Shittalpati
बञ्जी जम्प र स्विङको एक पृथक अनुभव

राम बहादुर गरम्जा (एसकुमार)

मानिसको इच्छा पनि खै कस्ता–कस्ता खालका हुन्छन् ? एकपछि अर्को गर्दै नयाँ इच्छाहरू जन्मि रहन्छन् । तर सीमित स्रोत साधनका बिचबाट असीमित इच्छा र आकांक्षाहरू पूरा गर्नुपर्ने हाम्रो बाध्यता छ । केटाकेटी अवस्थामा आकाशमा चिल र गिद्ध उडेको देखेर अचम्म लाग्थ्यो । त्यसैगरी उड्न पाए कस्तो हुन्छ होला  भनेर कल्पना गरिन्थ्यो । पछि विज्ञान र प्रविधिको विकाससँगै नयाँ–नयाँ उपकरणको आविष्कार भए । ठूलो भएपछि प्याराग्लाइडिङ, प्लेन र हेलिकप्टरमा उडियो अनि चिल र गिद्ध उडे जस्तै अनुभव बटुलियो । बढ्दो प्रविधिको विकाससँगै युट्युव, फेसबुक, टिकटक, इन्स्ट्राग्राम, स्न्यापच्याट लगायतका सामाजिक सञ्जालको माध्यमबाट मानिसहरूले आफ्ना गतिविधिहरू प्रदर्शन गर्न थाले भने कोही घरमै बसी–बसी त्यस्ता किसिमका ज्ञान र मनोरञ्जनका कुरामा आनन्द लिन थाले ।

आर्मीहरू हेलिकप्टर र प्लेनबाट हाम फालेका, आरोहीहरू एउटा डोरी र लठ्ठीको सहाराले धेरै अग्ला पहाडहरू चढेका अनि झरेका र अल्ट्रामा चढी आकाशबाट विशाल हिमश्रृङ्खलाहरू हेर्न पुगेका दृश्य देख्दा म पनि त्यसो गर्न पाए कस्तो हुन्थ्यो होला भन्ने यावत प्रश्नहरू मेरो मनमा उब्जिरहेका हुन्थे । हेर्दा र सुन्दा कुनै फिल्मको कहानी जस्तो लाग्ने तर उक्त कार्य यथार्थमा सही थियो । फेरि पनि मभित्र बञ्जी र स्विङ खेल्ने एउटा भूत सवार भइरहेको थियो । त्यो भूतले मलाई बेला–बेलामा तर्साइरहन्थ्यो । वर्षौदेखिको इच्छा, चाहना र सपना पालेर बसेको मान्छे, नेपालका पोखरा, भोटेकोशी र पर्वतको कुश्मामा बञ्जी खेल्न पाइने थाहा भयो । पर्वतको कुश्मामा विश्रुवको अग्लो स्विङ र विश्रुवको दोस्रो अग्लो बञ्जी भएको पत्ता लागेपछि अरु ठाउँ किन रोज्नु कुश्मातिरै जाने निर्णय गरी अनुकूल समयको पर्खाइमा बसिरहेँ । आउँदै गरेको दशैले सबै ठाउँमा रमाइलो छाउँदै थियो । तर सुरक्षालाई भने चिन्ता बढ्दै थियो । किनकि उनको बाबाको मृत्यु भएको ३ महिना पनि पुगेको थिएन । अभिभावक अर्थात् घरको मियो ढल्दा हामी पीडामा थियौं । ससुरा बा साह्रै मेहनती र इमान्दार हुनुहुन्थ्यो । कामलाई असाध्यै माया गर्ने, अरुसँग झुटो नबोल्ने र उत्तिकै सहयोगी पनि । भन्नुहुन्थ्यो, म मरेपछि मेरो क्रिया गर्नुपर्दैन, नुन छोड्नुपर्दैन । बरु मृत्यु संस्कारमा खर्च गर्ने पैसा कुनै स्कुल, अनाथ र वृद्ध आश्रममा लगेर सहयोग गर्नू । त्यसो भनेर मात्र कहाँ हुन्थ्यो र ?  समाजको लागि भए पनि केही परम्पराहरू मान्नुपर्ने छ हामीले । वास्तवमा उहाँलाई म एक क्रान्तिकारी कम्युनिष्ट भन्न रुचाउँछु । मलाई साह्रै माया गर्नुहुन्थ्यो, तर के गर्नु अहिले हामी माझ हुनुहुन्न । मेरो परिवारमा दशैको टीका भए पनि उनलाई अरुले टीका लगाएको हेर्न पटक्रुकै मन छैन । त्यही भएर पनि उनीको पीडामा मल्हमपट्टी लगाउनु मेरो प्रमुख जिम्मेवारी थियो । मलाई पनि रक्सी, मासु खाएर त्यो कोलाहलमा भुल्न कत्ति पनि इच्छा छैन । त्यसैले यस पटकको दशै अलि फरक प्रकारले मनाउने मेरो मनमा योजना बनिरहेको थियो तर म कसैलाई बताएको थिएन । अर्कोतिर घरमा बाबा, आमा र दाजुभाइलाई सम्झाउनुपर्ने थियो ।

