Shittalpati
मोहन कन्यामा मनाइयो  महिला दिवस

पाल्पा, जिल्लाको तानसेनस्थित मोहन कन्या माध्यमिक विद्यालयले ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस मनाएको छ । अभिमुखीकरण कार्यक्रमको आयोजना गरी दिवस मनाइएको हो ।

 कार्यक्रममा दिवसको सान्दर्भिकताका बारेमा चर्चा गरिएको थियो । विद्यालय प्रांगणमा आयोजित कार्यक्रममा विद्यालयका शिक्षक गोपाल प्रसाद वश्यालले“अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको परिचय र सान्दर्भिकता” विषयक अवधारणा—पत्र प्रस्तुत गर्दै चर्चा गरेका थिथए । उनले महिलाहरूले प्राप्त गरेका सामाजिक, आर्थिक, साँस्कृतिक, र राजनीतिक उपलब्धिहरूको पहिचान र सम्मान गर्न लैंगिक विभेद, लैंगिक असमानता, महिलाविरुद्धका हिंसा र महिला अधिकारका मुद्दाहरूको समाधानका लागि कार्य गर्न, श्रमिक महिलाहरूको अग्रसरतामा मनाउन थालिएका कारण यसलाई श्रमिक महिला दिवस भन्ने गरिएको बताए । संयुक्त राष्ट्र संघले १९७५ देखि मात्र अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउन सुरू ग¥यो । सहजकर्ता बश्यालले नारी दिवसको महत्वबारे प्रकाश पार्दै यस दिनमा लैंगिक समानताका पक्षमा भएका प्रगतिहरूको समीक्षा गर्ने, थप छलफल, सुझाव र सुधारका प्रयास गर्ने, महिलाहरूको सामाजिक, आर्थिक, र राजनीतिक प्रगतिको सम्मान, र लैंगिक समानताका लागि पैरवी गर्नका लागि अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको महत्व एवम् सान्दर्भिकता रहेको उल्लेख गरे ।

 साथै महिला अधिकारको पैरवी गर्नुका साथै लैंगिक दरार, प्रजनन् अधिकार, महिला हिंसा तथा यातना विरुद्धका मुद्दाहरूप्रति सबैको ध्यान जानुपर्नेमा उनले जोड दिए । यसैगरी प्रस्तोता बश्यालले विश्व मानव अधिकार घोषणा पत्र, नेपालको संविधान र कानूनहरूमा भएका ब्यवस्थाअनुसार महिलाको अवस्था, नेपालमा नारी अधिकारका लागि योगकुमारी न्यौपाने लगायतको योगदान, नेपालका साहसिक एवम् सफल महिलाहरूबाट लिनुपर्ने पाठ, महिला सशक्तिकरणका लागि राज्य तथा संस्थागत प्रयासका साथै स्वयम् महिलाहरूको बौद्धिक विकास, मनोबल र लगनशीलता पनि आवश्यक पर्ने बताए । उनले महिलाहरूको सशक्तिकरण, सबलीकरण र सहभागिता सुनिश्चिताका लागि, विकास कार्यमा साझेदारीका लागि, महिला हिंसा विरुद्ध सचेतनाका लागि र स्वयम् जागृत हुनका लागि कार्य गर्न आह्वान गरे । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दिपक ज्ञवालीले नारी चेतना र सशक्तिकरणका लागि मोहन कन्या विद्यालय स्थापना गरिएको इतिहास सम्झिँदै नेपालका महिलाहरूको सामाजिक, राजनीतिक, सेवा क्षेत्रमा रहेको योगदानको चर्चा गरे । उनले आफ्नो सशक्तिकरण र समाज सेवाका लागि विद्यार्थीहरूलाई उत्प्रेरित गरे । प्रधानाध्यापक ज्ञवालीको अध्यक्षता, शिक्षक होम बहादुर खड्काको सञ्चालन कार्यक्रम भएको थियो ।

    

प्रकाशित मिति: शनिबार, फागुन २४, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update