Shittalpati
सर्वदलीय स्ववियु बनाउन लागि परेका छौं  : पूर्व स्ववियु सभापति भट्टराई

त्रिभुवन विश्वविद्यालयले देशभरी आङ्गिक क्याम्पसहरुमा आउँदो चैत्र ५ गतेका लागि स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन घोषणा गरेको छ । निर्वाचन तालिका अनुसार देशभरीका क्याम्पसहरुमा विद्यार्थी संघ/संगठनले आ–आफ्ना गतिविधिहरु अगाडि बढाएका छन् । त्रिभुवन बहुमुखी क्याम्पस पाल्पामा पनि स्ववियु निर्वाचनको लागि विद्यार्थी संघ/संगठनले निर्वाचन केन्द्रीत गतिविधि बढाएका छन् । सबैजसो संघ संगठनले आ–आफ्नो निर्वाचन परिचालन समिति गठन गरेका छन् । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले स्ववियुको लामो अनुभव बटुलेका पूूर्व स्ववियु सभापति तथा नेविसंघका पूर्व केन्द्रीय सदस्य हरिबोल भट्टराईलाई निर्वाचन परिचालन समितिको संयोजक तोकेको छ । उनले २०७९ मा भएको त्रिभुवन बहुमुखी क्याम्पसको स्ववियु  निर्वाचनमा सबै संघ/संगठनको सहभागितामा सर्वदलीय स्ववियु गठन गरेर देशमै नमुना स्ववियु बनाउन सफल भएका थिए । उनै भट्टराईसँग स्ववियु निर्वाचन केन्द्रित रहेर  शित्तलपाटी डटकमले गरेको कुराकानीको सम्पादित अंश ।

–तपाईलाई नै नेपाली काँग्रेसले नेविसंघ निर्वाचन परिचालन समितिको संयोजक किन बनाएको होला ?

मैले त्रिभुवन बहुमुखी क्याम्पसको सबै कुरा बुझेको छु । १२ बर्षसम्म  क्याम्पसमा स्ववियु सभापति भएर काम गरे । त्यो भन्दा अगाडि स्ववियु कोषाध्यक्ष  र सदस्य भएर १६ बर्षसम्म त्रिभुवन बहुमुखी क्याम्पसमा मेरो योगदान रहेको छ । नेविसंघ क्याम्पस इकाई सभापति पनि भएर काम गरे । दिएको जिम्मेवारी राम्रोसँग पुरा गर्ने  भएर नै होला  पार्टीले संयोजकको जिम्मेवारी दिएको होला।

–त्रिभुवन बहुमुखी क्याम्पस पाल्पामा निर्वाचनको माहोल कस्तो छ ?

अहिले पहिले–पहिले जस्तो क्याम्पसहरुमा चुनावी माहोल देखिदैन ।  विद्यार्थीहरुमा पनि राजनीतिमा चासो कम हुदैँ गएको छ । अर्काेतर्फ व्यवस्थित रुपमा निर्वाचन प्रक्रियाहरु सुधार हुदैँ गएका छन । तडक भडक होहल्ला देखिदैन । क्याम्पसमा ५ विद्यार्थी  संघ÷संगठन र एउटा समुहले स्ववियु निर्वाचनको लागि दर्ता गरेका छन् । निर्वाचन माहोल दिन प्रतिदिन बढ्दै गएको छ ।

–क्याम्पसहरुमा किन स्ववियुको आवश्यक छ ?

क्याम्पस भनेको विद्यार्थीहरुले अध्ययन गर्ने स्थान हो । क्याम्पस प्रशासन र विश्वविद्यालयले जे भन्यो त्यही एकतर्फी रुपमा लागु गर्न खोज्दछ । अर्काेतर्फ विद्यार्थीको हकहित अधिकार, सेवा सुविधा तथा आवाजलाई सम्बोधन गर्न स्ववियु आवश्यक छ । क्याम्पस र स्ववियुको सहकार्यबाट नै क्याम्पसलाई राम्रो बनाउन सकिन्छ । स्ववियुमार्फत सम्पुर्ण विद्यार्थीको हकहित अधिकार प्राप्तिको लागि काम गर्न सकिन्छ । स्ववियु सबै क्याम्पसहरुमा बनाउन आवश्यक छ ।

–पाल्पाका सबै क्याम्पसहरुमा स्ववियु त छैन नि, के स्ववियु नभएका क्याम्पसका विद्यार्थी  हकअधिकारबाट बञ्चित छन् त ?

