
गुल्मी, गुल्मीको चन्द्रकोट गाउँपालिका –५ ग्वाघाका ५१ वर्षीय रामबहादुर थापा दुबई गएको तीन महिना भयो । घर परिवारलाई सुःखका साथ राख्ने सपना बोकेर विदेशीएका उनी अहिले एक महिनादेखि विरामी छन् । फोक्सोमा समस्या देखिएपछि थापाले न, राम्रोसँग उपचार गराउन पाएका छन् नत स्वदेश नै फर्कन । पिकअप भ्यान चलाएर गुजारा नचले पछि विदेशिएका थापा अहिले अस्पतालकै बेडबाटै बचाइदिन सबैसँग गुहार मागेका छन् । उनले भनेका छन् ‘ म स्वदेश फर्कन चाहन्छु, यहाँ राम्रोसँग उपचार पनि पाएको छैन, कम्पनीलाई पटक–पटक भने वास्तै गर्दैन ।’ थापाले नेपाल सरकारलाई समेत स्वदेश फर्काइदिन आग्रह गरेका छन् । उनले भनेका छन् ‘ म नेपाल आउन चाहन्छु, विन्ति छ सरकार स्वदेश फर्काइदेऊ ।’
कमाउन दुबई छिरेका श्रीमान थला परेको खबरले यता रामबहादुरकी ४५ बर्षकी श्रीमती ओमकुमारी थापा र ६९ बर्षीया आमाको दिन÷रात रोएरै वितेको छ । उनीहरु आफै विरामी हुने अवस्थामा पुगेका छन् । थापाका २५ बर्षीय छोरा आशिष साउदीमा काम गर्छन् । उनी विरामी बुवालाई घर फर्काउँनका लागि मेनपावरसँग दैनिक अनुनय गरि रहेका छन् । ग्वाघा घरमा रामबहादुर कि १९ बर्षकी छोरी लीला थापा पनि चिन्तामा छन् ।
रामबहादुर काम गर्दा गर्दै एकाएक विरामी परेपछि जाँच गराउँदा फोक्सोमा पानी जमेको देखियो । ‘कम्पनीले उपचारमा सहयोग नगरेपछि उनी नेपाल फर्कन चहान्थे तर फर्कन दिइएको छैन् ।आफुलाई दुबई पठाउँने एसओएस मेनपावरका हरि शाहीसँग पटक–पटक अनुरोध गरे सुनवाई भएन’ थापाले रुदै भने ।
चन्द्रकोट गाउँपालिकाका अध्यक्ष युवराज केसी, उपाध्यक्ष विष्णु भण्डारी, वडाअध्यक्ष कल्याण कार्की लगायतले रामबहादुरलाई देश फर्काउँन लागि परेका छन् । सबैको सहयोगमा उनलाई सकुशल देश फर्काउँनका लागि विभिन्न निकायसँग अनुरोध गरिएको वडाअध्यक्ष कार्कीले बताए । मेनपावरका प्रतिनिधी हरी शाहीले भने उनको उपचार राम्रो अस्पतालमा शुरु गरेको बताउँछन् । उनी भन्छन ‘ थापाको उपचार भइरहेको छ ,हामी उहाँलाई देश फर्काउने काममा लागि रहेका छौ ।’