हुन त हिन्दू धर्मावलम्बीहरूको चाड भनिए पनि अहिले नेपालीको राष्ट्रिय चाड भएको छ । परम्परादेखि बाहिर भएका मान्छेहरू दशै तिहारमा घरमा आउने प्रचलन छ । छोरो घरमा किन आएन भनेर मन दुखाउनु हुन्छ कि ? दाजुभाइ रिसाउलान् भन्ने तनाव थियो । चारैतिरको तनाव बिचबाट दशै बिदामा भ्रमणमा जाने उतै बञ्जी जम्प पनि हान्ने मेरो एकल इजलासले फैसला गर्‍यो र सरप्राइज स्वरूप सुरक्षालाई उक्त फैसला सुनाए । उनी पनि सुरुमा अचम्म मान्दै त्यसो नगर्न सल्लाह दिइन् तर पछि फैसला कार्यान्वयनका लागि तयार भइन् । जहाँ इच्छा, त्यहाँ उपाय भने झैं इच्छा भएपछि उपाय पनि आउँदो रहेछ । घरमा आमा र बाबालाई सम्झाइ बुझाइ केही खानेकुरा, कपडा र आवश्यक सामानहरू प्याक गरी दाङबाट २०८१ साल असोज २३ गते बुधबार एक हप्ताको लागि बाइकको यात्रा भ्रमणमा निक्लियौं । गर्मीको मौसम सकिएको र जाडो नआइसकेको बेला भएर होला हामीलाई यात्रामा कुनै समस्या थिएन । भर्खर भर्खर वर्षाको बिदाइ र शरद ऋतुको आगमनले गर्दा मौसम निकै सफा थियो, हरियाली वनजङ्गलमा चराचुरङ्गीको सुमधुर आवाजहरू, बाटा घाटा र बस्तीहरू उत्तिकै सुन्दर र चटक्क देखिन्थे । यस्तै रमाइला दृश्य नियाल्दै हामी बुटवल शुसिला बैनीको कोठामा गएर बास बस्यौं । उनको न्यानो स्वागतसँगै खाना खाएर विश्राम गर्‍यौं । उनी हाम्रो बैनी अर्थात् साथी पनि हुन् किनकि हामी बिचमा सुख र दुःख अनि अन्तरमनका कुराहरू साटासाट हुन्छन् । २४ गते बिहानै पूर्वमा लाली छाउँदै थियो हात मुख धोएर मनतातो पानी पिइ तिनाउ नदीको किनारै किनार पाल्पा पुगेर नास्ता खायौँ । आफ्नै रफ्तारमा सुसेल्दै बगिरहेको कालीगण्डकीलाई नियाल्दै राम्दी पुल तरेर लाग्यौ स्याङ्जा हुँदै पोखरातिर । यात्रामा बाटाघाटा, चोकचोक र गाडीहरूमा झोला सहितका मान्छेहरूको भिडभाड देखिन्थ्यो । शायद उनीहरू दशैको आगमनलाई स्वागत गर्न हतार थिए । सुन्दर सहर पोखरा, पर्यटकहरूको आकर्षणको केन्द्रविन्दु, पोखरामा खाना खायौँ । त्यहाँ एक पल रूक्न पनि ढिलो भएको थियो मलाई । किनकि बञ्जी र स्विङको भूतले मेरो शरिरमा ४/५ को गेयरमा सवार गरिरहेको थियो । पोखरा सहरलाई फर्किदा भेट्ने बाचासहित लाग्यौ पर्वतको कुश्मातिर । यो चाडबाडका बेला हामी मात्र हो कि ? बाहिर निस्कने भनेको त सडकमा गाडीहरू, मोटरसाइकल र स्कुटीमा ठूला ठूला झोलासहित सिंगल, युगल र सामुहिक रूपमा कुश्मा, बाग्लुङ, म्यादी, मुस्ताङ, मुक्तिनाथ लगायतका स्थानमा घुम्न जाने मान्छेहरूको लावा लस्कर देखिन्थ्यो । जसले गर्दा हामीलाई थप हौसला प्रदान गर्‍यो ।

