
बुटवल, पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले भ्रष्टाचारीको संरक्षण गरेको आरोप लगाएका छन् । बुधबार बुटवलमा आयोजित मगर राष्ट्रिय मुक्ति मोर्चा नेपालको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।
अहिलेको सरकार राम्रो गर्नेलाई देखि नसक्ने, आफ्ना मान्छे जतिसुकै भ्रष्टाचारी भए पनि संरक्षण गर्ने गरेको प्रचण्डले लगाए । आफ्नो पार्टी नेतृत्वको सरकारले कृषि मल आपूर्ति सहज बनाएकोमा अहिले फेरि पुरानै अवस्था देखिन थालेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले समयमै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्याउन गरेकोमा अब यसमा पनि समस्या आउन थालेको बताए । उनले अहिलेको सरकारले जनताले पाएको सुधारसँगै संविधानले दिएको अधिकार पनि खोस्न खोजिरहेको तर त्यो संभव नभएको बताए । तथाकथित संविधान संशोधनमार्फत जनताको अधिकार खोस्न खोजे पनि यो उनीहरुका लागि सपना मात्रै भएको र जनताको तागतले यसलाई रोक्ने उल्लेख गर्दै उनले लाखौं जनता एक ठाउँमा उभिने हो भने भ्रष्टराजको अन्त्य गरी समाजवादी क्रान्ति अघि बढाउन सकिने बताए । प्रचण्डले कांग्रेस र एमालेको रोग माओवादीमा पनि लागेकाले उपचारका लागि जनतामा गएको समेत बताएका छन् । ‘कांग्रेस र एमालेसँग समीकरण गर्दा उनीहरूको रोग अलिअलि हामीमा पनि स¥यो । जनयुद्धमा जस्तो जनताको एजेण्डा छोड्दै जाँदा माओवादी कमजोर भयो ।
यो रोगबाट कसरी मुक्ति पाउने भन्ने विषयमा केन्द्रीय समिति बैठकमा गम्भीर समीक्षा भयो’, उनले भने, ‘यो रोग अब कुनै जनतामा गएर मात्र सम्भव छ भन्ने निष्कर्ष निकाल्यो । त्यसपछि फेरि हामी जनतामा गयौँ । अहिले पूर्व–पश्चिम हुलाकी मार्ग केन्द्रित अभियान चलाइ राखेका छौँ ।’ प्रचण्डले बुधबार नै रुपन्देहीको ओमसतिया गाउँपालिका–६ मा रहेको रामजानकी जमुहानी कुटीको पोखरी सुन्दरीकरण कार्यक्रमको शिलान्यास समेत गरे ।
उनले हुलाकीमार्गका नागरिकहरु पूर्वाधार, शिक्षा स्वास्थ्यलगायतका क्षेत्रमा पछि परेको उल्लेख गर्दै नयाँ जागरणका लागि माओवादी केन्द्र हुलाकीमार्ग केन्द्रित अभियानमा रहेको बताए । पूर्वाधार विकास आयोजनाअन्तर्गत ८८ लाखमा जमुहानीमा रहेको रामजानकी मन्दिर तथा कुटीको पोखरी सुन्दरीकरण तथा पार्क निर्माण हुँदैछ । पार्क निर्माणपछि यस क्षेत्रको पर्यटकीय विकासमा सहयोग पुग्नेमा अध्यक्ष दाहालले विश्वास व्यक्त गरे । त्यसअवसरमा अध्यक्ष दाहालसँगै पूर्वअर्थमन्त्री वर्षमान पुन, पूर्वकृषिमन्त्री चक्रपाणि खनाललगायत माओवादीका नेताको उपस्थिति थियो ।