुख जिल्ला अधिकारी सुवेदीले भने । उनले जिल्लामा हुने आगालागीका घटनाहरुबाट क्षति हुन नदिन सुरक्षाकर्मी, दमकल तयारी अवस्थामा राखिएको समेत बताए । प्रजिअ सुवेदीले जंगलमा आगो लगाउनेहरुलाई कानुनी कारवाही हुने भएकाले पनि त्यसतर्फ सचेत हुनुपर्नेमा जोड दिए । नागरिकको लापरवाहीकै कारण डढेलोका घटनाहरु हुने भएकाले समुदायस्तरबाटै सचेतना आवश्यक रहेको उनको भनाई छ । 

डिभिजन वन कार्यालयका प्रमुख नारायणदेव भट्टराईले वन, घर र बाटो वरिपरी सुकेका पातपतिङ्गर, दाउरा नराख्न, सुख्खा समयमा आगो नलगाउन नागरिकलाई आग्रह गरे । उनले हिउँदमा पानी नपरेकाले आगलागी हुने जोखिम बढ्ने सम्भावना रहेको भन्दै आगो लगाउनै परे सुरक्षित तरिकाले लगाउनुपर्ने बताए । प्रमुख भट्टराईले भने ‘ सुकेका फोहोर, डाढ, ढोडहरु जलाउनै परेमा जङ्गल र घर भन्दा टाढा सुरक्षित स्थानमा लगेर विहानको समयमा मात्र जलगाउनु होला, जसले गर्दा आगोको फिलिङ्गो फैलन नपाओस् ।’

चुरोट, विडी खाँदा समेत जथाभावी ठुटाहरु नफाल्न पनि उनले आग्रह गरे । भट्टराईले यदि कसैले जथाभावी रुपमा डढेलो लगाए वन ऐन अनुसार कारवाही हुने समेत बताए । जानी नजानी आगो लगाउनेहरुलाई कम्तीमा ६० हजार जरिवाना र ३ वर्षसम्म कैद सजाय हुने भएकाले कानुनको भागिदार नहुन सबैलाई उनले आग्रह गरे । डढेलोका घटनाहरु रोक्नका लागि जिल्लाका ७ सय १० वटै सामुदायिक वनमार्फत सचेतनाका कार्यक्रमहरु गर्दै आएको पनि डिभिजन प्रमुख भट्टराईले बताए ।

१० स्थानीय तहका ८१ वडामध्ये ३९ वटा वन डढेलोको उच्च जोखिममा रहेका छन् । जिल्लाका ९६ प्रतिशत वनमा डढेलो मानवीय कारणले लाग्ने गरेको छ । ६४ प्रतिशत जानेर र ३२ प्रतिशत हेलचेक्र्याँइका कारण लाग्ने गरेको पाइन्छ । २६ वडा मध्यम र १६ वडा न्यून जोखिममा रहेको कार्यालय प्रमुख भट्टराईले बताए । डढेलोबाट हुने वातावरणीय तथा जनधनको क्षति न्यूनीकरण गर्नका लागि अभियान सञ्चालन गरिएको उनको भनाई छ । यहाँ बस्तीनजिक रहेका जलनशील पदार्थ पातपतिङ्गर हटाउने, अग्निरेखा कोर्ने, घरनजिक राखिएका स्याउला हटाउने, जनचेतनामूलक सामग्री वितरण गर्ने र सुकेका पातपति·रको व्यवस्थान गर्नुपर्नेमा जोड दिइएको छ । गतवर्ष जिल्लाका विभिन्न स्थानमा डढेलो लाग्दा मानवीय क्षति समेत भएको थियो । चेतना जगाउँदै गर्दा पनि चुरे, महाभारत शिवालिक साथै राष्ट्रिय बनमा डढेलोले सताउने गरेको छ । चुरोटका ठुटा जथाभावी फाल्दा, वनभोज गएकाले आगो ननिभाई छाडिदिँदा डढेलो लाग्ने गरेको छ ।

प्रकाशित मिति: शनिबार, फागुन २४, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update