जे होस् अहिलेको समाजमा मानिसहरू परम्परागत केही मूल्य मान्यताहरूलाई त्यागेर केही नयाँ गर्न रुचाउँछन् साथै आफ्नो जिन्दगीलाई खास यादगार बनाउन चाहन्छ । याङ्दीदेखि घट्टेखोलासम्म ९१२ किमी भाइरल सडक साच्चै नै राम्रो रहेछ । ठाउँ–ठाउँमा ट्राफिक चिन्ह, बिच–बिचमा फूलबुट्टा भरेका जेब्रा क्रसिङ, विभिन्न कलरका धागो जस्तै कोरिएका रेखाहरू देख्दा धेरै आनन्द आयो । हेम्जाबाट देखिने अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरी, निलगिरी लगायत दर्जनभन्दा बढी मनै लोभ्याउने हिमश्रृङ्खलाहरूलाई नियाल्दै फराकिलो र सफा सडकमा यात्रा गर्नु बेग्लै मजा थियो । हाम्रा नयनले सुन्दर तस्बिरहरू कैद गर्न पाउँदा आफ्नो आयु लम्बिएको अनुभूति हुन्थ्यो । लुम्ले र घान्द्रुकको चिसो हावासँगै रमाउँदै हामी गोधुलीको साँझमा कुश्माको बन्दना होटलमा बास बस्न पुग्यौं । खाना खाएर बिश्राम गर्न गयौ तर मलाई भोलिको बञ्जी जम्पको तनावले छटपटी लागेको थियो । बेला–बेलामा उनले कत्तिको धड्कन बढेको छ भन्दै छातीमा हात राखी जिस्क्याउने गर्थिन् । भित्र–भित्र डर त लागेको थियो नि तर केही भएको छैन भनी जवाफ फर्काइदिन्थे । पहिलो पटक एड्भेन्चर खेल खेल्न गइरहेको हुँनाले थप जिज्ञासा र कौतुहलता पनि उत्तिकै थियो । खयर जेहोस् खेल्न भनेर अग्रिम टिकट बुक भएको छ, जसरी भए पनि गर्नुपर्छ भनी सुत्ने प्रयासमा कोल्टे फर्कन्छु निद्रा नै लाग्दैन । शायद त्यो रात म २ र ३ घण्टा मात्र निदाए होला । अर्को दिन २५ गते बिहानै हामी मर्निङ वाकमा निस्कियौं । दशैका बेला भएर होला आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लागेको थियो । दशै मनाउनेसँगै बिदामा घुम्न आउने पर्यटकको संख्यामा वृद्धि भएको थियो ।

