Shittalpati
गणतन्त्रलाई सुधार्ने की पूर्व राजाको विरोध गर्ने ?

केहि न केहि उथल पुथल भैरहने नेपालका फेरि केहि दिन अगाडि साशन व्यवस्था नै परिवर्तनको झल्को दिने गरी पूर्व राजा, सो सँग सम्बन्धित केहि राजनीतिक दल र उनका समर्थकले  सडक पदर्शन गरे । यसका समर्थकहरु यसबाट हौसिय भने यसको विरोध गर्ने विशेष गरेर गणतन्त्रवादी राजनीति दल र सरकारलाई भने सच्चिनु पर्ने सन्देश दिन सफल भएको देखिन्छ । राजनीतिक नेतृत्वको अधिकासं समय यसको चर्को आलोचनामा बित्यो तर हामीबाट कतै कार्य शैली र कार्य व्यवहारमा भएको कमजोरीका कारण राजाप्रति दिनप्रति दिन समर्थन बढ्दै गरेको कुरामा भने कतै समिक्षा गरेको देखिएन । मात्रै देखियो राजा र यिनका समर्थकको विरोध र त्रुटी खोज्ने कार्य । राजनीतिक दल र तीनका नेतृत्व बेलैमा सच्चिएन भने फेरि एक थान व्यवस्था ल्याउने आन्दोलन धेरै टाढा देखिदैन् । आम वृत्तमा भने राजा फाल्न सक्नेले ल्याउन पनि सक्दछन् त्यसैले नेपालका राजनीतिक नेतृत्व बेलैमा सच्चिएर जनताको साशन मानिने गणतन्त्रलाई सुधार र परिमार्जन गरेर अगाडि बढ्नु जरुरी रहेको देखिन्छ । गणतन्त्रलाई अलोकप्रिय र आलोचनायुक्त बनाउने पक्ष, कार्य शैली र व्यवहारमा हरेक पक्षबाट सुधार हुन जरुरी देखिन्छ । गणतान्त्रिक साशन व्यवस्थाको कमी कमजोरी हटाई जनमुखी बनाउने की राजा र यीनको समर्थकको संख्या बढाउने वा हौसाउने यीनै राजनीतिक दलको हातमा रहेको छ । यहाँ यसैसँग सम्बन्धित विविध पक्षलाई लिएर चर्चा परिचर्चा गर्ने प्रयास गरिएको छ ।

जनताको छोरो राज्य सञ्चालनको सर्वोच्च निकायमा पुग्ने सबै भन्दा उत्कृष्ट साशन व्यवस्था मानिने गणतन्त्र सञ्चालनको छोटो समयमै जनतामा यो लोक प्रिय हुन् सकेको देखिदैन् । विशेष गरेर साशन व्यवस्था सञ्चालन गर्ने राजनैतिक दलको कार्य शैली र कार्य व्यवहार यसको मुख्य कारण बन्न पुगेको देखिन्छ भने गणतन्त्रको विकल्प राजतन्त्र पनि नेपालका लागि त्यति नजिक देखिदैन् । राजा विरेन्द्र शाह र उनको परिवारको बंश नाश हुने गरी भएको हत्या काण्डपछि नेपाली जनतामा राजसंस्था प्रतिको आस्था र विश्वासमा कमी आएको कुरामा दुईमत रहँदैन् । पूर्व युवराज पारस शाहको विगत र उनले गर्ने क्रियाकलापका कारण पनि पूर्व राजा ज्ञानेन्द्र र उनका परिवार प्रति पनि आस्था र विश्वासमा कमी देखिन्छ । तर पूर्व राजाले आफ्नो अभिव्यक्ति दिदैमा, समर्थकले भेला, सम्मेलन र जुलुस निकाल्दैमा गणतन्त्रका साशन व्यवस्था हाकी रहेका राजनीतिक नेतृत्व उनको विरोध र क्रियाकलापमा रोक लगाउने सम्मका अभिव्यक्ति दिदै समय खर्च गर्नु मुर्खता हो । उनीहरु राजालाई दोष दिन हैन् गणतन्त्रमा देखिएका कमी कमजोरी हटाउन र यसलाई बलियो बनाउने कार्यमा लाग्नु पर्ने देखिन्छ । देशलाई अस्थिरता बनाउने, अस्थिरताममा रमाउने देशी विदेशी तत्वका कारण नेपालमा केहि न केहि अस्थिरताका कार्यहरु भइरहेको देखिन्छ । पूर्व राजावादी समूहले वि.स २०६२÷०६३ को जनआन्दोलनपछि राजनीतिक नेतृत्वले पाच बुँदे सहमती गरेको भन्ने कुरा पनि बाहिर ल्याएका छन् त्यसको यथार्थता के हो ? त्यस बारे पनि राजनीतिक दलहरुले प्रष्ट पार्नु पर्ने जरुरी देखिन्छ ।

