Shittalpati
दल सच्चिनुुको विकल्प छैन

यतिबेला राजनीतिक दलप्रति आमनागरिकको वितृष्णा पैदा भएको छ । राजनीतिक दलले लिएको नीति र देखाएको क्रियाकलापले आमनागरिकमा निराशा पक्कै छाएको छ । जसको मौका छोपेर राजावादीहरु सलबलाउन थालेका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहले खुल्लारुपमा दलहरुलाई चुनौती दिएपछि राजावादीहरुलाई थप बल पुगेको छ । दलहरु भने एक–अर्कालाई आरोप लगाएर लोकतान्त्रिक व्यवस्थालाई नै कुरुप बनाउने खेलमा सक्रिय छन् । दल–दलबीचको लडाइको फाइदा अहिले दलीय व्यवस्था विरोधी तत्वले लिइरहेका छन् । यस्तो हुँदा समेत दलका नेताहरुमा चेत आउन नसक्नु विडम्बना हो ।

जनताका अधिकारका लागि लडेका दल कालान्तरसम्म सक्रिय भइरहनु पर्दछ भन्ने जनताले ठानेको पाइन्छ । त्यसैले अब ठूला दल सच्चिनै पर्दछ, नसच्चिएमा देश र जनताले सोचेकोजस्तो भविष्य शीघ्र हात पार्न सम्भव छैन भनेर चिन्ता व्यक्त गर्ने गरिएको देखिएको छ । आक्रोशमा नयाँ दल र नयाँ उम्मेदवार चयन गरे पनि भर्खरै उदाएका राजनीतिक दलमा आमनागरिक पूर्ण विश्वस्त हुन सकेको देखिँदैन तर सच्चिने भनेको के हो भन्ने प्रश्नचाहिँ व्यापक रूपमा उठेको छ ।

राजतन्त्र पुनस्र्थापना गर्ने आवाज सडकमै आउँदा समेत दलका नेता तथा कार्यकर्ता निरीह भएर उनीहरुको चर्तिकला हेर्नुपर्ने अवस्था सिर्जना हुनु पक्कै पनि राम्रो होइन । आज दलीय व्यवस्थाका कारण जसलाई जे मन लाग्यो त्यो बेपरबाह भन्न पाइरहेको अवस्था छ । हिजो पूर्वराजा ज्ञानेन्द्रले दलमाथि प्रतिबन्ध लगाउँदै शासन चलाउने क्रममा देखाएको व्यवहार आज पनि आम नेपाली जनताले नदेखको वा नभोगेको होइन, तर पनि अहिले राजसंस्थाको पक्षमा जनता खुल्दै जानुले अहिलेको व्यवस्था कुरुप भएको त होइन ? भन्ने प्रश्न जन्मेको छ । व्यवस्थामाथि धावा बोल्दासमेत सरकार र दलहरु चुक्क समेत बोल्न नसक्नुले प्रश्न चिन्ह खडा गरेको छ । जे भए पनि संसदीय व्यवस्थाको विकल्प राजसंस्था हुन सक्दैन । त्यसैले अहिलेको यो व्यवस्थालाई चलाउनेहरुमा देखिएको बेथिति र विसंगतिलाई कसरी हटाउन सकिन्छ भन्नेतर्फ लाग्नु उचित हुन्छ । यद्यपि दलहरुले एक अर्काको अस्तित्वमाथि प्रश्न उठाउनुभन्दा आफ्ना विगतका गल्ती सच्याएर अगाडि बढ्नुपर्छ । सुशासन दिन नसकेको कमजोरीलाई मनन गर्दै भ्रष्टाचार निर्मूल गर्न नसके पनि न्यूनीकरणको प्रयासमा नेता लागेको अनुभूति जनतालाई हुनै पर्दछ । त्यसैले अब राजनीतिक दल गम्भीर भई सच्चिनुको विकल्प छैन ।

प्रकाशित मिति: सोमबार, फागुन २६, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update