सदरमुकाम कुश्मा विभिन्न संघ संस्थाहरूका अवलोकन भ्रमण गर्ने गन्तव्य समेत बन्दै गएको रहेछ । यहाँ बञ्जी, स्विङ, लामो सुपरम्यान शैलीको जिपलाइन, केवल कार, देशकै अग्ला र लामा झोलुङ्गे पुलले आन्तरिक पर्यटकलाई आकर्षण गरेको रहेछ । मुस्ताङ जाने पर्यटकहरू जाने र फर्किने बेलामा बास बस्न आउने गरेको पर्यटन व्यवसायी कृष्ण प्रसाद श्रेष्ठले बताए । उनका अनुसार काठमाडौं, चितवन, विराटनगर, हेटौंडा, दोलखा, नेपालगञ्रुज, बर्दिया, दाङ, बुटवल, कपिलवस्तु लगायतका क्षेत्रबाट शैक्षिक तथा अवलोकन भ्रमणका लागि यहाँ धेरै आउँदा रहेछन् । चिया नास्ता खाएर ९ बजे हामी बञ्जी खेल्ने ठाउँतिर लाग्यौं । प्रेसर, सुगर, मुटु सम्बन्धी समस्या, हातखुट्टा भाचिएको, हड्डीको समस्या, नसासम्बन्धी समस्या, स्वासप्रस्वासको समस्या, लगायत दीर्घरोगीहरूलाई बञ्जी र स्विङको अनुमति थिएन । ४५ देखि १०० किलो तौलको बिचमा जम्प गर्न जानको लागि कसिलो जुत्ता, आरामदायी कपडा लगाउनुपर्ने रहेछ । पर्वतको सदरमुकाम कुश्मा र बाग्लुङको बलेवा जोड्ने ५२० मिटर लामो झोलुङ्गे पुलको बिचमा कालीगण्डकी नदीको ठिक माथि बञ्जी र स्विङको लागि जम्प गर्ने प्लाटफर्म निर्माण भएको रहेछ । नदीदेखि २२८ मिटर अर्थात ७४८ फिट रहेछ । चट्टान आरोहण लगायत साहसिक खेलमा प्रयोग हुने उच्च गुणस्तरको डोरी, विभिन्न सुरक्षाका सेफ्टी र दक्ष प्रशिक्षकबाट उक्त खेल खेलाइदोरहेछ । सबैभन्दा डर डिलमा उभिँएर तलतिर हेर्दा र हाम फाल्दा लागेको थियो । नखेलेरै फर्कनुपर्छ जस्तो लागेको थियो । ठूलो हिम्मत र शाहस बटुली बञ्जी खेल्नको लागि तयारी भए । हाम फालेपछि Freefall 4.5 second भयो दिमागले कामै नगर्दो रहेछ, तल पुगेपछि होस आयो । जब फर्केर माथि आउँदा बगेको कालीगण्डकीको छालहरू, हरियाली वनजङ्गल, कुश्माको मनमोहक आकृति र निलो आकाशका बादलसँगै चराहरू उडेको दृश्यहरु नियाल्दा धेरै खुशी लाग्यो । जिन्दगीको एक पृथक आनन्द आयो । फोटो र भिडियोको लागि DSLr र Go-pro क्यामेराको प्रयोग हुँदो रहेछ । साथै, हातमा लगाएको Go-Pro क्यामेराले नजिकैबाट सुन्दर प्रकृति र मेरो गतिविधिलाई कैद गरिरहेका थिए । बञ्जी खेल्न भर्खरै अघिसम्म मलाई हौसला दिएकी उनी खेल्ने बेलामा डरले पछाडी गएर रोएको भन्दै साथीहरूले जिस्काए एकैछिन हासो भयो । त्यहाँ पुगेपछि बञ्जी खेल्ने धेरै साथीहरु भेटाए । एक जना कञ्चनपुरका राम गोदार थिए, उनी अलि डराउने रहेछन् तर मुक्तिनाथबाट फर्किदा साथीहरूको उक्साहटमा खेल्न आएको सुनाए । अर्का जुडुवा भाइ हेटौडाबाट दोस्रो पटक जम्प गर्न आएको सुनाउँदै थिए ।

त्यस्तैगरी पर्वतकै एकजना भर्खर आर्मीमा भर्ती भएकी बैनी पनि साथीहरूको लागि देखाउन आएको बताए । २ जना (जोडी) काठमाडौंबाट आएका रहेछन् । त्यस्तैगरी ४ जना नर्बेका बाह्य पर्यटकहरू पनि बञ्जी जम्प खेल्न आएका थिए । हामीहरू बिच एकैछिन अनुभव आदान प्रदान भयो । त्यस्तैगरी विश्वकै पहिलो अग्लो स्विङ गर्दाको अनुभूति त झनै अचम्म र डरलाग्दो भयो । स्वीङ पनि विभिन्न प्रकारको रहेछ :- सिंगल स्वीङ, कपल स्विङ, टन्डन स्विङ, लगायत धेरै स्टाइलको पपुलर क्रियाकलाप । ५२० मिटर लामो पुल माथिबाट २२८ मिटर तल हाम फाल्नु मेरो लागि फलामको चिउरा चपाउनु जत्तिकै थियो । स्विङको लागि ४० देखि १४५ किलो तौलको बिचमा Freefall 6.5 Second ले होसहवास गएर कोमामा पुगेको जस्तो लाग्यो । एउटा डोरीको माध्यमले कालीगण्डकीको खोँचमा पिङकै स्टाइलमा वारि र पारि गराउँदा डरले सातो जाँदो रहेछ । तर माथि फर्किदा धेरै निकै रमाइलो र आनन्द भयो । विभिन्न समयमा गरी ४ पटक शाहसिक खेल बञ्जी जम्प र स्विङ गर्न सफल भए । आजभोलि बाह्य तथा आन्तरिक पर्यटकहरू उल्लेख्य मात्रामा आउन थालेको द क्लिफका सञ्चालक राजु कार्कीले बताए ।

