Shittalpati
डढेलो नियन्त्रणका लागि तयारी गर

विपद् बाजा बजाएर आउँदैन, तर धेरै विपद्ले आउन लागेको संकेत दिइरहेकै हुन्छन् । अहिले यस्तै संकेत दिइरहेको विपद् हो– डढेलो । विगतका दृष्टान्तबाट पनि डढेलो कुन समयमा लाग्छ र कहाँ कहाँ बढी प्रभाव पार्छ भन्ने अनुमान गर्न सहज भएको छ । नेपालमा हरेक वर्ष मध्य फागुनदेखि मध्य वैशाखसम्म डढेलो लाग्छ । त्यसमा पनि चैत १५ को आसपास यसको जोखिम ७४ प्रतिशत र मध्य वैशाखमा ५१ प्रतिशतसम्मले बढ्छ । खासगरी सुकेका पतिङ्गर बढी रहेको, सुक्खा क्षेत्रमा बढी डढेलो लाग्छ । हिउँदमा रूखबाट पात झर्ने र पतिङ्गर जम्मा हुने भएकाले त्यस लगत्तैको समयमा डढेलोको जोखिम बढी हुने गरेको हो । यतिका संकेत पाउँदापाउँदै हामीकहाँ प्रतिकार्यको कमजोर तयारीले गर्दा हरेक वर्ष डढेलोले जनधनको क्षति गरिरहेकै छ ।

पछिल्ला वर्षहरूमा त झन, जलवायु परिवर्तनसँगै तापक्रममा भएको वृद्धिका कारण लामो समयसम्म खडेरी पर्दा सानो झिल्कोले पनि डढेलोको रूप लिने खतरा बढी छ । जङ्गलमा आगो लाग्ने/लगाउने अनेकन कारण छन् । कतिपय क्षेत्रमा घाँस बाक्लो पलाउँछ भनेर समुदायले नै वनमा डढेलो लगाउने परम्परा छ । कहिलेकाहीँ चट्याङले समेत आगो लाग्ने गरे पनि यसका मुख्य कारक भने मानवीय गतिविधि नै हुन् । डढेलो जसरी लागे पनि, यसको मारमा भने त्यहाँका चराचुरुङ्गी, जीवजन्तु र जैविक विविधतादेखि वरिपरिका मानव बस्तीसम्म पर्छन् । बस्तीमा आगलागी आगोसँगको खेलाँची तथा असावधानीका कारण मात्र होइन, विद्युतीय सञ्जालमा आउने गडबडीका कारण पनि हुन्छ । यसको न्यूनीकरणका लागि आगलागीसम्बन्धी सचेतना आवश्यक छ । जनमानसमा चेतना भएर मात्रै पुग्दैन, उनीहरू यसप्रति संवदेनशील पनि बन्नुपर्छ । जङ्गलमा लाग्ने डढेलोका हकमा भने स्थानीय समुदाय नै बढी जागरुक हुनुपर्छ । सकेसम्म आगो लाग्नै नदिनेतर्फ जोड दिइनुपर्छ । अहिले पाल्पासहित देशका अधिकांस जिल्लाहरुमा डढेलो लागिरहेको छ । तर त्यहाँ अहिलेसम्म प्रभावकारी तयारी थालिएको पाइँदैन । डढेलोबाट बर्सेनि क्षति भइरहँदा पनि सरकारले यसको नियन्त्रणमा खटिने गरी छुट्टै युनिट तयार नगर्नु ठूलो कमजोरी हो । अर्कातिर, सरोकारवाला निकायहरू उत्तरदायी देखिंदैनन् । हरेक वर्ष मनसुनजन्य विपद्को प्रतिकार्य योजना बन्छ, तर डढेलो प्राथमिकतामै पर्दैन । डढेलो व्यवस्थापनप्रति तीनै तहकार सरकार कतिसम्म उदासीन छन् भने अहिलेसम्म यसको नियन्त्रणका लागि कति रकम आवश्यक पर्छ भन्ने यकीन समेत गरेका छैन । जसले गर्दा हरेक वर्ष डढेलोका कारण ठूलो मानविय तथा भौतिक क्षति हुने गरेको छ । यसर्थ अब डढेलो नियन्त्रणका लागि अलग्गै संरचना र जनशक्ति तयार गर्नेतिर ध्यान दिन जरुरी छ ।

प्रकाशित मिति: आइतबार, फागुन २५, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update