
नेपाली राजनीतिमा बेला बेलामा तरंग आउने गरेको छ । सत्ता परिवर्तन नेपालको स्थायी रोग नै हो । यसले बेला–बेलामा तरंग ल्याइनै रहेको छ । यही बिचमा फेरी अर्को तरंग ल्याएको छ । पछिल्लो केही दिन यता पूर्वराजा शाहको गतिविधि र राजावादीको प्रदर्शनले नेपाली राजनीति वृत्तमा तरंग ल्याएको हो । अब फेरी कतै देशमा व्यवस्था परिवर्तन हुने त हैन भन्ने आम चासो छ । पूर्वराजा शाह र राजावादीहरुले गतिविधि बढाउन थालेपछि आमनागरिकमा शंका उत्पन्न भएको छ भने राजनीतिक दलका नेताहरू आक्रामक ढंगले प्रस्तुत हुन थालेका छन् । आपसमा आरोप÷प्रत्यारोप गरिरहेका सत्ता र प्रतिपक्ष दलका नेताहरू शाहको बढ्दो सक्रियतालाई लिएर एक ठाउँमा आएका मात्रै छैनन्, एउटै स्वरमा चेतावनीसमेत दिइरहेका छन् । अस्थिर सरकारका कारण मुलुक दिन–प्रतिदिन बर्बादीतर्फ धकेली रहेका बेला फेरी व्यवस्था परिवर्तनको विषय आउनु दुखद् हो ।
देशका केही भागमा राजाको पक्षमा सभा, जुलुस र प्रदर्शनसमेत भइरहेका छन् । आफूलाई राजावादीका रूपमा निरन्तर अग्रसर रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीको सक्रियतामात्रै होइन दुर्गा प्रसाईंदेखि अरू निजी स्कोर बनाउनेहरूको पनि क्रियाशीलता जोड्तोड्ले देखिँदैछ । वर्तमान समयमा विकसित बन्दै गइरहेको यस सन्दर्भलाई हाँसेर उडाइदिने राजनीतिक पार्टीहरू पनि छन् । अहिलेको अवस्था आउनु भनेको दलहरुप्रति जनताको वितृष्ण पैदा हुनु हो । राजनीतिक पार्टीहरूले राम्रो काम गरेर जनताले चौतर्फी प्रशंसा गरिरहेको अवस्था थियो भने कुनै विरोधी शक्तिले छिसिक्क केही बोल्नासाथ वा केही गर्नासाथ जनता अरिंगालको गोलो बनेर शासकीय प्रणालीका पक्षमा प्रदर्शन गर्न आउने थिए । अहिले त्यस्तो देखिएको छैन । किन त पूर्वराजाले वर्तमानविरुद्ध आफ्नो उपस्थितिको गम्भीर आग्रह गर्दा विपक्षमा र वर्तमान राजनीतिक दलहरूको समर्थन गरेर कोही पनि जनता नउठेका ? यसको जवाफ भने राजनीतिक पार्टीहरूले दिन सक्नुपर्छ । भोलि केही गरी वर्तमान राज्यप्रणालीमा फेरबदल हुने अवस्था आयो भने त्यसको दोष कसलाई दिने ? पूर्वराजालाई, जनतालाई वा देशीविदेशी शक्तिलाई ? त्यतातिर सोच्नुपर्ने हुन्छ । तसर्थ अहिले देखिएको राजनीतिक तरंगलाई राजनीतिक दलहरुबाटै समाधान गरिनुपर्छ ।