गणतन्त्रमा सुधार गर्नु पर्ने पक्षहरुः

पूर्व राजा ज्ञानेन्द्र र उनका समर्थकको दिनप्रति दिन समर्थन बढ्दै गइरहेको अनुभुती गर्न सकिन्छ । यो किन बढी रहेको छ ? गणतन्त्रवादीहरुले राम्रोसँग विश्लेषण र बहस गर्नु पर्ने प्रश्न उठेको देखिन्छ । एउटा राजा फालेर गणतन्त्रवादीले संयौ राजा उत्पादन गरे भन्ने आम जनतामा आरोप लागि रहेको छ । एक तानशाहका ठाउँमा संयौ तानशाह तयार भयो, व्यक्तिवादी प्रवृत्ति र स्वेच्छाचारी व्यवहार बढ्दै गयो । राज्य हरेक पक्षबाट कमजोर हुँदै गयो । अन्तर्राष्ट्रिय जगतमा नेपाललाई हेर्ने प्रवृत्तिमा भिन्नता आयो । राष्ट्रियताका कुराहरु भाषणमा मात्रै सिमित रहयो । सत्ता र राजनीतिक स्वार्थका लागि विधि मिचाँईको श्रृखला चलिरहयो । देशको विदेश नीतिमा दल, सरकार र राजनीतिक नेतृत्व अनुसार फरक फरक हुदै गयो । बहुसंख्यक नेपालीले प्रदेश संरचना खारेजको माग गरिरहेका छन् तर राजनीतिक नेतृत्व देश आर्थिक रुपमा कमजोर होस् तर राजनीति कार्यकर्ता व्यवस्थापनका लागि तयार गरिएको यो संरचना खारेजी गर्न तयार देखिदैनन् । आवश्यक ऐन नियम तत्काल बनाउन नसक्दा भएका सरकारहरुले जनतालाई अनुभुति गर्ने गरि कार्य गर्न सकेको देखिदैन् । राजनीतिक अधिक हस्तक्षपका कारण राज्यका अंग र निकायहरुले कार्य गर्न सकेको देखिदैन् । असमानुपातिक बजेट निर्माण र विकासले तिव्रता पाएको देखिन्छ । केहि सिमित वर्ग रमाउने, अवसर लिने प्रवृत्ती बढ्दै गएको देखिन्छ । भष्ट्रचार र बेथिती मौलाउदै गएको देखिन्छ । कमसिन र आवश्यक अनुगमनको अभावमा विकास निर्माण गुणस्तरीय र समयमै बन्न सकेको देखिदैन्। वैदेशिक रोजगारी लगाएत विभिन्न वहानामा विदेशीने दर अत्याधिक बढ्दै गएको छ । 

देश, गाउँ र घरहरु युवा विहिन हुने अबस्था सिर्जना भएको छ तर यसलाई नियन्त्रण र व्यवस्थित गर्ने कुरामा सरकारहरु बेखवर जस्तै देखिन्छन् । गणतन्त्रमा पनि जनताको भावना विपरीत कार्य भइरहेकै देखिन्छ । संसदका अधिकाश समय आरोप प्रत्यारोपमै वितेको देखिन्छ । सत्ता चलखेलका लागि राजनैतिक नेतृत्वले गर्ने व्यवहारबाट जनताबाट राजनीतिक नेतृत्वले विश्वास र नैतिकता गुमाउदै गएको देखिन्छ । आर्थिक रुपमा देश कमजोर बन्दै जानु, आर्थिक बेथिती र वित्तीय अनुसाशनमा ध्यान दिन नसक्नु, राज्यको व्ययभार बढाउने कार्य मात्रै गर्नु, राजनैतिक हस्तक्षेप र राजनीतिकरणले प्रसंय पाउनु । यी केहि गणतन्त्रमा देखिएका विकृत पक्ष र जसले गणतन्त्रप्रति जनतामा विश्वास र आस्थामा कमी ल्याउदै लगेको देखिन्छ भने पूर्व राजा र देशलाई अस्थिरतामा बनाउने तत्वलाई हौसाउदै लगेको देखिन्छ ।

निष्कर्ष :

गणतन्त्रको विकल्प गणतन्त्र नै हो । राजनीतिक नेतृत्वको कार्य शैली र व्यवहारलाई लिएर सिंगो साशन व्यवस्थालाई दोष दिने र असफल बनाउने छुट कसैलाई छैन् । देश तिव्र विकास र जनताको जीवनस्तर सुधारको कल्पना गरेका आम नेपाली फेरि एक थान व्यवस्थाका लागि आन्दोलन र देशमा अस्थिरता चाहदैनन् यो कुरा गणतन्त्रका राजनीतिक नेतृत्वकर्ताले बुझन जरुरी देखिन्छ । राजाको आवाज बन्द गर्न हैन गणतन्त्रमा देखिएका कमी कमजोरीको अन्त्य गर्दै गणतन्त्रलाई वास्तविक जनताको साशन व्यवस्था बनाउन सकेमा यसको विपक्षमा देखिएका आवाज र क्रियाकलाप क्रमशः घट्दै जाने कुरामा दुईमत रहँदैन् । गणतन्त्रलाई संकाउने की सच्याउने देश सञ्चालनका नेतृतवकर्ताकै हातमा रहेकोले सम्बद्ध पक्षले बेलैमा ध्यान दिन जरुरी छ ? (लेखक अर्थशास्त्रका प्राध्यापक समेत हुन् ।) 

प्रकाशित मिति: बुधबार, फागुन २८, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update