Shittalpati
रामपुरका  महिलालाई स्वास्थ्य परामर्श तथा कानुनी शिक्षा 

पाल्पा, जिल्लाको रामपुर नगरपालिकाले श्रमिक महिलालाई स्वास्थ्य परामर्श तथा कानुनी शिक्षा दिएको छ । नगरपालिकाले अन्तराष्ट्रिय महिला दिवसको अवसरमा निर्माण क्षेत्रमा कार्यरत तथा अन्य पेशा र व्यवसायमा सक्रिय श्रमिक महिलाहरुलाई परामर्श तथा कानुनी शिक्षा दिएको हो । 

नगरपालिकाले अगामी दिनमा पनि परामर्श र शिक्षा दिँदै जाने बताएको छ । नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले अधिकांश महिलामा स्वास्थ्य सचेतना र कानुनी ज्ञान नहुँदा शारीरिक तथा मानसिक रुपमा समस्या भोग्नुपरेकाले उनीहरुलाई स्वास्थ्य परामर्शसँगै कानुनी शिक्षा प्रदान गरिएको बताइन् । उनले व्यवस्था परिवर्तन भए पनि अवस्था कस्तो छ भन्ने विषयमा महिला अनविज्ञ रहेको भन्दै उनीहरुलाई जानकारी गराउनु अहिलेको आवश्यकता रहेको औँल्याइन । उपप्रमुख थापाले महिला श्रमिकका समस्याका विषयमा नगर सरकार गम्भीर रहेको बताइन् ।

उनले न्यायिक समितिमा ज्याला नपाएको गुनासोहरु कहिले काँही आउने गरेको र समस्याको समाधान गर्दै आएको बताइन् । रामपुर नगरपालिकाले पूर्वी पाल्पा मजदुर व्यवस्थापन समितिसँग सहकार्य गरेर गत वर्ष मजदुरहरुको बिमा गरिएको जानकारी गराउँदै आगामी दिनमा पनि कार्यक्रमलाई निरन्तरता दिने बताइन् । नगर प्रवक्ता  कपिलबहादुर खाँणले श्रमिक महिलाहरुलाई पेशाप्रति सम्मान गर्दै आफू कार्यरत क्षेत्रमा थप दक्षता हासिल गर्दै अघि बढ्न आग्रह गरे । महिलाहरुलाई राज्यले अधिकार सम्पन्न गरे पनि कतिपय अवस्थामा कानुनी जटिलताले कार्यान्वायनमा समस्या भएको उनको भनाई छ ।

प्रवक्ता  खाँणले यस क्षेत्रमा काम गर्ने श्रमिकहरु जुन सुकै स्थानको भए पनि देखिएका समस्या समाधानका लागि प्रतिवद्ध भएर लाग्ने बताए । कार्यक्रममा इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक रामबहादुर नेपालीले श्रम शोषण हुन पनि नदिने र सहेर पनि नबस्ने प्रतिवद्धताका साथ अघि बढ्न आग्रह गरे । उनले महिलाहरुमा हुने हिंसा र कानुनी व्यवस्थाको बारेमा प्रशिक्षण समेत दिएका थिए । नगरपालिकाका नर्सिङ्ग अधिकृत पुनम धितालले प्रजनन् स्वास्थ्यको बारेमा जानकारी गराएकी थिइन् । त्यस्तै महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख पुजा परियारले महिलाहरुको लागि राज्यले गरेको व्यवस्थासँगै हिंसाको बारेमा जानकारी गराएकी थिइन् । कार्यक्रममा पूर्वी पाल्पा मजदुर व्यवस्थापन समितिका उपाध्यक्ष सुमन खाम्चाले महिला श्रमिकहरुको लागि कार्यक्रम आयोजना गरेकोमा  नगरपालिकाप्रति आभार व्यक्त गरे । उप्रमुख बालकुमारी थापाको अध्यक्षता, कार्यपालिका सदस्य दुर्गा देवी भण्डारी गौतमको स्वागत, पार्वती परियारको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: आइतबार, फागुन २५, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update