
नेपालमा पटक–पटक लोकतन्त्रमाथि प्रहार हुँदै आएको छ । लोकतन्त्र भनेको प्रणाली र संस्था हो कि नेतृत्व भन्ने विषयमै नेपाली राजनीतिमा लामो समयदेखि बहस हुँदै आयो । लोकतन्त्र स्थापना भएको तीन दशकभन्दा बढी भइसक्दा पनि संस्थागत विकास भई जनताको अपेक्षाअनुसार आर्थिक विकास नभएका कारण यस्तो बहस थप सान्दर्भिक हुँदै गएको छ । अहिले ‘स्थिर सरकार र शक्तिशाली नेतृत्व चाहियो’ भन्ने प्रचलित भाष्य जनस्तरदेखि बौद्धिक समुदायसम्म कर्णप्रिय हुँदै गएको देखिन्छ । राजनीतिक अस्थिरता र कुशासनको चक्रव्यूहमा फसिरहेको घडीमा यस्तो भाष्यको लोकप्रियता बढ्दै जानु अस्वाभाविक भएन । यस्तो भाष्य लोकप्रिय हुँदै जानु भनेको लोकतन्त्रको क्षयीकरण भएको सन्देश हो, जुन लोकतन्त्रको स्वास्थ्य र भविष्यका दृष्टिले चिन्ताजनक विषय हो ।
पछिल्लो समयमा आएर लोकतान्त्रिक शासन व्यवस्थाको खिल्ली उडाउँदै राजतन्त्रको बहस हुन थालेको छ । यो गलत हो । लोकतान्त्रिक शासन व्यवस्थाको विकल्प अझ बढी लोकतन्त्र मात्र हो । दुनियाँका कुनै मुलुकमा पनि लोकतन्त्रबाट अधिनायकवादमा प्रतिगमनका निम्ति आमनागरिकको प्रेरणा हुन सक्दैन । प्रतिगमन तिनैका निम्ति अत्यावश्यक हुन्छ, जसले लोकतन्त्रका कारण राजपाठ गुमाएको महसुस गर्छन् । लोकतन्त्रले अभिव्यक्ति स्वतन्त्रतालाई सुनिश्चित गर्छ । प्रत्येक व्यक्तिले आफूलाई लागेका कुरा गर्ने अवसर यसले दिन्छ । यही स्वतन्त्रतालाई दुरूपयोग गर्दै आमनागरिकलाई कुसूचनाबाट दिग्भ्रमित गर्ने वर्ग पनि उत्तिकै सक्रिय हुन्छ । त्यसले देशमा केही नभएको निराशाको गीत गाउँछ र आमनागरिकलाई भड्काउँछ । राजाका बेलामा कसैले यसरी खुलेर बोल्न पाउँदैनथे किनभने त्यतिबेला ‘भित्ताका पनि कान’ हुन्थे । आज सामाजिक सञ्जालमा केही उपबुज्रुकहरूले ‘नारायणहिटीमा राजालाई पुनस्थापित’ गर्ने धम्की दिँदा पनि व्यवस्थाबाट कुनै खतरा हुँदैन । राजतन्त्र यो मुलुकको इतिहास हो भने लोकतान्त्रिक गणतन्त्र आजको यथार्थ । मुलुकमा स्थापित लोकतन्त्रलाई खलबल्याएर कसैले फेरि अधिनायकत्वतिर जाने चाहना राखेको छ भने सोचे हुन्छ, त्यो सम्भव छैन । आज लोकतन्त्रका पक्षधर बोलेका छैनन् भन्नुको अर्थ ती कमजोर भइसकेका छन् भन्ने आँक्नु आवश्यक छैन । यति हो, सबैलाई अभिव्यक्तिका निम्ति मौका दिएको मात्र हो । लोकतान्त्रिक व्यवस्थामा हो, हुनुपर्ने जति प्रगति भएको छैन । त्यसलाई लिएर लोकतन्त्रमाथि प्रहार गर्नु राम्रो होइन । अहिलेको जुन व्यवस्था छ त्यो नै उचित छ । तसर्थ मुलुकमा राजनीतिक स्थिरता कायम गर्दै अगाडि बढ्नुको अहिलेको आवश्यकता हो । त्यसतर्फ सबै राजनीतिक दलहरुले बुझ्न जरुरी छ ।