निकै राम्रो प्रश्न गर्नुभयो । हो पाल्पाका ४ वटा क्याम्पसमा मात्र स्ववियु गठन छ । हामीले जिल्लामा रहेका सबै विद्यार्थीहरुको छलफलबाट पाल्पामा रहेका सबै क्याम्पसहरुमा स्ववियु गठन गर्ने काममा विगतमा नेविसंघको नेतृत्वमा एक पटक छलफल भएको थियो तर निरन्तरता भएन । आगामी दिनमा सर्वपक्षिय छलफलबाट सबै क्याम्पसमा स्ववियु गठन गर्न पहल गर्न सकिने छ । पक्कै पनि स्ववियु गठन नभएका क्याम्पसहरुमा विद्यार्थीहरुको हक अधिकार सेवा सुविधा सुनिश्चित भएको छैन् । क्याम्पस प्रशासनले जे भन्यो त्यही मान्नु पर्ने अवस्था छ । त्यहा सहजीकरण गर्ने, हकअधिकारको बारेमा बोल्ने आधिकारिक संस्था नहुँदा विद्यार्थीहरु मर्कामा परेका छन् ।

–विद्यार्थी संगठनबिच एकल प्रतिष्प्रर्धा हुन्छ की अघिल्लो निर्वाचन झै सर्वदलीय स्ववियु गठन हुन्छ ?

क्याम्पसमा एकल प्रतिष्प्रर्धा गर्ने विद्यार्थी संघ/संगठनले पाएको अधिकार हो । सबै विद्यार्थी संघ संगठनको चाहाना विद्यार्थी हकहितकै लागि काम गर्ने हो । क्याम्पसलाई राम्रो बनाउने हो । वास्तवमा भन्ने हो भने गत निर्वाचनमा त्रिभुवन बहुमुखी क्याम्पसमा हामीले गरेको अभ्यास सर्वदलीय स्ववियु गठनको प्रभाव निकै राम्रो परेको छ । निर्वाचन भएपछि कुनै दिन पनि असमझदारी बनेन । गएको स्ववियु  निर्वाचन मेरो प्रत्यक्ष सहभागितामा  नेविसंघको तर्फबाट कृष्ण अर्यालको नेतृत्वमा ७ वटा पक्षलाई सहभागी गराएर  सर्वदलीय स्ववियु गठन गरेका थियौं । उनको नेतृत्वले कुनै पनि विवाद नआउने गरी  विद्यार्थी तथा क्याम्पसहितको लागि राम्रो काम गर्‍यो । यस पटक पनि सबैलाई स्विकार्य, दर्ता भएका संघ संगठनको  सहमति र सहकार्यबाटै सबैको सहभागितामूलक सर्वदलीय नेतृत्व चयनको लागि छलफल शुरु गरेका छौं । जिम्मेवारी पाएका संघ/संगठनका प्रमुखहरुसँग औपचारिक अनौपचारिक रुपमा छलफल तथा कुराकानी भइरहेको छ ।

–के अहिले पनि सर्वदलीय स्ववियुको सम्भावना छ ?

क्याम्पस र विद्यार्थी हकहितको लागि सर्वदलीय स्ववियु नै उपयुक्त मोडल हो ।

–सत्ता गठनबन्धन जस्तै यहाँ पनि नेविसंघ र अनेरास्ववियुबिच गठनबन्धन हुने हो की ?

सत्ता गठनले पाल्पा त्रिभुवन बहुमुखी क्याम्पसलाई कुनै प्रभाव पार्दैन । यस्ता कुरा माथिबाट जवरजस्ती गर्न पनि हुदैँन । क्याम्पसको अवस्था अनुसार स्वतन्त्र निर्णय गर्नु पर्दछ । हामीले टियु तानसेनको अवस्था अनुसार काम गर्ने छौँ । सबैलाई सहभागी गराएर नमुना स्ववियु निर्वाचन गराउन मेरो प्राथमिकता रहने छ ।

–सर्वदलीय उम्मेदवारी कहिले टुङ्गो लागाउनु हुन्छ ?

निर्वाचनको लागि उम्मेदवारी मनोनयन दर्ता भन्दा पहिले नै  फागुन २६ गते भित्र कुन संगठनले कुन –कुन पद लिने  भन्ने विषयमा टुङ्गो लगाउछौं । फागुन २७ गते सबै संघ संगठनले संयुक्त रुपमा सर्वदलीय स्ववियु निर्वाचनको लागि उम्मेदवारी मनोनयन दर्ता गर्दछौं ।

–नेविसंघले स्ववियु सभापति नपाए पनि सर्वदलीय सहमति कायम हुन्छ ?

