
पाल्पा, पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्ना गतिविधिहरु बढाउन थालेपछि बल्ल सांसदहरुले मुख खोलेका छन् । आइतबारको राष्ट्रिय सभा बैठकमा बोल्ने अधिकांस सांसदहरुले पूर्वराजा र राजावादीका पछिल्लो गतिविधिप्रति आफ्ना धारणा व्यक्त गरेका हुन् ।
सांसदहरुले राजावादीहरु जति सल्बलाए पनि गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताए । माओवादी सांसद जगप्रसाद शर्माले राजतन्त्र अन्त्य भइसकेपछि तथाकथित प्रतिगामी शक्तिहरु अहिले राजा फर्काउने काममा लागेको भन्दै त्यो सम्भव नरहेको बताए । उनले वंश विनाश गर्नेले नै अहिले राजा फर्काउने भनेर नाटक मञ्चन गर्न नसुहाएको उल्लेख गरे । सांसद शर्माले विश्वका धेरै देशहरूमध्ये नेपालमा सबैभन्दा लामो समय लगाएर राजतन्त्रको अन्त्य गरिएको बताए । राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने भन्दै जनआन्दोलनको बलमा स्थापित वर्तमान व्यवस्थालाई सबल तुल्याउन आवश्यक रहेको बताए । उनले केही व्यक्तिले राजालाई डोर्याएर नारायणहिटी लैजाने भनेर अभिव्यक्ति दिइरहेकामा आपत्ति जनाउँदै यस्ता गतिविधिप्रति सजग हुन सरकारको ध्यानाकर्षण समेत गराए । विश्वकर्माले भने, ‘गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन ।’ नेकपा एसकी सांसद जयन्तीदेवी राईले राजावादीहरू कुर्लिरहेका कारण मुलुकमा खतरा र राजनीतिक अस्थिरता पैदा भएको टिप्पणी गरेकी छिन् । उनले प्रतिगामी तत्वहरू संविधान उल्लङ्घन गर्दै लोकतन्त्रमाथि धावा बोलिरहेकाले त्यसतर्फ सचेत हुनुुपर्ने बेला आएको बताईन् ।
उनले भनिन्, ’ हामीले मसानघाटमा पुर्याएको राजतन्त्र कुर्लिरहेको छ, त्यसकारण खतरा र राजनीतिक अस्थिरता पैदा भइरहेको छ ।’ नेपाली जनताको बलिदानीबाट प्राप्त व्यवस्था जोगाउन सबै एकजुट हुने समय आएको पनि उनको भनाइ छ । नेकपा माओवादी केन्द्रका सांसद सुरेश आलेमगरले पनि गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने भन्दै ख्याल गर्न सुझाए । ‘प्रतिगामी तत्वहरु सलबलाइरहेका छन् । राजतन्त्रलाई आर्यघाटमा सेलाइसकेका थियौं । तर, त्यसका भुतहरु फेरि बौरिएर आएर राजतन्त्रको कुरा गर्दैछन्’ सांसद मगरले भने । यस्तै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पनि आइतबार एक विज्ञप्ति जारी गणतन्त्रवादीहरु एकजुट हुनुपर्ने बताएका छन् । केसीले राजावादीको सक्रियता बढेकोतर्फ सचेत हुनुपर्ने बताउँदै विभिन्न लोकतन्त्रवादी शक्तिहरू बिच कार्यगत एकता वा गठबन्धन गर्नुपर्ने बताएका छन् । उनले भनेका छन्, ‘प्रचण्डको अवसरवादी वा पदलोलुप क्रियाकलापका कारणले प्रतिगमनका विरुद्ध बनेको गठबन्धन टुट्न गएको छ र त्यसबाट पनि राजावादीलाई बल पुगेको छ । देशमा प्रतिगमनको खतरा बढेको बेलामा गणतन्त्र र धर्मनिरपेक्षता पक्षधर शक्तिको कार्यगत एकता वा गठबन्धनको आवश्यकताप्रति हामीले अहिले पनि जोड दिन्छौँ ।’