दैनिक १५० भन्दा बढीले बञ्जी र स्विङ गर्ने गरेको उनले जानकारी दिए । यहाँको स्विङ विश्वकै अग्लो बनेको कम्पनीका अध्यक्ष राजु कार्कीले दाबी गरे । बञ्जी र स्वीङ गर्न दुबैको मूल्य एक जनाको लागि ७ हजार ५ सय रुपैयाँ र भिडियोको लागि १५०० देखि २ हजारसम्म तोकिएको रहेछ । हाल विश्वकै अग्लो बञ्जी चाइनामा रहेको Macau Tower Bungy Jump २३२ मिटर अर्थात ७६४ फिट उचाइ र दोस्रो अग्लो स्वीटजरल्याण्डको टिसिनो भिर्जस्का बाँधमाथि २२० मिटर अर्थात ७२० फिट उचाइमा रहेछ । साउथ अफ्रिकामा तेस्रो अग्लो बन्जी सञ्चालनमा रहेछ । कुश्मा बञ्जी जम्प स्वीट्जरल्याण्डलाई पनि पछि पार्दै द क्लिफ प्रालिको यो परियोजनाले विश्वकै दोस्रो अग्लो बञ्जीका रूपमा आफूलाई दर्ज गरेको कुरा त्यहाँ पुगेपछि थाहाँ पायौं । ६ वर्षको अथक प्रयास र परीक्षण पछि २०७७ कार्तिक १५ गते शनिबारका दिन सञ्चालक युवराज जोशीले पहिलो बञ्जी जम्प गर्दै यसलाई औपचारिकता दिएका रहेछन् । बञ्जी र रिसोर्ट निर्माणका लागि २० करोड रुपैयाँ भन्दा बढी लागेको अध्यक्ष कार्कीले बताए । कुश्मा पर्वतको बञ्जी जम्प र स्विङको लागि विशेषगरी मंसिरदेखि बैशाखसम्म धेरै राम्रो हुँदोरहेछ । बन्जी जम्प सामान्यतया जाडोयाममा ९ बजेदेखि सुरु र गर्मीको समयमा बिहान ८ बजेदेखि सुरु हुने रहेछ । द क्लिफ प्रालिले काठमाडौं र पोखराबाट बञ्जी जम्प र स्विङ गर्न जानेको लागि गाडीको व्यवस्था पनि गरेको छ । त्यति मात्र नभएर त्यहाँ विश्वको सबैभन्दा लामो र अग्लो स्काई साइक्लिङ, विश्वको सबैभन्दा अग्लो स्काई क्याफे, स्काई चेयर, गुलेली पिङ लगायतका खेलहरू पनि खेल्न पाउनु हुनेछ । त्यसैले तपाईहरूपनि उक्त रमणीय स्थानमा फुर्सद निकालेर एकपटक पुग्नुहोला भन्न चाहन्छु । जिन्दगी धेरै छोटो छ, यसको कुनै सामान तथा उपकरणको जस्तो ग्यारेन्टी र वारेन्टी हुँदैन । मान्छे खालि हात आएको र खालि हातै जाने हो । मान्छेहरू अमेरिका, अस्ट्रेलिया, जापान, कोरिया, थाइल्याण्ड, स्विटजरल्याण्ड, मलेसिया, सिंगापुर लगायतका देशको भ्रमण गर्छन्, त्यहाँको धेरै तारिफ गर्छन् । तर आफ्नो मातृभूमिको कुरा गर्न रुचाउँदैन बरु यस्तो भएन, उस्तो भएन भनेर गुनासै गुनासो गर्छन् । हाम्रो देश नेपालमा पनि धेरै रमणीय ठाउँहरू छन् जो हाम्रा अमूल्य निधि हुन् । त्यसैले नेपालमै पर्यटन प्रवर्द्धनमा सहयोग र योगदान गरौं अनि मनोरञ्जन लिऔं ।                                                    

 मितिः २०८१/११/२५ गते ।

प्रकाशित मिति: मंगलबार, फागुन २७, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update