Shittalpati
रङहरुको पर्व होली सुरु, पाल्पामा यस वर्ष पनि गाडिएन चीर

पाल्पा, रङहरुको पर्व फागु अर्थात् होली शुक्रबारदेखि विधिवत रुपमा सुरु भएको छ । काठमाडौंको वसन्तपुरमा चीर ठड्याएसँगै देशैभर होली सुरु भएको हो । आपसी सद्भावका साथ एक सातासम्म यो पर्व मनाउने चलन छ । काठमाडौंको वसन्तपुरस्थित हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ तीनतले चीर ठड्याएपछि देशभर फागु (होली) पर्व शुरु भएको मान्ने गरिन्छ । शुक्रबार बिहान ८ः३३ बजेको शुभ साईतमा मानन्धर समुदायले रङ्गीचङ्गी ध्वजासहितको चीर ठड्याएर र एकअर्कालाई अबिर दलेर होली पर्व शुरु भएको जनाउ दिएका हुन् । योसँगै देशका मुख्य मुख्य सहरहरुमा समेत रङ्गीचङ्गी कपडा झुन्ड्याएर होली शुरु भएको जनाउ दिने गरिन्छ ।

पाल्पामा यस वर्ष पनि गाडिएन चीर

पाल्पामा पनि चीर ठड्याउने विगतमा थियो । जिल्लाको तानसेनस्थित टक्सारटोलमा २०७१ सम्म निरन्तर चीर ठड्याउँदै आए पनि अहिले त्यसले निरन्तरता पाउन सकेको छैन् । यहाँ परापूर्वकालदेखि नेवार समुदायले चीर ठडाएर फागु पूर्णिमाको पूजा गरी होलीको सुरुवात गर्ने परम्परा रहिआएको थियो । गणेश मन्दिरको मूलद्वार अगाडि रंगीचंगी धजाले सिंगारिएको चीर ठडाएपछि होली पर्व सुरु भएको मान्ने गरिन्थ्यो । तर पछिल्ला वर्षहरुमा भने आर्थिक अभाव र नयाँ पुस्ताले चासो नदिदा यो परम्परा विस्तारै हराउँदै गएको छ । दुई वर्ष अघि ८ वर्षपछि टक्सारटोलमा तानसेन भजन संरक्षण समिति र देउराली सांस्कृतिक अध्ययन प्रतिष्ठानको सक्रियतामा जसो तसो चीर ठड्याइएको थियो । तर गत वर्षदेखि भने त्यसले निरन्तरता पाउन सकेनन् ।

परम्परागत संस्कृति हराउँदै जान थालेकोमा निकै चिन्ता थपेको देउराली सांस्कृतिक अध्ययन प्रतिष्ठान पाल्पाका अध्यक्ष मदन देउराली बताउन्छन् । उनले भने, ‘पुरानो पुस्ता सकिदै जानु र नयाँ पुस्ताले परम्परागत संस्कृति संरक्षण गर्न नसक्नुले निकै चिन्तित छौँ ।’ तानसेनमा नेवारहरुको बस्ती बसेदेखि नै होलीको अवसरमा चीर गाड्ने परम्परा रही आएको हो । पहिले–पहिले तानसेनको शित्तलपाटी, भिमसेनटोल, बसन्तपुर, टक्सारटोल लगायतका स्थानहरुमा चीर ठड्याइने गरे पनि आर्थिक अभाव र पुराना पुस्ताहरुको मृत्यु पछि विस्तारै हराउँदै गएको देउरालीले बताए । उजका अनुसार चीर गाड्ने काम पहिला अन्य टोलहरुमा भएता पनि पछि यो केवल टक्सारटोलमा मात्र सिमित भएको हो । ‘चीर ठडाउन, भजन गाउँन र होली खेल्नका लागि आर्थिक स्रोत चाहिन्छ, त्यो स्रोत कहि कतैबाट आउँदैन, व्यक्ति आफैले खर्च गरेर कति दिन गर्ने ? पुराना पुस्ता शारिरीक रुपले अशक्त हुँदै गए, नयाँ पुस्तामा कुनै चासो छैन्, कसरी संरक्षण गर्ने ?’ अध्यक्ष देउरालीले भने । चीर ठडाउन सक्रियता देखाउने व्यक्तिहरु मदन देउराली, मंगलप्रसाद बज्राचार्य लगायतका व्यक्तिहरु शारिरीक रुपमा अशक्त हुँदै गएका कारण पनि तानसेनमा चीर ठड्उने परम्पराले निरन्तरता पाउन सकेको छैन । होली पर्व असत्यमाथि सत्यको जितको रुपमा मनाउने गरिन्छ । चीर ठड्याइसकेपछि विधिवत रुपमा होली शुरु हुन्छ । लिंगको प्रतीकको रूपमा काठलाई र द्रौपतीको योनिको प्रतीकका रूपमा कपडाको प्वालमा जोडाएर होली सुरु भएको संकेत गर्ने गरिन्छ । यसलाई नेवारीमा चीर स्वाँयगु भनिन्छ । काठ लिंग आकृतिको हुन्छ भने रातो कपडाको योनिको आकृति बनाइएको हुन्छ । पर्व परम्पराअनुसार फागुन शुक्ल अष्टमीदेखि पूर्णिमासम्म मनाउने चलन छ । परम्पराअनुसार धुमधामसँग एकाआपसमा रंग, अबिर छ्यापी होली खेलेर वसन्तऋतुको स्वागत गर्ने चलन रहेको संस्कृतिविद्हरू बताउँछन् । पछिल्लो समय भने पूर्णिमाको दिन मात्रै होली मनाउने गरिन्छ ।

होली पूर्णिमाको भोलिपल्टदेखि वसन्तऋतु लाग्दछ । यसैले वसन्तऋतुको आगमनसँगै मनाइने यस पर्वलाई मदनोत्सव भन्ने पनि गरिन्छ । पौराणिक कथनअनुसार दानवराज हिरण्य कश्यपुले विष्णुका भक्त आफ्नै छोरा प्रह्लादलाई मार्न आफ्नी बहिनी होलिकाको काखमा बसाली आगो लगाइदिएका थिए । तर आगोले विष्णुका भक्त प्रह्लादलाई छोएन । बरु होलिका नै भस्म भइन् । यसरी होलिका रूपी पापवृत्ति जलेर भस्म भएको सम्झनामा प्रत्येक वर्ष फाल्गुण शुक्लपूर्णिमाको रातमा होलिकाको प्रतीक चीरदाह गर्ने परम्परा रहेको विश्वास गरिन्छ । यस वर्षको होली पर्वको मुख्य दिन फागुन २९ र १ गते परेको छ । २९ गते हिमाली तथा पहाडी जिल्लामा र १ गते तराई जिल्लामा होलीको सार्वजनिक बिदा दिइएको छ ।

प्रकाशित मिति: शनिबार, फागुन २४, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update