
उत्कृष्ट जनताको शासन व्यवस्था मानिने गणतान्त्रिक साशन व्यवस्था अभ्यासको करीब दुई दशक अवधि बेथित हुँदै गर्दा मौलाउँदै गरेको राजनीतिक हस्तक्षेप र राजनीतिकरणका कारण राज्य सञ्चालनको आधार विधि की विकृत्त राजनीति भन्ने बहस पनि हुन थालेको छ । यहि कारण उत्कृष्ट मानिएका ऐन नियम, कानुन, संविधान सबै फिका फिका हुँदै गएको अनुभुति हुन् थालेको छ । अनुसाशन, आर्दश र नैतिकता खोज्न नेपाली शब्द कोष नै पल्टाउनु पर्ने देखिन्छ । बेथिति र ऐन, नियम मिचाँईका स्वेच्छाचारी श्रृखला दैनिक चलिरहेको देखिन्छ । देश विकास, समृद्धि र जनतालाई सुखी र खुशी राख्ने कुरा चर्का भाषणमा नै सिमित रहेको देखिन्छ । लुईस चौधौले जस्तो ‘म नै राज्य हुँ ।’ जस्तै सत्ता समालेका राजनीतिक दलका नेतृत्वहरु देखिने गर्दछन् । सत्तामा हुँदा र सत्ता बाहिर हुँदा बोलीने बोलीमा ठूलो अन्तर देखिन्छ । आफैले बनाएको ऐन नियम, संविधानको पालन नगरी परिवर्तनको बहस चलिरहेकै देखिन्छ । उल्लेखित विविध पक्षलाई हेर्दा राज्य सञ्चालनको आधार विधि की राजनीतिक नेतृत्वको आदेश वा स्वेच्छाचारी व्यवहार यसैसँग सम्बन्धित विविध पक्षलाई लिएर यहाँ चर्चा परिचर्चा गर्ने प्रयास गरिएको छ ।
विधिको साशनलाई कानुनी साशन पनि भनिन्छ । यसको खास लक्ष्य हो कानुनी राज्यको स्थापना गर्नु । जहाँ सबै नागरिक समान हुन्छन्, कुनै किसिमको विभेद रहँदैन् र आर्दश देशको स्थापना हुन्छ । यस साशन व्यवस्थामा कानुन सर्वोच्च हुने गर्दछ । ठूलालाई ऐन र सानालाई चैन भन्ने उखान सुन्नु पर्दैन् । राज्यका अंग र सवैधानिक निकायहरु शक्ति पृथकीकरणको सिद्धान्तद्वारा सञ्चालित हुने गर्दछन् ।
राजनीति राज्यको नीति हो । यसले राज्य व्यवस्था सञ्चालनको आधार तयार गर्दछ । आवश्यक मार्ग दर्शन पनि गर्दछ । यसैले साशन व्यवस्था सञ्चालनमा जनताको छोरोलाई सर्वोच्च स्थानमा पुर्याउने गर्दछ । प्रजातान्त्रिक र लोकतान्त्रिक आधार पनि यसैले तयार गर्दछ । यसबाट निरुकुंश र तानशाह पद्धतीको अन्त्य गर्दै जनताको भावना र आकाक्षा अनुसार देश सञ्चालनको आधार तयार गर्दछ । देश सञ्चालनको सबै भन्दा भरपर्देा स्रोतको रुपमा राजनीति पर्ने गर्दछ ।
विधिको साशन र राजनीति एक सिक्काका दुई पाटा जस्तै हुन् । विधिको साशनको अभ्यास गर्ने र यसलाई स्थापित गर्ने पनि राजनीति नै हो । यी दुई लाई राज्य सञ्चालनमा फरक–फरक पाटाबाट हेर्नु पनि उपयुक्त हुँदैन् । तर नेपालको साशन व्यवस्था सञ्चालनमा पछिल्लो समय राजनीतिलाई विकृत्त बनाउँदै लगेको कारण सुशासन र विधिको साशान स्थापित गर्न नसकिएको कुरामा दुईमत नरहला । विश्वका विकसित देशका उदाहरण दिइरहन्छौ ती देश विकसित हुनुको एउटै कारण विधिको अभ्यास हो भन्ने कुरामा बेखवर जस्तै छौं । आफैले बनाएको संविधान, ऐन नियम र कानुन पालना गर्न नसकि परिवर्तनको श्रृखला सञ्चालन गर्नू नेपालको पछिल्लो समय देखिएको स्वेच्छाचारी प्रवृत्ती विधिको साशन स्थापित गर्न नसक्नुको सबै भन्दा खराब पक्ष हो । राजनीतिक हस्तक्षेप ,ढाकछोप र भागबण्डा जस्ता पक्षले विधिको साशन स्थापित गर्ने पक्षमा समस्या सिर्जना गरिदिएको छ ।
विधिको साशनको अभ्यास र राजनीति विकृत्त बन्नुका पक्षहरु :
