
पाल्पा, तानसेन आफैमा पर्यटकीय नगर हो । यहाँ थुप्रै ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरु रहेका छन् । तर प्रचार–प्रसार र संरक्षणको अभावका कारण पाल्पा पर्यटकीय क्षेत्रको रुपमा पछाडी परेको छ ।
माल पाएर चाल नपाएको भने जस्तै यहाँ प्रसस्त मात्रमा ऐतिहासिक सम्पदा, कलाकृति र सौन्दर्यता बोकेका स्थलहरु भए पनि वेवास्ताका कारण पर्यटन र धार्मिक क्षेत्रले फड्को मार्न सकेको छैन् । सरकार र सम्बन्धित निकायबाट पाल्पाको पर्यटन विकासमा प्रभावकारी कदम चाल्न नसकिरहेका बेला तानसेनका युवाहरुले भने पर्यटकीय, धार्मिक स्थलहरुलाई राष्ट्रिय, अन्तर्राष्ट्रिय रुपमा चिनाई तानसेन नगरको परिचय नै बदल्न कस्सिएका छन् । स्वदेशमै केही गरौं भनेर लागेका यहाँका युवाहरुले कागजमा सिमित तानसेनको परिचयलाई व्यवहारबाटै देखाउने गरी सक्रिय रुपमा लागेका हुुन् । सामाजिक क्षेत्रमा सक्रिय नारायण युवा क्लव, पाल्पा साइक्लिङ संघ र पाल्पा जेसिजमा आवद्ध युवाहरु यहाँको विकासमा सक्रिय भएर लागेका हुन् । उनीहरुले यहाँको सामाजिक क्षत्रेमा सचेतना जगाउने, पर्यटन तथा धार्मिक क्षेत्रलाई सफा, स्वच्छ बनाई आन्तरिक तथा बाह्य पर्यटकहरु भित्र्याउने, खेल क्षेत्रलाई राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने, स्थानीय जनप्रतिनिधिहरुलाई जनताप्रति जवाफदेही र जिम्मेवार बनाउने जस्ता कार्यमा लोभ लाग्दो रुपमै सक्रियता देखाउँदै आएका छन् । २०५४ सालमा स्थापना भएको नारायण युवा क्लवले अस्तव्यस्त अवस्थामा रहेका तानसेनका ऐतिहासिक अमरनारायण मन्दिर, नारायणस्थानको फूलबारी, अमरनारायण पोखरीहरुको संरक्षण, प्रवद्र्धन गर्ने काम गरेको छ । केही वर्ष अघि तानसेन नगरपालिकाले यि क्षेत्रहरुको संरक्षणमा मोटो रकम खर्च गरे पनि व्यवस्थित हुन नसकेका बेला क्लवमा आवद्धमा युवाहरुले भने आफ्नै परिश्रम र लगानीबाट उक्त क्षेत्रहरुको संरक्षण र प्रवद्र्धन गर्दै आएका छन् । विगतका वर्षहरुमा स्थानीय सरकारले यस क्षेत्रको सरसफाई र संरक्षण गर्दै आए पनि गत वर्षदेखि क्लवको अगुवाईमा टोल विकास संस्था, युवा, महिलाहरुको सहयोगमा नारायणस्थान फूलबारी, मन्दिर र पोखरी चिटिक्क बनाउदै आएको पाइन्छ ।
युवाहरुले यस क्षेत्रमा तानसेनका जनताको खानेपानीको श्रोत भएकाले पानीको श्रोत जोगाइराख्न, चिउरी, खल्डुक, कपुर र चाप जस्ता बोटविरुवा समेत रोपेका छन् । फूलबारीको दक्षिण क्षेत्रमा १०८ गाईमुखे धारा, पोखरी, पोखरीको बिचमा शिवलि· बनाउने काम पनि क्लवले नै गरेको छ । त्यति मात्रै होइन क्लवले पछिल्लो समय जिल्लामा चोरीका घटनाहरु, सवारी दुर्घटना, लै·िक हिंसा, साइबरक्राइम, लागुऔषध दुव्र्यसनी जस्ता घटनाहरु बढ्दै गएकाले तिनीहरुलाई नियन्त्रण गर्ने उद्देश्यले सुरक्षा सचेतना कार्यक्रम समेत गर्दै आएको छ । शान्त र सभ्य समाज निर्माणका लागि क्लवले सचेतनामूलक कार्यक्रम गर्ने गरेको हो । तानसेनलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने र समाजलाई सही दिशातर्फ लैजाने काममा निःस्वार्थरुपमा युवाहरु सक्रिय हुँदै आएको क्लवका अध्यक्ष प्रबिनराज शाक्यले बताए । उनले भने,‘यहाँ रहेका धार्मिक तथा पर्यटकीयस्थल हाम्रो सौन्दर्यका गहना हुन् । यहाँ थुप्रै पर्यटक तथा दर्शानार्थीहरु आउने गर्दछन्, त्यसैले पनि तानसेनलाई स्वच्छ, सुन्दर र हराभरा बनाउन आवश्यक छ । त्यो कर्तव्य हामी युवाहरुको पनि हो ।’ क्लवले सामाजिक क्षेत्रको विकाससँगै वातावरणलाई स्वच्छ, सफा र सुन्दर बनाउने दिशामा प्रशंसनिय कार्य गर्दै आएको क्लवका संस्थापक अध्यक्ष हिमालदत्त श्रेष्ठले बताए । यस्तै पाल्पा साइक्लिङ संघमा आवद्ध युवाहरुले जिल्लामा भएका ऐतिहासिक पर्यटकीय स्थलहरुको बारेमा जानकारी गराउने र आन्तरिक तथा बाह्य पर्यटकहरु भित्र्याउने अभियानमा सक्रियता देखाएका छन् । उनीहरुले साइकल यात्रामार्फत बाहिरबाट आउनेहरुलाई जिल्लाका पर्यटकीय स्थलहरुको बारेमा जानकारी गराउन गत कार्तिक २३ र २४ गते दुई दिने ‘हेरिटेज राइड’ समेत आयोजना गरेका थिए । जसमा जिल्लाका ऐतिहासिक धार्मिक, पर्यटकीय स्थलहरु पाल्पा दरबार संग्रहालय, भैरवस्थान मन्दिर, अर्गेली दरबार, रुरु ऋषिकेश मन्दिर, रिडी, रानीमहल, देवदत्तपार्क, लिस्ने भिर लगायतका धार्मिक तथा ऐतिहासिक क्षेत्रमा पुगेर त्यहाँको महत्व र ऐतिहासिकतामा बारेमा जानकारी गराइएको थियो । यहाँको पर्यटकीय क्षेत्रको प्रचार र खेलकूदको विकासमा टेवा पुगोस् भन्ने उद्देश्यले यस्ता कार्यहरु गर्दै आएको संघका अध्यक्ष रुपेश महर्जनले बताए । यस्तै पाल्पा जेसिजमा आवद्ध युवाहरुले पनि युवाहरुको नेतृत्व, व्यक्तित्वको विकाससँगै स्थानीय सरकारलाई जवाफदेही, जिम्मेवार बनाउनुको साथै शिक्षा, स्वास्थ्य र पर्यटनको क्षेत्रमा समेत महत्वपूर्ण कार्य गर्दै आएका छन् ।
जेसिजले केही महिना अघि जनप्रतिनिधि र युवाबिच ‘युवाको प्रश्न नेतृत्वसँग’ विषयक खुला बहस सञ्चालन गरेको थियो । जेसिजको उद्देश्यसँगै जिल्लाको विकासमा रचनात्मक ढंगले काम गर्दै आएको जेसिज पाल्पाका अध्यक्ष विवेककाजी शाक्यले बताए । अस्थिर राजनीतिक, बढ्दो बेरोजगारीका कारण मुलुकमा केही पनि छैन भन्ने भाष्य पछिल्लो पुस्ताका युवाहरुमा बढ्दै गएका बेला यहाँका युवाहरुले भने आफ्नो ठाउँ आफै बनाऔं भन्ने अभिप्रायका साथ जिल्लाको विकासमा सक्रिय हुँदै आएका हुन । नागरिकको अबको एक मात्र सपना समृद्धि हो । समृद्ध भविष्यको सपना पूरा गर्नु, वर्तमानको थालनी र निरन्तरता अपरिहार्यता हो । वर्तमान समय जति युवाका लागि महत्वपूर्ण छ त्यति नै देशको समृद्धिका लागि युवाको आवश्यकता छ । दिगो विकासका हरेक एजेण्डाहरू युवासँग जोडिएका छन् । यसैकारण पनि यहाँका युवाहरुले देखाएको सक्रियताको तानसेनवासीले प्रशंसा गर्ने गरेका छन् । उनले भने,‘सरकारी क्षेत्रबाट गर्नुपर्ने कामहरु क्लवमा आवद्ध युवाहरुले गर्दै आएका छन्, यो जिल्लामै नमूना क्लवका रुपमा रहेको मैले महशुस गरेको छु ।’