Shittalpati
रामपुरमा न्यायिक समितिसँग प्रहरी साझेदारी कार्यक्रम

पाल्पा,जिल्लाको रामपुरमा न्यायिक समितिसँग प्रहरी साझेदारी कार्यक्रम भएको छ । नगरपालिका न्यायिक समितिको आयोजनामा रामपुर–६ विजयपुरमा कार्यक्रम भएको हो ।

 कार्यक्रममा नगर प्रमुख रमणबहादुर थापाले नगरपालिका न्यायिक समितिका गतिविधिहरुलाई प्रभावकारी बनाउन प्रहरीसँग साझेदारी गरी अगाडि बढेको बताए । उनले न्याय सम्पादनका लागि समिति थप प्रभावकारी बन्नुपर्नेमा जोड दिए । नगर प्रमुख थापाले सभ्य र सुसंस्कृत नगर निर्माणका लागि सबै सचेत हुन आवश्यक रहेको उल्लेख गर्दै पछिल्लो समय हरेक व्यक्तिमा नकारात्मक सोँच हावि भएका कारण विवाद लगायत अपराधिक घटना बढ्दै गएको बताए । साथै जनचेतना र नैतिक ज्ञानको कमीका कारण पछिल्लो समय अपराधिक घटना घटिरहेको उनको भनाई छ ।

 यस्तै नगरपालिका भित्र हुने विभिन्न विवादले नगरवासीलाई नै असर पुर्‍याउने भन्दै विवादलाई कानुनी रुपमा छलफलको माध्यमबाट समाधान गर्न आवश्यक रहेको नगर प्रमुख थापाले बताए । उपप्रमुख तथा न्यायिक समितिका संयोजक बालकुमारी थापाले विवादले सामाजिक मेलमिलापलाई असर पार्ने बताइन् । उनले नगरपालिका भित्र भएका विभिन्न विवादलाई मेलमिलापको माध्यमबाट निरुपण गर्दै आएको बताइन् । वडा अध्यक्ष दिवाकर देवकोटाले मेलमिलाप सहितको शान्त समाज निर्माणका लागि सबै सजग हुन आवश्यक रहेको धारणा व्यक्त गरे । कार्यक्रममा ईलाका प्रहरी कार्यालय रामपुर पाल्पाका प्रहरी निरीक्षक राम बहादुर नेपालीले  विभिन्न अपराध,लागु औषध,सडक सुरक्षा,साईबर क्राईम, यसको कानुनी उपचारका विषयमा सहजीकरण  गरेका थिए ।

यस्तै न्यायिक समिति सचिवालय सचिव पार्वती परियारले  समितिको काम कर्तव्य र अधिकार लगाएतका विषयमा अभिमुखिकरण प्रदान गरेका थिए । सोही अवसरमा लोकनाथ उपाध्याय रेग्मीद्वारा लिखित काव्यसंग्रह तिर्थाटन पुस्तक लोकार्पण गरिएको थियो । साथै स्वर्गीय लोकनाथ उपाध्याय रेग्मीको स्मृतिमा स्थापित अक्षयकोषबाट शिक्षा क्षेत्रमा अतुलनीय योगदान पुर्‍याएको भन्दै राम तुलसी नमुना माविका प्रधानाध्यापक बालकृष्ण लम्साल र पत्रकारिता क्षेत्रमा अतुलनीय योगदान पुर्‍याएको भन्दै पत्रकार सीता डोटेललाई नगद सहित सम्मान गरिएको थियो । उपप्रमुख तथा न्यायिक समितिका संयोजक बालकुमारी थापाको अध्यक्षता, समिति सदस्य खेमराज अधिकारीको स्वागत, समिति सचिवालय सचिव पार्वती परियारको सञ्चालनमा कार्यक्रम भएको थियो ।

 

प्रकाशित मिति: बिहीबार, फागुन २९, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update