विधिको साशनमार्फत कानुनी राज्य स्थापना गर्न नसक्नु र राज्य सञ्चालनको आधार राजनीतिलाई विकृत्त र अलोकप्रिय बनाउन खोज्नुका केहि पक्षहरुमा पछिल्लो समय विकास हुँदै गएका घटनाक्रमले देखाउने गर्दछ । यस्तो प्रवृत्तिको विकासमा नयाँ पुराना राजनीतिक दलहरु अछुतो देखिदैनन् । सत्ताबाट बाहिर बस्न नै नसक्ने अवस्थामा पुगेको देखिन्छ ।
यसका केहि पक्षहरुमा : दलहरु सत्ता प्राप्ती र सत्ताबाट बाहिर जान नपर्ने खेलमा लागि रहेको देखिन्छ भने सत्ता पनि हरेक दलका मूख्य नेतृत्वले कुनै न कुनै भष्ट्राचार र बेथितिको कार्यमा संलग्न हुनु र कारवाही, छानबीन हुने, राजनीति समाप्त हुने, जेल जानु पर्ने डर र त्रास यसको एक कारण हो । यसका साथै यस्तै कार्यमा संलग्न भएका आफ्ना नजिकका आसेपासेलाई बचाउनका लागि गरिने सरकार र शक्तिको दुरुपयोग विधिको साशन स्थापित गर्न नसक्नुको कारण बनेको छ । यसका साथै चुनाव परिणामलाई आफ्नो पक्षमा पार्नका लागि गरिने सत्ता र शक्तिको दुरुपयोग, करोडौ रकमको लेनदेन पनि कारण बनेको देखिन्छ । एउटै उद्देश्य जनताको दैनिकी र जीवनस्तर सुधारको लागि नभएर पाटी, कार्यकर्ता र आफ्नो लागि राजनीतिक नेतृत्व केन्द्रीत हुँदा राजनीतिलाई विकृत्त बनाउँदै लगेको देखिन्छ । जनताका बीचमा अलोप्रिय भएता पनि स्वार्थका लागि जस्तो सुकै निर्णय गर्नु जस्तोसुकै कार्य र हर्कत गर्नपछि नपर्ने हाम्रा राजनैतिक दलका नेतृत्व भएको देखिन्छ । यसले राजनीतिलाई विकृत्त बनाउन सहयोग पुर्याएको देखिन्छ । सरकारमा रहेर बजेटलाई आफ्नो नीजि जस्तै गरि प्रयोग गर्न तम्सनु, रातारात बजेटका शिर्षक र कार्यक्रमलाई परिवर्तन गर्नु, असमानुपातिक वितरण गर्दै बजेटको ठूलो अंश आफ्नो क्षेत्र, जिल्लामा लाने दौडधुप, कमिसन, आर्थिक प्रलोभनमा करका दरहरुमा रातारात परिवर्तन, आर्थिक नीतिमा कुनै अदृश्य स्वार्थ समूहको उद्देश्य अनुरुप परिवर्तन गर्नु, वित्तिय अनुसाशनको कति ख्याल नगर्नु अर्को कारण बन्न पुगेको छ । यसका साथै पछिल्लो समय राजनीतिक दलले सरकारलाई शक्ति प्राप्तिको स्रोतको रुपमा प्रयोग गर्दै, आसेपासेलाई विभिन्न क्षेत्रहरुमा नियुक्ति गर्ने, देश भित्र र बाहिर राज्यको स्रोतको दोहन गर्न पाईने उल्लेखित विविध कारणले गर्दा नेपालमा विधिको साशनको अभ्यास गर्न सकेको देखिदैन् भने राज्य सञ्चालनको एक मात्रै आधार राजनीति जसलाई विकृत्त बनाउदै लगेको देखिन्छ ।
निष्कर्ष :
विधि र राजनीति एक अर्काका परिपुरक जस्तै हुन । यी दुवै राज्य सञ्चालनका आधार पनि हुन् । राजनीतिको बागडोर सम्हालेका राजनीतिक दलका नेतृतवले यसको स्वेच्छाचारी प्रयोग गर्दा राजनीतिलाई विकृत्त बनाएको देखिन्छ भने यहि कारण राज्य कानुनी राज्यको रुपमा स्थापित गर्न सकेको देखिदैन् । देशमा पछिल्लो समय देखिएको निराशा र वितृष्णाको मुख्य कारण पनि विधिको साशनको अभ्यास गर्न नसक्नु रहेको देखिन्छ । देशमा विद्यमान कानुन, ऐन नियम र संविधानको अक्षरांश पालन गर्न सकेमा विधिको साशन स्थापित हुनेमा दुईमत रहँदैन् ।
राजनीतिक नेतृत्वले व्यवहार र कार्यशैलीमा परिवर्तन गरुन् देशमा रहेका विद्यमान ऐन नियममा होइन । यसो गरेमा विकृत्त राजनीतिको अन्त्य र विधिको साशन स्थापित हुने कुरामा दुईमत रहँदैन् । यसका लागि सम्वद्ध पक्षहरु ऋा–आफ्नो स्थानबाट लाग्ने की ? (लेखक अर्थशास्त्रका प्राध्यापक समेत हुन् ।)