Shittalpati
सद्भाव र प्रेमको पर्व होली मनाइँदै  , आज पहाडी र हिमाली जिल्लामा सार्वजनिक विदा

पाल्पा,  सद्भाव, प्रेम र हर्षोल्लासका साथ मनाइने फागु वा होली पर्व आज पाल्पासहित पहाडी र हिमाली जिल्लाहरुमा हर्षोल्लासका साथ मनाइँदै छ । हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन पहाडी तथा हिमाली जिल्लामा र त्यसको भोलिपल्ट तराई तथा भित्री मधेसका जिल्लाहरूमा वसन्त ऋतुका अनेक रङहरूलाई प्रतिविम्बित गर्ने पर्वका रूपमा होली पर्व हर्षोल्लासपूर्वक मनाउने गरिन्छ ।

असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र दुराचारमाथि सदाचारको विजय भएको खुसियालीमा मनाइने होली पर्वमा सम्पूर्ण रिसराग परित्याग गरी प्रेमभाव र आत्मीयताका साथ आफन्तजन एवं साथीसङ्गीहरूसँग एकापसमा अबिर तथा रङ दलेर रमाइलो गर्ने परम्परा रहेको छ ।

यो पर्वले हरेक वर्ष वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिएर आउने गर्दछ । वसन्त ऋतुको आगमनलाई स्वागत गर्न भनेर फागुन शुक्ल अष्टमीदेखि पूर्णिमासम्म होली खेल्ने परम्परा छ । होलिकै भोलिपल्टबाट ऋतुराज वसन्तको आगमन हुने विश्वास रहेको छ । विशेषगरी, तराईमा विशेष उल्लासका साथ मनाइने होली पछिल्लो समयमा पहाडमा पनि नाचगान गरेर, साथीभाइ एकआपसमा मिलेर मनाउने गरिन्छ । आज गाउँदेखि सहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढहरू हातमा रङ र रंगीन घोल पदार्थ लिएर गाउँदै, बजाउँदै, रमाइलो र होहल्ला गर्दै आपसी रिसईबीलाई बिर्सेर उत्साह र उमङ्गका साथ मनाउँदै छन् । विशेष सांस्कृतिक कार्यक्रमहरू र त्यसमाथि रङहरूको वर्षाले सहरको होली अझै रमाइलो र राम्रो देखिन्छ । होलीमा पानी छ्याप्ने, अबिर, केशरीलगायत रङ लगाउने चलन छ ।

हट्दै छ होली पर्वमा हुने विकृति

होलीमा देखिने गरेको विकृति केही वर्षयता भने हटेर सभ्य बन्दै गएको देखिएको छ । होली पर्व सुरु हुनु अगावै अरुलाई लोला हान्ने, पिच्कारीले भिजाउने, सडकमा काम विशेषले हिँड्नेलाई इच्छा विपरित रङ लगाउने जस्ता क्रियाकलाप केही वर्ष यता कम हुँदै गएको देखिन्छ भने यो वर्ष यस्ता क्रियाकलाप निकै कम देखिएको छ । केही वर्ष अघिसम्म फागुन शुक्ल अष्टमीदेखि नै लोला हान्ने प्रवृत्ति थियो । तर, विगत चार÷पाँच वर्ष यतादेखि फागु पर्वलाई अनुशासित भएर मनाउने गरिएको पाइन्छ ।

आसुरी शक्तिकी द्योतक होलिकालाई आगोले भस्म गरी सत्यवादी भक्त प्रल्हादको उद्धारको कथा, भगवान् कृष्ण र नग्न अवस्थामा गोपिनीले नुहाउँदाको प्रसंग तथा कामदेव र रतीको प्रेमकथालगायतका प्रसंग होलीसँग जोडिएको कुरा धार्मिक ग्रन्थमा उल्लेख छ । नेपाल, भारत र अन्य राष्ट्रमा हिन्दू तथा गैरहिन्दूहरूका लागि होली महत्वपूर्ण पर्व हो । होली पर्व खासगरी नेपाली तथा भारतीयहरूले प्रत्येक वर्षको फागुन शुक्ल पूर्णिमाका दिनमा मनाइने प्रमुख चाड हो ।

 हिन्दू संस्कृतिअनुसार यसको इतिहास त्रेता युगसँग जोडिएको छ । त्रेता युगमा भगवान् विष्णुका परम् भक्त प्रह्लादसँग यस चाडलाई जोडेर हेरिन्छ । हिरण्यकश्यपुका पुत्र प्रह्लादलाई आफ्नै बहिनी (प्रल्हादकी फुपू) होलिकाले आगोमा भष्म पार्न लाग्दा होलिका आफैं आगोमा भष्म भएकी थिइन् र विष्णु भक्त प्रल्हादलाई केही नभएको त्यही दिनको सम्झनामा होली पर्व मनाउन सुरु भएको मानिन्छ । वास्तवमा भन्ने हो भने होलीले मानिस अनि रंगहरूबीचको सम्बन्ध अनि रंगले पार्ने उत्साहजनक प्रभाव पार्छ भन्ने मान्यता राखिन्छ । होलीका दिन मानिसहरूले एक–अर्कामाथि विभिन्न प्रकारका रंगहरू हालेर एक–अर्कालाई रंगीन बनाउँछन् । यो चाडमा विशेष गरी थकालीहरू रङ्गी बिरङ्गी पोसाकमा सजिएर स–परिवार भेला भई तिर हान्ने प्रतियोगिता गर्छन् । होलीको अवसरमा सरकारले सार्वजनिक विदासमेत दिएको छ ।

मर्यादित भएर मनाउन अनुरोध

सरकारले मर्यादित र  सभ्य भएर होली पर्व मनाउन सबैमा अनुरोध गरेको छ । होलीको अवसरमा शान्ति सुरक्षामा असर पर्ने गरी सार्वजनिक स्थानमा होहल्ला एवं झैझगडा, मादक पदार्थको सेवन गरी पारिवारिक एवं सामाजिक जनजीवन तथा सार्वजनिक मर्यादा र शान्तिमा खलल, कसैको इच्छाविपरीत रङ एवं पानीको लोला हान्ने, पानीको फोहोरा हान्ने, जबर्जस्ती रङ दल्ने काम नगर्न र अति उत्तेजित भई भागदौड गर्दा दुर्घटनामा परी ज्यानसमेत जान सक्ने हुँदा यस्ता अमर्यादित कार्य नगर्न/नगराउन सरकारले सबैमा अनुरोध हो । आफ्नो अधिकारको उपयोग गर्दा अरूको अधिकार हनन नहुने गरी सांस्कृतिक पर्व मर्यादित, अनुशासित एवं व्यवस्थित ढङ्गले मनाउन सरकारी निकायबाट आग्रह गरिएको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन २९, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update