नेविसंघले पद लिनका लागि मात्र उम्मेदवारी दिने होइन । विगतमा गरेका कामको समिक्षा, नेतृत्वमा आईसकेपछी क्याम्पसमै रहेर गरेको योगदानको मूूल्याङ्कन गर्नुपर्दछ ।  म २० बर्षदेखी नै तानसेनमा बसेर विद्यार्थी हकहितको लागि काम गर्दै आएको छु । स्ववियुमा म पछिको नेतृत्व गरेका कृष्ण अर्यालले पनि २ बर्ष दायाँ बायाँ नलागी स्ववियुको काम गरे । त्यकारण पनि नेविसंघले स्ववियुको  नेतृत्व गर्नुपर्दछ र  सबैलाई सहभागी गराएर नेविसंघले लैजान सक्छ ।

–नव निर्वाचित स्ववियुले क्याम्पसमा गर्नुपर्ने मुख्य काम के–के छन् ?

पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पसमा अहिले विज्ञान संकायमा विएसी, व्यवस्थापन संकायमा विविए, विविएम मात्र छ । अबको नेतृत्वले एम एसी, एम विए ल्याउन पहल गर्नु पर्दछ । पाल्पामा पढ्ने वातावरण भएकाले नयाँ–नयाँ विषयहरु, रोजगारीमुलक विषयहरु ल्याएर टियु तानसेनमा चहल–पहल पढाउनु पर्दछ र देशकै नमुना क्याम्पसको रुपमा विकास गर्नु पर्दछ ।

–क्याम्पसमा सबै विद्यार्थीहरुले मतदान गर्ने व्यवस्था छ ?

त्रिभुवन विश्वविद्यालयले तोकेको समयमा भर्ना भएका विद्यार्थीहरुले मात्र स्ववियु निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गरेको छ । निर्वाचनमा उम्मेदवार हुने विद्यार्थीको लागि २८ बर्षे उमेरहद कायम गरेको छ । क्याम्पसमा २ हजार ५ सय ७० जना विद्यार्थी रहे पनि १ हजार ८ सय ९४ जना विद्यार्थी मात्र मतदाता नामावलीमा समावेश भएका छन् । बाँकी रहेका अन्य विद्यार्थीहरुको लागि के कसरी मतदान प्रक्रियामा सहभागी गराउन सकिन्छ भन्ने विषयमा क्याम्पस प्रशासनसँग छलफल भईरहेको छ ।

–अन्त्यमा के भन्नु हुन्छ ?

गुणस्तरीय शिक्षाका लागि समाजका प्रत्येक निकाय उत्तिकै सक्रिय र जागरुक हुनुपर्छ । यही उद्देश्यमा टेवा पुर्‍याउन विद्यार्थीबीचबाट स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को परिकल्पना भएको हो । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनले राजनीतिमा नयाँ बहस सिर्जना गरेको छ । शैक्षिक आन्दोलनमा स्ववियुको निकै ठूलो र अग्रगामी भूमिका छ । विश्वविद्यालय वा क्याम्पसमा विद्यार्थीकै माझबाट चुनिएको व्यक्ति स्ववियु सभापति, पदाधिकारी र सदस्य बन्दछ । र, उनीहरूले विद्यार्थीकै माझमा रहेर शिक्षाको गुणस्तर अभिवृद्धि तथा विद्यार्थीका हकहितका लागि काम गर्छ । विद्यार्थी आन्दोलन, स्ववियु स्थापना र यसको ऐतिहासिक पक्षलाई नजरअन्दाज गर्दा इतिहासमाथि धोका हुन्छ । किनकि, नेपालको राजनीतिक परिवर्तनमा विद्यार्थी आन्दोलनको ठूलो भूमिका छ । ३० वर्षे पञ्चायती कालरात्रिमा यिनै विद्यार्थी संगठनले राजनीति जोगाएका थिए । तसर्थ सबै विद्यार्थी संघ/संगठन मिलेर  स्ववियु निर्वाचनमा सहभागी बनौं , सर्वदलीय स्ववियु निर्माण गरौं । धन्यवाद !

प्रकाशित मिति: शनिबार, फागुन २४, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update